मिजोरमबाट २३ नेपाली चेलीको उद्धार

 बैशाख २६, २०७६ बिहिबार १६:४७:२५ | रासस
unn.prixa.net

मिजाेरमकाे चम्फाई

झापा - वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३  नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट बिहीबार उद्धार गरिएको छ ।

भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताउनुभयो । म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फाईबाट ती महिलालाई उद्धार गरिएको थियो ।

केही महिनाअघि म्यानमारसँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८  नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले उद्धार गरेर ल्याइएका महिलालाई माइती नेपालमा राखेर उनीहरुलाई कसरी दलालले म्यानमाको सीमामा पुर्‍याए भनी सोधखोज भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया