‘आगामी वर्षको बजेटमा रोजगारी सिर्जना सरकारको प्राथमिकतामा’

 बैशाख २७, २०७६ शुक्रबार १४:१५:२२ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले आगामी आर्थिक वर्षको बजेट रोजगारी सिर्जना गर्नमा केन्द्रित हुने बताएको छ । 

प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले रोजगारी सिर्जनालाई सरकारले प्राथमिकता दिने बताउनुभएको हो ।

यसका लागि सरकारले स्वरोजगारलाई प्रोत्साहन दिने बताएको छ । जसका लागि सीपमूलक तालिम, सहज रुपमा कर्जा लिन सक्ने व्यवस्था र उद्यमशिलताको विकास गर्ने उहाँले बताउनुभयो । 

यस्तै सरकारले आउँदो आर्थिक वर्षको बजेटलाई श्रम गर्न योग्य सबै नागरिकलाई उत्पादनसँग जोड्दै निर्माण, उत्पादनमूलक उद्योग र सेवा लगायतका क्षेत्रमा काम र रोजगारको अवसर सिर्जना गर्नमा केन्द्रित गरिने पनि बताएको छ ।

आउँदो ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको सरकारले युवाका लागि सीप, उद्यम र रोजगारी सिर्जना गर्ने नीति लिने अर्थमन्त्री डाक्टर खतिवडाको भनाई छ ।

आगामी आर्थिक वर्षलाई युवा परिचालनको वर्षको रुपमा लिइने भन्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले महिला सशक्तिकरण कार्यक्रम मार्फत उद्यमशीलताको विकास र रोजगारीको सिर्जनामा जोड दिइने जानकारी गराउनुभयो । 

उहाँले वैदेशिक रोजगारीलाई सरकारले अझै व्यवस्थित गर्ने पनि बताउनुभयो । यस्तै सरकारले सामाजिक सुरक्षालाई पनि आगामी वर्षको बजेटमा प्राथमिकता दिने भएको छ । 

सरकारले सबै नागरिकलाई सामाजिक सुरक्षामा ल्याउने  गरी बजेट तर्जुमा गर्ने बताउनुभएको हो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी रुपमा कार्यान्वयन गरिने पनि बताउनुभयो । 

श्रम ऐनमा भएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै असल तथा उत्पादनमूलक श्रम सम्वन्ध विकास गरिने अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो । 


 

तपाईको प्रतिक्रिया