रोजगारीका लागि आवेदन दिने म्याद थप्ने तयारी

 बैशाख २, २०७६ सोमबार १६:३९:२८ | उज्यालो सहकर्मी

काठमाण्डौ – बेरोजगारले रोजगारीका लागि आवेदन दिने म्याद सकिएको छ ।  सरकारले बेरोजगार दर्ताका लागि चैत मसान्तसम्मको समय दिएको थियो ।

तर पहिलो वर्ष भएकाले समय थप्ने सरकारको तयारी छ । सरकारले निर्णय गरेर समय थप्न सक्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले बताउनुभयो । 

‘तोकिएको एक महिनाको समय सक्किएको छ, तर पहिलो वर्ष भएकाले सरकारले निर्णय गरेर समय थप्न सकिने प्रावधान पनि छ,’ उहाँले भन्नुभयो, ‘तर अहिले नै के गर्ने भन्ने निर्णय चाहिँ भैसकेको छैन ।’

चैतसम्म कतिले रोजगारीका लागि आवेदन दिए भन्ने विवरण संकलन भैसकेको छैन । चैतभरी नै सबै स्थानीय तह र वडा कार्यालयमा बेरोजगारको आवेदन दर्ता गर्ने काम भएको छ । छुटेकाहरुलाई अझै एकपटक मौका दिने सरकारको तयारी छ ।

बेरोजगार व्यक्तिले आफ्नो स्थायी बसोबास रहेको वडा कार्यालयमा गएर बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन सकिन्छ । निवेदकले आफूसँग भएको सीप, समय, कार्यक्षेत्र, क्षमता, ठाउँ खुलाएर निवेदन दिनुपर्नेछ ।

त्यसपछि स्थानीय तहमै रहेको रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गर्नेछ । स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म न्यूनतम १०० दिन रोजगारी पाउनेहरुको संख्या छुट्याउनेछ ।

अहिले सरकारले रोजगार संयोजक नियुक्त गरेर स्थानीय तहमा पठाउने काम सुरु गरिसकेको छ । 
 

तपाईको प्रतिक्रिया