अस्तित्वमै नभएका ‘एजेण्ट’ बाट ठगी : कामदारदेखि म्यानपावरसम्म ‘एजेण्ट’ कै भरमा

 जेठ ९, २०७६ बिहिबार १३:५७:३१ | मोहन पौडेल

काठमाण्डौ – वैशाख २६ गते बिहीबार । काठमाण्डौको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभाग पुग्दा समस्यामा परेकाहरुको लर्को थियो । वैदेशिक रोजगारी क्रममा समस्या वा ठगीमा पर्नेहरु न्यायका लागि पुग्ने ठाउँ भएकाले विभागमा पीडितहरुको घुईंचो सधैंजसो हुने गर्छ । 

बिहीबार पनि विभागको कार्यालयमा यस्तै पीडितहरु भेटिए । एक जना व्यक्ति कहिले विभागको दोस्रो तलामा पुग्नुहुन्थ्यो अनि उतिबेलै यो ‘मैले दिएको निवेदन त हरायो रे’ भन्दै विभागसँगै रहेको मानवअधिकारका लागि जनमञ्च पिपुल फोरमको कार्यालयतिर दौडिनुहुन्थ्यो ।

दौडधुप गरिरहेका व्यक्ति हुनुहुन्थ्यो, सर्लाहीका जोगिलाल पासवान । उहाँ कतारमा अलपत्र परेका छोरा रुपेश हजारा दुसाधको उद्दारका लागि विभागको कार्यालय आइपुग्नुभएको हो । उहाँका छोरालाई कतार पुर्‍याएर अलपत्र पारेका हुन् ‘एजेण्ट’ले । 

छिमेकी पनि एजेण्ट, अनि उनका साथी तीभन्दा पनि ठूला एजेण्ट । त्यसैले जोगिलालले छिमेकी एजेण्टलाई ‘साइड एजेण्ट’को नाम दिनुभएको छ । उनले नै रुपेशलाई एजेण्टराजलाल महतोसम्म पुर्‍याइदिएका थिए । रुपेशलाई राजलालले कार सफा गर्ने काम भने, अनि १ लाख ७५ हजार रुपैयाँ लिए ।

राजलालले रुपेशलाई कतार त पुर्‍याए । तर रुपेशले त्यहाँ पुगेपछि काम पाउनुभएन । अहिले उहाँ कतारमै अलपत्र पर्नुभएको छ । पठाउने राजलाल चाहिँ अहिले बेपत्ता छन् । 

एजेण्ट सम्पर्कबिहीन भएपछि जोगिलाल छोरालाई उडाउने काठमाण्डौमा रहेको म्यानपावरमा आइपुग्नुभयो । तर म्यानपावरले उहाँका कुरा सुन्दै सुनेन ।‘अब एजेण्ट सम्पर्कमा छैन । त्यही भएर विभागमा उजुरी दिन आएको’ जोगिलालले भन्नुभयो ।

उहाँका समस्या सुन्दा सुन्दै अरु चार जना युवा पनि विभागकै ढोकामा भेटिए । यी युवालाई पनि एजेण्टले नै ठगे, त्यो पनि आफू नै म्यानपावरको सञ्चालक हुँ भनेर । विदेश पठाइदिन्छु भनेर लिएको पैसा एजेण्टले फिर्ता नगरेपछि विभाग आइपुगेका युवा उजुरी दिने भन्दै पैसा फिर्ता गर्न फोनबाटै दबाब दिँदै थिए । 

‘तपाईंले पठाइदिनुहुन्छ भने आजै अहिले नै पठाइदिनु नत्र भने भरे भोलि भनेर हुँदैन । अहिले नपठाउने भए हामी अहिले विभागमै छौं, अब हामी उजुरी लेखेर दिन्छौं ।’ चार जनामध्ये गुल्मीका चन्द्रमणी खुलेल र लोकनाथ पाण्डे पालैपालो एजेण्टलाई दबाब दिँदै हुनुहुन्थ्यो । 

चन्द्रमणी र लोकनाथ मात्रै होइन, अरु १० जनालाई पनि पोखराका रासबहादुर गुरुङले आफू म्यानपावरको सञ्चालक भएको भन्दै विदेश पठाइदिने आवश्वासन दिए । चन्द्रमणी र उहाँका साथीहरुले रासबहादुर म्यानपावरका सञ्चालक हुन कि होइनन् भन्ने सोधीखोजी गर्नुभएन । विदेश जानलाई एक जनाले ४० हजार रुपैयाँका दरले पैसा बुझाउनुभयो । 

तर पैसा दिएको एक वर्ष भइसक्दा पनि रासबहादुरले उहाँहरुलाई विदेश पठाएनन् । लिएको पैसा फिर्ता गर्न पनि आनाकानी गरिरहेका छन् । अहिले उहाँहरुसँग न आफ्नो पैसा छ, न त पासपोर्ट नै । आफ्नो पैसा र पासपोर्ट खोज्दै उहाँहरु रासबहादुरले पासपोर्ट बुझाएको काठमाण्डौको म्यानपावरमा पनि पुग्नुभयो । तर म्यानपावरले ठाडै उत्तर दियो ‘एजेण्टको कुरा उसैसँग गर्नु, यहाँ होइन ।’

केही उपाय नलागेपछि विभाग आइपुगेका युवाहरुएजेण्टसँगआक्रोशित देखिन्थे । सँगै आफूहरुले सुरुमै किन राम्ररी बुझिएन छ भन्नेमा चिन्ता पनि उत्तिकै थियो ।
सर्लाहीका रुपेश हजारा दुसाध अनि गुल्मी चन्द्रमणी खुलेल र लोकनाथ पाण्डे मात्रै होइन, वैदेशिक रोजगारीमा नाममा एजेण्टबाट ठगिनेको सङ्ख्या धेरै छ । यसअघि म्यानपावरले आफ्नो एजेण्ट राख्न पाउँथे ।

त्यसका लागि एजेण्टले विभागबाट इजाजत लिनुपथ्र्यो । विभागबाट इजाजत लिएका एजेण्टभन्दा दलालले ठग्ने क्रम बढेपछि सरकारले अहिले एजेण्ट नै खारेज गरेको छ । तर वैदेशिक रोजगारीमा जान खोज्नेहरुले भने एजेण्टबाट ठगिने क्रम रोकिएको छैन । मानवअधिकारका लागि जनमञ्च पिपुल फोरममा गएको वर्ष परेका ११ सय एक वटा निवेदनमध्ये ४ सय ४० वटा निवेदन एजेण्टबाट ठगिएको भन्दै परेका छन् ।

यसरी निवेदन दिनेहरुमध्ये धेरै म्यानपावर आउनुभन्दा अघि नै कम्तीमा पनि दुई जना एजेण्टबाट ठगिन्छन् भन्नुहुन्छ पिपुल फोरममा आबद्ध अधिवक्ता राजेश भण्डारी । जोगिलालकै उदाहरण दिँदै उहाँले वैदेशिक रोजगारीमा जाने व्यक्ति घरबाट म्यानपावरसम्म आइपुग्दा नै दुईदेखि तीन तहका एजेण्टबाट ठगिने गरेको बताउनुभयो । 

‘एजेण्टसँग नगई आफैं म्यानपावरमा जानेहरु एकदमै थोरै हुन्छन्’ भण्डारी भन्नुहुन्छ, ‘कि छिमेकी कि नजिकको आफन्त त्यो पनि भएन भने चिनेको मान्छेसँग त सम्पर्क भएकै हुन्छ ।’पीडितका कुरा र सहयोग गर्ने संस्थाको तथ्याङ्क हेर्दा वैदेशिक रोजगारीमा जाने व्यक्ति अहिले पनि एजेण्टबाटै ठगिइरहेको पुष्टि हुन्छ । 

म्यानपावरले अहिले पनि एजेण्टमार्फत नै कामदार ल्याउँछन् 

सरकारले एजेण्ट हटाइसकेको छ । तर अहिले पनि वैदेशिक रोजगार व्यवासायीहरुले एजेण्टमार्फत नै कामदार ल्याइरहेका छन् । सरकारले गैरकानुनी भनिसकेका एजेण्टमार्फत नै कामदार ल्याउनुमा आफूहरुभन्दा सरकार जिम्मेवार भएको म्यानपावर व्यवसायीको तर्क छ ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल आफूहरुले एजेण्ट हटाएर शाखा कार्यालय खोल्न दिन माग गरे पनि सरकारले शाखा कार्यालय खोल्न नदिँदा एजेण्टबाट हुने ठगी नरोकिएको दावी गर्नुहुन्छ । 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया