दुबईमा भगवानको प्रार्थना गर्दा गर्दै तीन तलाबाट खसेर एक नेपाली घाइते

 बैशाख २३, २०७६ सोमबार १२:५२:३४ | उमाकान्त पाण्डे

यूएई – गएको चैत २० गते । दुबईको डीआइपी । काठमाण्डौका विकास केसी तीन तला माथि बार्दलीमा बसेर चिया पिउँदै हुनुहुन्थ्यो ।

चिया पिएपछि गिलास छेवैमा राख्नुभयो अनि भगवान सम्झिएर प्रार्थना गर्न थाल्नुभयो । एकचित्त भएर भगवान पुकारी रहेका विकास एक्कासी तीन तलामाथिको बार्दलीबाट जमिनमा बजारिनुभयो । 

तीन तलाबाट खस्दा बेहोस् भएका विकासलाई साथीहरुले नजिकैको एनएमसी रोयल अस्पताल पु¥याए । विकासको दुवै खुट्टा र मेरुद्दण्ड भाँचिएको छ । नाकमा समेत गहिरो चोट लागेको छ । 

जबिललाली डीपी वानमा रहेको एनएमसी अस्पतालमा १ लाख ५० हजार दिर्हाम बराबरको स्वास्थ्य बीमा कार्डको सहायताले प्राथमिक उपचार भयो । दुवै खुट्टा र मेरुदण्डमा अहिले स्टील राखेर उपचार हुँदैछ । नाकमा लागेको चोट सुधार हुँदैछ ।

 उपचारमा बीमाको क्षेत्रले नसमेटिएपछि कम्पनीले पनि सम्पर्क गर्न छाडेको छ । विकास दुबईको क्युविजी कम्पनीमा भान्सेको रुपमा कार्यरत हुनुुहुन्छ । कम्पनीले वास्ता गर्न छाडेपछि अस्पतालले थप उपचारका लागि आफन्तलाई खबर गर्न दबाब दियो ।  

अस्पतालमा कार्यरत नेपाली चिकित्सकले दूतावासमा जानकारी गराउन सुझाव दिएपछि विकासले साथीको सहयोगमा नेपाली दूतावास यूएईलाई आफ्नो अवस्थाबारे जानकारी गराउनुभएको थियो । 

आफ्नो बारेमा जानकारी लिन पुग्नुभएका नेपाली दूतावासको नियोगका उपप्रमुख सागरप्रसाद फुयाँलसँग विकासले भगवानको प्रार्थना गर्दा आफू लडेको बताउनुभएको हो ।   विकासले भन्नुभयो, ‘यो बिरानो ठाउँमा मेरो कोही छैन, म बाँच्न चहान्छु,मलाई बचाइदिनुस् ।’

दूतावासले विकासको उपचारमा समन्वय गर्न श्रम काउन्सिलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकृत (पीआरओ) इर्फान आलमलाई जिम्मेवारी दिएको थियो ।

दूतावासले यहाँको स्थानीय निकायमार्फत उपचार खर्च कम्पनीले गर्नुपर्ने अडान राख्दै अनुरोध गरेपछि अहिले कम्पनीले उपचार खर्च व्यहोर्ने भएको छ । उहाँको शुक्रबारदेखि उपचार प्रकृया फेरि सुरु भएको छ ।

शुक्रबार विकासको दायाँ खुट्टाको पहिलो शल्यक्रिया भएको छ । अब देब्रे खुट्टा र मेरुदण्डको शल्यक्रिया हुन बाँकी छ । दूतावासका प्रतिनिधिले आफूलाई पूर्णरुपमा निको बनाएर मात्रै नेपाल पठाउने बाचा गरेको भन्दै विकासले खुशी व्यक्त गर्नुभयो । 


 

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Dipen

    May 8, 2019, 2:03 p.m.

    यसरी शीर्षक नै धार्मिक आस्थाको बिषय बनाएर समाचार लेख्नु कतिको ठीक होला ? शीर्षक राख्दा सबैको ख्याल राख्नुहोला /

तपाईको प्रतिक्रिया