यूएईमा ६९ जना नेपाली समस्यामा, भएन समस्याको सुनुवाइ

 भदौ १२, २०७६ बिहिबार १५:४:५ | उमाकान्त पाण्डे

यूएई – कामका लागि यूएई आएका ६९ जना नेपाली समस्यामा परेका छन् । एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् (एलएलसी) मा कार्यरत ६९ जना कम्पनीको लापरबाहीका कारण समस्यामा परेका हुन् ।

दुई वर्षको करार सम्झौता सकिएको दुई महिना बित्दा पनि कम्पनीले घर नपठाएको र अहिले भिसाको अवधि पनि सकिएकाले अवैधानिक भएर बस्नुपरेको समस्यामा परेका कामदारको भनाइ छ ।

दार्चुलाका कृष्णसिंह कोटारीले करार सम्झौता सकिएपछि पनि कम्पनीले घर फर्किन आनाकानी गरेको बताउनुभयो । भिसा नवीकरण नगरेको र तीन महिनादेखि काममा पनि नलगाएको कामदारको गुनासो छ । यो कम्पनीमा ५ वर्षदेखि नेपाली कामदारले काम गरिरहेका छन् ।

नेपाल फर्काउन आग्रह गर्दै पटकपटक कम्पनीको कार्यालय धाउँदा कुनै चासो नदिएको धनगढीका केशव साउदले बताउनुभयो । साउद ४ वर्षेदेखि यो कम्पनीमा कार्यरत हुनुहुन्छ ।

‘हामी सबैजना घर फर्कन चाहन्छौं,’ साउदले भन्नुभयो, ‘कम्पनीलाई दबाब दिएपछि १५ जनालाई भने घर पठाएको छ, तर बाँकीलाई विभिन्न बहना बनाएर म्याद सार्दै आएको छ ।’ समस्यामा परेको भन्दै सबै ७३ जनाले गएको असारमा आवुधावीमा रहेको नेपाली दूतावासमा निवेदन दिएका थिए ।

तर १५ जनालाई मात्र नेपाल पठाएको र बाँकी कामदारलाई अझै नेपाल फर्काउने कुनै प्रक्रिया अघि नबढाएको पीडितको भनाइ छ । पटकपटक दूतावास धाउँदा पनि समस्याको सुनुवाई नभएको दार्चुलाका कृष्णसिंह कोटारीले गुनासो गर्नुभयो ।

‘हामीले दुई महिना अघि दूतावासमा निवेदन दिएका थियौं, त्यसपछि फोन गरेर बुझ्न खोज्दा कुनै जानकारी पाएनौं, दूतावासका मान्छेले फोन समेत उठाउँदैनन्,’ कोटारीले भन्नुभयो ।

फोन गर्न र दूतावाससम्म जाने पैसासमेत नभएको कामदारको भनाइ छ । ‘दूतावासमा फोन गर्न साथीभाइसँग मागेर पैसा जुटाउनपर्छ, हामीलाई दूतावासले केही गर्छ भन्ने आशा थियो, तर दुई महिना भयो समस्या समाधान भएको छैन, अब त आशै मर्‍यो,’ समस्यामा परेका डिल्लीप्रसाद बजगाईँले गुनासो गर्नुभयो ।

पीडित कामदारको निवेदन पछि दूतावासले चासो दिएर सम्बन्धित कम्पनीसँग आफ्ना कामदारको समस्या तत्काल समाधान गर्न आग्रह गरेको दूतावासका श्रम सहचारी मोतीराम भुषालले बताउनुभयो ।

कामदारले पाउने सेवा सुविधासहित भिसा रद्द गरेर प्रकृया अघि बढेको र कम्पनीले साउन १४ गते पत्र पठाएर सक्दो छिट्टो समस्या समाधान गर्ने प्रतिबद्धता पत्र पठाएको भुषालले जानकारी दिनुभयो ।

कम्पनीले दूतावासमा पठाएको पत्रमा अब ६९ जनालाई नेपाल फर्काउन बाँकी रहेको उल्लेख गरेको छ । तर समस्या कहिलेसम्म समाधान गर्ने भन्नेबारे मिति भने उल्लेख नगरेको दूतावासले जनाएको छ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया