एक वर्षमा श्रममन्त्रीका मुख्य पाँच काम

 फागुन १, २०७५ बुधबार १३:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वर्तमान सरकार गठन भएको वर्षदिन भएको छ । यस अवधिमा सरकारले जनभावनाअनुसार काम गर्न सकेन भन्ने गुनासो बढे पनि केही क्षेत्रमा भने आशालाग्दा काम भएका छन् । अझ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको नेतृत्वमा भएका केही कामले श्रम र रोजगार क्षेत्रमा केही आशा बढाएको छ ।

देशभित्रै रोजगारीको अवस्था सृजना गरेर बाध्यात्मक वैदेशिक रोजगारीको अन्त्य गर्ने उदेश्यअनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम, योगदानमा आधारित सामाजिक सुरक्षा योजना लगायतका महत्वपूर्ण काम सुरु भैसकेको छ । यस्तै वैदेशिक रोजगारीमा जान खोज्नेका लागि पनि सरल, सहज र सुरक्षित उपायको लागि मन्त्रालयले काम गरिरहेको छ ।

यसबीचमा मलेशिया सरकारसँग श्रम समझदारी भएको छ । जापान, ओमान, मरिसस र कतार लगायतका देशहरूसँग पनि द्वीपक्षीय  श्रम समझदारीको लागि पहल भैरहेको मन्त्रालयले जनाएको छ ।

वर्ष दिनमा श्रम तथा रोजगार क्षेत्रमा भएका मुख्य काम :

प्रधानमन्त्री रोजगार कार्यक्रम :

सबैलाई रोजगार दिने र रोजगार दिन नसके निर्वाह भत्ता दिने वर्तमान सरकारको महत्वाकांक्षी लक्ष्य छ । रोजगारीको हक सम्बन्धी ऐन र नियमावली बनिसकेपछि रोजगारीको हक सुनिश्चित गर्न सरकारले बुधबार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ ।

बेरोजगारको संख्या संकलन गरी उनीहरुलाई स्थानीय स्तरमै रोजगारी दिन ७५३ वटै स्थानीय तहमा  रोजगार संयोजकको खटिंदैछन् । रोजगार संयोजक नियुक्तिको लागि प्रक्रिया सुरु भैसकेको छ ।

सबै स्थानीय तहमा बेरोजगारको सूची तयार पार्ने तथा उनीहरुका लागि सम्भावित रोजगारको क्षेत्र पहिचान गर्ने काम रोजगार संयोजकले गर्नेछन् ।

निजी, सहकारी र गैर सरकारी क्षेत्रसँग समेत समन्वय र सहकार्य गरी देशभित्रै रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गरी नेपाली कामदारहरु कामको खोजीमा विदेशिनु पर्ने वाध्यात्मक अवस्थाको क्रमशः अन्त्य हुने मन्त्रालयको दाबी छ ।

रोजगारीको हक सम्बन्धी ऐन, र नियमावलीले रोजगारीको हक सुनिश्चित गर्नको लागि न्यूनतम १०० दिन बराबरको रोजगारीको प्रत्याभूति गरेको छ । यस बमोजिमको रोजगारी दिन नसकेमा ५० दिन बराबरको ज्याला निर्वाह भत्ताको रुपमा प्रदान गर्ने व्यवस्था छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा :

सरकारले गएको मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरु गरेको छ । मंसिर ६ गतेदेखि रोजगारदाताको सूचीकरण सुरु भैसकेको छ । आफू सूचीकृत भएको तीन महिनाभित्र रोजगारदाताले आफ्ना कर्मचारी तथा श्रमिकको समेत सूचीकरण गरिसक्नु पर्नेछ । सूचीकरणपछि रोजगारदाताले कर्मचारी तथा श्रमिकको आधारभूत पारिश्रमिकको ११ प्रतिशत रकममा रोजगारदाताको २० प्रतिशत रकम थप गरी कूल ३१ प्रतिशत बराबरको योगदान रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।
                   
यस योजनामा सहभागी भएपछि कामदारले औषधी उपचार,स्वास्थ्य तथा मातृत्व सुरक्षाको सुविधा, दुर्घटना तथा अशक्तता सुरक्षाको सुविधा,  आश्रित परिवार सुरक्षाको सुविधा रवृद्धावस्था सुरक्षाको सुविधा पाउनेछन् । कामदारले पेन्सन या उपदान रोज्न पाउँछन् । 

श्रमिकको पारिश्रमिक :

श्रम ऐन, २०७४ तथा नियमावली २०७५ लाई कार्यान्वयन गर्दै  साउन १ गतेदेखि श्रमिकको न्यूनतम पारिश्रमिक लागू भएको छ । नयाँ न्यूनतम पारिश्रमिकको आधारमा दैनिक ज्याला ५१७ रुपैयाँ र प्रतिघण्टा ज्याला ७० रुपैयाँ तोकिएको छ । कायम भएको न्यूनतम पारिश्रमिकका आधारमा श्रमिकहरूको सञ्चय कोष, उपदान, सामाजिक सुरक्षा कोष तथा सामाजिक सुरक्षाको सुनिश्चितता गरिएको छ । 

योसँगै श्रमिकले पाउने चाडपर्व खर्च, बिदा वापतको भूक्तानी, सुत्केरी एवं सुत्केरी स्याहार खर्च र स्वास्थ्य एवं दुर्घटना बीमा बापतको रकम समेत बढाइएको । यसैगरी चिया क्षेत्रमा काम गर्ने कामदारको न्यूनतम पारिश्रमिक पनि निर्धारण भई कार्यान्वयन भएको छ ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली :

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाई श्रम स्वीकृति प्राप्त गर्ने प्रकृयालाई चुस्त बनाउन सूचना प्रणाली सुरु भएको छ । श्रम स्वीकृति सम्बन्धी निवेदनहरुको कार्यान्वयनको यथार्थ स्थिति समेत अनलाइन प्रणालीबाट नै थाहा पाउन मिल्ने गरी गएको असोज १५ देखि यस्तो सूचना प्रणाली सञ्चालनमा आएको हो ।

यो प्रणालीबाट वैदेशिक रोजगार विभाग¸ अध्यागमन विभाग¸ कन्सुलर सेवा विभाग¸ कुटनीतिक नियोगहरुसँगको आवद्वताले कार्य सम्पादनमा हुने दोहोरोपन हट्नुका साथै सहज र सुलभ तरिकाले भएको सूचनालाई सरोकारवाला निकाय तथा व्यक्तिहरुलाई उपलब्ध हुने गरेको श्रम मन्त्रालयले जनाएको छ । यसका साथै सूचनाको पर्याप्त उपलब्धताले सेवाको गुणस्तरमा वृद्धि भएको¸ कार्यक्षमता बढेको¸ अनुगमन प्रभावकारी भएको तथा विभिन्न नीति तथा कार्यक्रमको तर्जुमा वस्तुगत आधारमा गर्न सहयोग पुगेको मन्त्रालयको दावी छ ।

श्रम स्वीकृति लगायत सेवाको विकेन्द्रिकरण :

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा लिनु पर्ने श्रम स्वीकृतिलाई प्रदेश तहसम्म विस्तार गरेको छ । अघिल्लो बुधबार मात्र प्रदेश १ को विराटनगरबाट यो सेवा सुरु भएसँगै सातवटै प्रदेशबाट श्रम स्वीकृति दिन थालिएको छ ।

यसअघि काठमाण्डौको ताहाचलमा मात्रै रहेको यो सेवा प्रदेशस्तरमा विस्तार भएसँगै  वैदेशिक रोजगारीमा जान चाहनेहरुलाई सेवा  लिन सहज भएको छ । ताहाचलमा हुने गरेको घुईंचो पनि कम भएको छ ।

तपाईको प्रतिक्रिया