‘सीप भएपछि नेपालमै काम पाएँ, किन जानु विदेश ?

 भदौ ३१, २०७६ मंगलबार ११:१५:२५ | बेदानन्द जाेशी

काठमाण्डौ – ‘विदेश जाँदा सीप सिकेर मात्रै जाउँ ।’ वैदेशिक रोजगारीमा जाने युवाहरुलाई काम गर्न सजिलो होस् भनेर सरकारले गरेको यो जनचेतनामूलक विज्ञापन हो ।

नेपालबाटै सीप सिकेर जाँदा विदेशमा काम गर्न सजिलो हुन्छ । काम नजानेर हुने दुःख भोग्नु पर्दैन । त्यही भएर सरकारले वैदेशिक रोजगारीमा जाने सबै युवालाई सीप सिकेरै विदेश जान प्रोत्साहन गरिरहेको छ ।

रेडियो, टिभी, पत्रपत्रिकामा ‘विदेश जाँदा सीप सिकेर मात्रै जाउँ’ भन्ने विज्ञापन बज्छ, छापिन्छ । वैदेशिक रोजगारीमा जान लागेका युवाहरु सीप सिकेर जान चाहन्छन् । तर लक्ष्मीपुर अर्नामा गाउँपालिका, सर्लाहीका उमेश मण्डललाई भने यो कुरा चित्त बुझ्दैन ।

‘आफूमा सीप भएपछि विदेश किन जानु पर्यो र ?’ उहाँ भन्नुहुन्छ, ‘सीप सिकिसकेपछि त गाउँघरमै काम पाइहालिन्छ नि ।’ उहाँ पनि वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएर स्वदेश फर्किनुभएको हो ।

सुरुमा वैदेशिक रोजगारीमा जाँदा कुनै सीप नजानेका उमेश त्यहाँबाट सिकेको सीपले अहिले स्वदेशमै काम पाउनु भएको छ । विदेशमा कमाउनेजति आफ्नै गाउँमा कमाउन पाउँदा उहाँ निकै खुशी देखिनुहुन्छ ।

बाध्यताले विदेश उमेशको परिवारको अवस्था निकै कमजोर थियो । बुवाको सानैमा दुर्घटनामा परेर ज्यान गयो । घर खर्च चलाउन धौ धौ हुने पारिवारिक अवस्था थियो । पाँचजना बस्नको लागि खुल्ला घर थिएन ।

चाहेर पनि दश कक्षाभन्दा बढी पढ्न पाउनुभएन । घरमा आम्दानीको बाटो केही नभएपछि उमेशले काम खोज्न थाल्नुभयो । तर राम्रो पढाइ र हातमा कुनै सीप नभएका कारण सजिलो काम पाउनुभएन ।

मजदुरी गर्न थाल्नुभयो । दिनभरी मजदुरी गरेर ल्याएको पैसाले घर खर्च चलाउन केही सजिलो भयो । तर त्यो कमाइले परिवारको आर्थिक समस्या भने पार लागेन । आफ्ना अरु साथीहरुजस्तै विदेश गए त केही कमाइ हुन्थ्यो कि भन्ने लाग्यो ।

तर विदेश जानको लागि उमेशसँग त्यति धेरै पैसा थिएन । यतिकैमा उमेश गाउँका काका नाता पर्ने एजेण्ट विन्देश्वर मण्डलसँगको सम्पर्कमा पुग्नुभयो । गरिब भएको सहानुभूति देखाउँदै ती एजेण्टले उमेशलाई ५० हजार रुपैयाँमा मलेसिया पठाइदिने आश्वासन दिलाए ।

एजेण्टको हातमा ५० हजार रुपैयाँ थमाएर सन् २०१२ मा उमेश मलेसिया पुग्नुभयो । उमेश अहिले पनि एजेण्ट विन्देश्वर मण्डललाई सम्झिनुहुन्छ, ‘त्यतिबेला सबै एक लाख तिरेर जान्थे, मलाई उहाँले सस्तैमा विदेश पठाउनुभयो ।’

विदेशमा सिकेको सीपले विदेश फर्किनु परेन त्यो बेला सीप सिकेर विदेश जानुपर्छ भन्ने अहिलेको जस्तो जनचेतना थिएन । सरकारी तवरबाट पनि खासै प्रयास थिएन । त्यही भएर उमेश पनि कुनै सीप नजानेरै काम गर्न मलेसिया पुग्नुभयो ।

त्यहाँ पुगेर उहाँले खाने तेल बन्ने फ्याक्ट्रीमा काम गर्न थाल्नुभयो । मेसिन चलाउनेदेखि सामान लोड अनलोड गर्ने सबै काम गर्नुपथ्र्यो । तर त्यहाँ काम गर्न थालेको दुई वर्षपछि उहाँले स्क्याभेटर सिक्ने मौका पाउनुभयो ।

‘इमान्दार र मेहनती भएका कारण सुपरभाइजरले मलाई माया गर्नुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘सुपरभाइजरले नै मलाई स्क्याभेटर सिकाउनुभएको हो ।’ तेलको कम्पनीमा स्क्याभेटरले पिनाका ठूलाठूला डल्लाहरु यताउती गर्ने, फुटाउने काम गथ्र्यो ।

उमेशले पछि त्यहीँ स्क्याभेटर चलाउने काम गर्न थाल्नु भयो । सुरुमा जाँदाखेरि उमेशको मासिक तलब १४ सय ५० मलेसियन रिंगिट थियो । स्क्याभेटर चलाउन जानेपछि २५ सय रिंगिट पुग्यो । मलेसियाको रोजगारीले उमेशको पारिवारिक समस्यामा निक्कैै राहत मिल्यो ।

पाँच वर्षको बसाइमा २० लाख रुपैयाँ जति कमाइयो होला भन्नुहुन्छ उमेश । घरको आर्थिक अवस्थाले वर्ष दिनकी छोरीलाई छाडेर उमेश मलेसिया जानुभएको थियो । २० वर्षको उमेरमा मलेसिया जानुभएका उमेशले पाँच वर्षसम्म उतै काम गर्नुभयो ।

पाँचवर्षको बसाइ सकाएर तीन वर्ष पहिले मात्र उहाँ घर फर्किनुभयो । यहाँ आएर ५ कोठाको घर बनाउनु भयो । बहिनीको बिहे गर्नुभयो । बिहेमा दाइजोको सबै बन्दोबस्त आफैंले गर्नुभयो । मलेसियाबाट आएपछि केही समय त उमेशलाई नेपालमै बसेर केही हुन्न भन्ने मानसिकताले पच्छ्याइरह्यो ।

त्यही भएर उहाँ मलेसिया फर्किन खोज्नुभयो । म्यानपावरलाई पासपोर्ट पनि बुझाउनु भयो । तर एकाएक उहाँको मनमा विदेश नजाने सोच पलायो । आफूलाई स्क्याभेटर चलाउन आउँछ, यतै काम पाइहालिन्छ नि भनेर काम खोज्न थाल्नुभयो । काम मिल्यो ।

स्क्याभेटर ड्राइभर नभएकाले काम पाउन सजिलो भयो उमेशलाई । ‘सीप सिकेको त फाइदा हुँदो रहेछ’, उहाँ हाँस्दै भन्नुहुन्छ, ‘पहिले त आफूसँग कुनै सीप थिएन र विदेश गएँ, अब त सीप सिकेको छु, नेपालमै काम गर्छु नि ।’

अहिले उमेश गाउँमै स्क्याभेटर चलाउने काम गर्नुहुन्छ । मलेसियामा सिकेको सीपको प्रयोग गरेर आफ्नै काम पाउँदा निकै खुसी हुनुहुन्छ उहाँ । अब विदेश नजाने भन्दै उहाँ भन्नुहुन्छ, ‘यता नि स्क्याभेटर चलाउने काम पाइराखेको छु, ४० हजार जति यतै कमाउँछु, अब विदेश किन जाने ?’

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया