मलेसिया जान घरबाट हिँडेका श्रीमानको मृत्युको खबर आयो

 जेठ ८, २०७६ बुधबार १२:५४:५८ | सुजता सुनुवार

इलाम – गएको आइतबार धादिङको आदमघाट नजिकै बन्छेटारको घुम्तीबाट त्रिशूली नदीमा खसेको बससँगै पवित्रा मगरको सपना पनि त्रिशूली नदीमा डुब्छ भन्ने के थाहा र !

‘राम्रो काममा लागि मलेसिया जाँदैछु, राम्रोसँग घर सम्हाल्नु’ भनेका श्रीमान् कहिल्यै नफर्कने बाटो लाग्छन् भन्ने कल्पनासमेत थिएन । तर दैवको अघिल्तिर के लाग्थ्यो र ! 

मृतक शेखर मगर

काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्री बस त्रिशूली नदीमा खस्दा मलेसिया जान त्यही बसमा चढेका पवित्राका श्रीमान् शेखर मगर पनि खस्नुभयो । घटनास्थलमा नै पाँच जनाको ज्यान गयो । 

घटनास्थलमै ज्यान गुमाउनेको सूचीमा पहिलो नम्बरमा नाम थियो, पवित्राका श्रीमान् शेखरको । मलेसिया हिँडेका इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर १ लप्सिबोटेका शेखरको जीवन यात्रा त्यहीँ नै टुङ्गियो ।

झापाबाट गाडी चढ्नुअघि शेखरसँग पवित्राको फोनमा कुरा भएको थियो । फोनमा शेखरले भन्नुभएको थियो, ‘मेरो ४ः३० बजे गाडीको टिकट छ, यस वर्ष राम्रो कामका लागि विदेश जाँदैछु, म घरखर्चका लागि पैसा पठाइहाल्छु, बरु कृषि विकास बैंकमा खाता खोल्नु ।’

‘घर राम्रोसँग हेर्नु, बालबच्चाको ख्याल गर्नु भन्नुभएको थियो, म त काठमाण्डौ पुगेर फोन गर्नुहोला भन्ने सोचिरहेको थिएँ, एकैपटक बस दुर्घटना भएको खबर पो आयो,’ पवित्राले आँसु पुछ्दै भन्नुभयो । 

श्रीमान् चढेको बस त्रिशूलीमा खस्यो भन्ने खबर उहाँले आइतबार बिहान ९ बजेतिर सुन्नुभयो । आफन्तलाई शेखरको बारेमा बुझ्न लगाउनुभयो । सबैले ‘घाइते भएको र उपचार भइरहेको’ खबर दिए ।

कुन अस्पतालमा उपचार भइरहेको होला ? के के भएको होला ? पवित्राको मनमा आँधी चलिरहेको थियो । आफन्तले भने वीर अस्पतालमा उपचार हुँदैछ । उहाँ शुभ खबर सुन्न आतुर हुनुहुन्थ्यो ।

तर भोलिपल्ट उज्यालो नहुँदै उहाँको आशाको त्यान्द्रो चुँडियो । श्रीमानलाई जीवितै भेट्ने आश पालेर भगवान पुर्कार्दै बसेकी पवित्राले सोमबार बिहान उज्यालो नहुँदै घटनास्थलमै मृत्यु भएको खबर सुन्नुभयो । 

शेखरको यो मलेसियाको दोस्रो पटकको यात्रा थियो । २०६७ सालमा पहिलो पटक शेखर मलेसिया जानु भएको थियो । त्यसपछि साउदी पनि जानुभएको थियो ।  

जेठ  ९ गतेको थियो, उहाँको मलेसियाको उडान ।  सेक्युरिटीको काममा मलेसिया जान लाग्नुभएका ३८ वर्षीय शेखर र परिवारको सपना त्रिशूली नदीमै डुब्यो । 

बिरामी भतिज लिन गएका विशाल कहिल्यै नफर्कने भए

शेखरसँगै यात्रामा रहनु भएका इलाम कन्यामका अर्का एक युवाको पनि त्यही दुर्घटनामा ज्यान गयो । यसअघि हेटौंडामा भएको अर्को दुर्घटनामा घाइते भएका भतिजलाई भेट्न र सँगै लिएर आउन काठमाण्डौ हिँडेका विशाल गिरी (कुमार)ले भतिजलाई भेट्न पाउनुभएन । दुर्घटनामा घाइते भएका भतिजलाई भेट्न जाँदा दुर्घटनामै परेर विशालको ज्यान गयो ।

मृतक विशाल गिरी

गएको शनिबार काठमाण्डौबाट जनकपुरको लागि छुटेको ना ७ ख ९३६ नम्बरको बस र इलामको पशुपतिनगरबाट काठमाण्डौको लागि छुटेको  ना ७ ख २०५७ नम्बरको बस हेटौंडामा एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । त्यही परी वैदेशिक रोजगारीका लागि हिँडेका सरोज गिरी घाइते हुनु भएको थियो । 

दुर्घटनामा परी घाइते भएका भतिज सरोजलाई लिन गएका सूर्योदय नगरपालिका ७ कन्याम पाल्टागेका ३६ वर्षका विशालको मृत्युले गिरीको परिवार विक्षिप्त अवस्थामा छ । विशाल मलेसियाबाट दुई महिनाको छुट्टिमा आउनु भएको थियो । 

 

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया