मलेसियाबाट नकमाई फर्किएपछि फेरियो हरिरामको जीवन

 बैशाख २२, २०७६ आइतबार १९:०:३५ | मोहन पौडेल

काठमाण्डौ – कमाउन विदेश गएका हरिराम कार्की नकमाई फर्किनुभयो । तर कमाएर फर्किनेहरुभन्दा पनि राम्रो परिवर्तन आएको छ उहाँको जीवनमा । झट्ट सुन्दा विश्वास लाग्दैन । तर हरिरामलाई भेटेपछि यो कुरा विश्वास लाग्छ । हरिरामको फेरिएको जीवनको कुरा गर्नुअघि १० वर्ष अघिका कुरा गरौं ।

रामेछापको पाकरवासका हरिराम कार्की खेती गर्नुहुन्थ्यो । आफूलाई खानलाई खेतीले पुगेको थियो । खाएर बचेका तरकारी बजार लानुहुन्थ्यो बेच्न । पहिल्यैदेखिको यो दिनचर्या हरिरामलाई ठिक लागेन त्यो बेला । 

गाउँबाट विदेशकाहरुले कमाएर जमाएको देख्नुभयो । यही दृष्यले उहाँलाई पनि कमाउने हुटहुटी जग्यो । यही हुटहुटीले हरिराम काठमाण्डौको सुनगाभा म्यानपावर आइपुग्नुभयो । काठमाण्डौ नआउँदासम्म हरिराम विदेश गए मज्जाले कमाउन सकिन्छ भन्ने कल्पना गर्नुभएको थियो । 

तर म्यानपावरका कुरा सुनेपछि त उहाँलाई विदेश पुगेर कमाउन थालिहाले जस्तै भयो । रामहरीलाई म्यानपावरले नटबोल्ट प्याकिङ गर्ने काममा महिनाको १५ सय रिंगिट कमाइ हुने बतायो । एक हजार रिंगिट तलब अनि बाँकी ५ सय रिंगिट चाहिँ ओभरटाइम काम गरेबापतको कमाई । हरिरामका लागि म्यानपावरले दिएको विवरण मन खाने नै थियो । 

यही कुरामा सम्झौता गरेर उहाँ मलेसिया पुग्नुभयो सन् २००७ मा । ३ वर्षका लागि मलेसिया गएका रामहरी डेढ वर्ष पनि मलेसियामा टिक्न सक्नुभएन । कारण, न यहाँ भनेको काम भयो न तलब नै । नटबोल्ट प्याकिङ गर्न गएका हरिरामलाई फलाम उचाल्ने काम लगायो कम्पनीले ।

अनि न्यूनतम तलब एक हजार रिंगिट भनिएकोमा ४ सय ८१ रिंगिट मात्रै । यो कुराले हरिरामको मन मात्रै कुँडिएन, मलेसियामा बसाई नै छोटियो । त्यतिबेला उहाँलाई काम र तलब फरक पर्दा गुनासो गर्ने ठाउँ छन् भन्ने थाहा थिएन । त्यसैले कसैलाई केही नभनी घर फर्किनुभयो ।

हरिराम घर फर्किंदा जाँदा लागेको लागत उठेको थिएन । त्योसँगै विदेश गएर कमाउन नसकी फर्किंदा गाउँमा कसरी मुख देखाउने भन्ने कुराले पनि उकुसमुकुस पारेको थियो । 

‘त्यतिबेला गाउँमै काम गर्न अप्ठ्यारो लागेर विदेश गएको थिएँ नि त, अनि विदेशमा पनि कमाउन सकिनँ अनि के भन्नु भन्ने लागेको थियो’, हरिराम सुनाउनुहुन्छ । तर मलेसियाको १८ महिनाको बसाई र त्यहाँको वास्तविकताले त्यो अप्ठ्यारो मनबाट नहटाई सुखै भएन । उहाँ जे त होला भन्ने आँट लिएर गाउँ फर्किनुभयो । 

डेढ वर्षअघि जे काम गर्न अप्ठ्यारो लागेको थियो, त्यही कुराले आर्थिक अवस्था मात्रै होइन आफ्नो परिचय नै फेरिन्छ भन्ने हरिरामले त्यतिबेलासम्म कल्पना पनि गर्नुभएको थिएन । तर कामले काम सिकायो अनि मेहेनतले रंग ल्यायो । 

उहाँले पहिला खाएर बचेको मात्रै बेच्न लाने ठाउँमा तरकारी खेती सुरु गर्नुभयो । सुरु गर्दा उहाँलाई तरकारीका बारेमा खासै ज्ञान थिएन । त्यसलाई कसरी व्यवसायिक बनाउने भन्ने त जान्ने कुरै भएन । 

खेती सुरु गरेको केही समयमा जापानी सहयोग नियोग जाईकाको सहयोगले टनेल बनाउनुभयो । तरकारी फल्न थाले । मौसम अनुसार बन्दा, काउली, गोलभेंडा अनि खुर्सानी रोप्नुभयो । काठमाण्डौबाट रामेछाप जाँदा मन्थली नपुग्दै आउने हात्तिटारमा रहेको बारीबाट बेच्नलाई तरकारी मन्थली पुर्‍याउनुपर्ने भयो । 

त्यतिबेलासम्म पनि मनमा कता कता लाज बाँकी नै थियो हरिरामको । ‘त्यतिबेला आफूले लिएर गएको डोको अगाडि बेच्न अप्ठ्यारो लाग्यो अरुलाई राखेर बेचें’ हरिरामले सुनाउनुभयो । 

कहिलेकाहीँ जानुपर्ने भए लाज मानेर पनि सकिन्थ्यो होला । तर हरिरामको दैनिकी नै त्यही भयो । केही वर्षमा उहाँलाई रामेछापमा व्यवसायिक तरकारी खेती गर्ने किसान भनेर चिन्न थाले । जाईकाले नै उहाँलाई व्यवसायिक खेतीको अवलोकनका लागि जापानसम्म पुर्‍यायो । त्यसपछि त उहाँको परिचय नै फेरियो । मलेसियाबाट कमाउन नसकेर फर्किएका हरिरामजिल्लाकै नमुना किसान हुनुभयो । 

डेढ लाख लगानी, ५ लाख आम्दानी 

हरिरामले हात्तिटारमा रहेको ७ रोपनीमा अहिले व्यवसायिक तरकारी खेती गर्नुभएको छ । उहाँले खेती सुरु गर्ने साउन महिनादेखि हो ।साउनमा लगाएको तरकारी पुसदेखि बेच्न थाल्नुहुन्छ । प्रत्येक वर्ष साउनमा तरकारी लगाउँदा डेढ लाख रुपैयाँ लगानी हुन्छ उहाँको ।

अनि तीन महिनापछिबाट आम्दानी सुरु हुन्छ । अहिलेसम्म डेढ लाखभन्दा  धेरै लगानी नगरेका रामहरीको कमाइ ५ लाख रुपैयाँभन्दा तल कहिल्यै झरेको छैन ।

१० वर्षअघि कमाएर जमाउन विदेश नै जानुपर्ने रहेछ भन्ने सोचेका हरिरामले परिवारसँगै बसेर गरेको खेतीले मन्थली र खुर्कोटमा साढे तीन रोपनी जग्गा किन्नुभएको छ । विदेश नगई कमाउन सकिँदै भन्ने हरिरामले त्यहाँ गएर फर्किएर पछि नै कमाउनुभयो । तर विदेशमै बसेर होइन, विदेशबाट नकमाई फर्किएर । 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया