प्रधानमन्त्री रोजगार कार्यक्रम : एकल महिलादेखि विदेशबाट फर्केकासम्मलाई रोजगारी

 असार २४, २०७६ मंगलबार १६:४४:१४ | रासस

पाल्पा – पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ । दश पालिका रहेको पाल्पामा  सबैभन्दा बढी रैनादेवी छहरा गाउँपालिकाका ३२० महिला तथा पुरुषले रोजगार पाएका छन् । 

तानसेन नगरपालिका र रामपुर नगरपालिकासँगै अन्य आठ गाउँपालिकामा रोजगारी सिर्जना गरिएको छ । विदेश गएर फर्केका, एकल महिला तथा अन्य नागरिकले पनि रोजगारी पाएका छन् । 

दिनभरि खाली बस्दै आउनु परेको र  पैसा हातमा नभएका बेला सरकारले एक महीनाका लागि भए पनि जागिरको व्यवस्था मिलाइ दिएकामा खुशी लागेको तानसेनका यमकुमारी राना बताउनुुहन्छ ।

रामपुर नगरपालिकामा ७०, तानसेन नगरपालिकामा १८५, बगनासकाली गाउँपालिकामा ७२,  र रम्भा गाउँपालिकामा १२९ महिला तथा विदेशबाट फर्केका युवालाई प्राथमिकता दिएर रोजगार दिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । 

भ्रवनोट उकालो ओरालो डाँडा तथा समथर भूभाग रहेको रम्भामा बाटोको पहिरो हटाउने मोड काट्नेलगायत मर्मतका काम गरेको उहाँको भनाइ छ । 

यस्तै रिब्दीकोटमा ११०, पूर्वखोलामा १७५ तिनाउमा २५०, निस्दीमा ९८, माथागढीमा १७२ र रैनादेवी छहरा गाउँपालिकामा ३२० बेरोजगारले रोजगार पाएका छन् ।

बेरोजगार बसेका युवा रोजगार  हुने र पाखा खाली जग्गामा टिमुर लगाउने योजना रहेको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण जिसी बताउनुहुन्छ । 

पाल्पाकै तिनाउ गाउँपालिकाको वडा नम्बर १ मा दालचिनी र अम्रिसोको बिरुवा  रोपण तथा अन्य वडामा वर्षातको समयमा बाटो हिलो चिप्लो नहोस् भन्ने उद्देश्यले मोटरबाटोको छेउछाउमा नाली खन्ने काम दिलाइएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले जानकारी दिनुभयो ।
 

तपाईको प्रतिक्रिया