नेपाली सुरक्षा गार्डको मृत्युमा दुबईका विद्यार्थीले लेखे : तपाईँलाई धेरैले सम्झिनेछन्

 असोज २९, २०७६ बुधबार १५:५२:५२ | उज्यालो सहकर्मी

काठमाण्डाै - सोमबार बिहान यूएईको दुबईमा यूनिभर्सल अमेरिकन स्कुलका सुरक्षा गार्डलाई हुइँकिएर आएको कारले ठक्कर दियो । दुर्घटनामा परेर गार्डको ज्यान गयो । ती सेक्युरिटी गार्ड थिए, बुटवलका लिलबहादुर परियार । 

त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेका लिलबहादुर वैदेशिक रोजगारीमा यूएई पुगे । सन् २०१३ बाट यूनिभर्सल अमेरिकन स्कुलमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका उनी स्कुलभरि सबैका प्रिय थिए ।

‘मैले लिलबहादुरलाई २०१३ देखि नै सुरक्षा गार्डको काममा राखेको थिएँ, उनी हाम्रो परिवारको हिस्साझैँ थिए’, विद्यालयका म्यानेजर एकेले गल्फ न्यूजसँग भनेका छन्, ‘ उनी सहयोगी र मित्रवत् थिए, विद्यार्थीहरुले उनलाई निक्कै माया गर्थे, हरेक शनिबार अभिभावक र विद्यार्थीसँग भलिबल खेल्थे ।’

उनले विद्यार्थीहरुको निक्कै ख्याल राख्ने र सबैसँग मिजासिलो भएर बोल्ने गरेको बताउँछन् म्यानेजर एके । 

यस्तै लिलबहादुर अभिभावकमाझ पनि प्रिय थिए । आरएच नाम गरेका एक अभिभावकले भनेका छन्, ‘लिल पुरै स्कुलभरि सबैभन्दा बढी मुस्कुराइरहने र खुसी देखिने सेक्युरिटी गार्ड थिए । उनी अभिभावकहरुलाई पाहुनाझैँ सत्कार गर्थे ।’

लिलबहादुरको मृत्युले स्कुले केटाकेटीहरु पनि विक्षिप्त भएका छन् । उनलाई श्रद्धाञ्जली दिनको लागि विद्यार्थीले सेतोपाटीमा भावुक लेख लेखेर गेटमा राखेका छन् । त्यो बोर्डमाथि फूलका गुच्छा चढाएका छन् । बोर्डको मुनि मैनबत्ती बालेका छन् । 

बोर्डमा लेखिएको छ, ‘प्रत्येक बिहान जब हामी स्कुल आउँथ्यौँ, तपाई‌ंँ मुस्कुराएर हामीलाई अभिवादन गर्नुहुन्थ्यो । प्रत्येक साँझ जब हामी विद्यालयबाट निस्किन्थ्यौँ, तपाईँ हात हल्लाएर हामीलाई बिदाई गर्नुहुन्थ्यो । हामीले नदेखे पनि तपाईंँले हामीलाई सुरक्षा गरिरहनुहुन्थ्यो । तपाईंँको स्वर्गमा बास होस् । तपाईंँलाई धेरैले याद गर्नेछन् । तपाईंँले हामीलाई गरेको कामको लागि धेरै धेरै धन्यवाद ।’

जेएच नाम गरेका एजना पूर्व विद्यार्थी लिलबहादुरलाई असल मान्छे भएको बताउँछन् । उनी भन्छन्, ‘लिलबहादुरको मृत्युकाे खबरले हामीहरु दुःखी छौँ, हामीहरु पैसा उठाएर उनको परिवारलाई सहयोग गर्नेछौँ ।’

यस्तै विद्यालय परिवारले पनि लिलबहादुरको परिवारलाई सहयोग गर्न चाहनेहरुको लागि भनेर अभिभावक र विद्यार्थीहरुलाई पत्र पठाएको छ । 

पत्रमा लखिएको छ, ‘हामी सबैले हाम्रो प्रिय सेक्युरिटी गार्डलाई गुमाएको पीडा भोगिरहेका छौँ । हामीलाई धेरैले लिलबहादुरको परिवारलाई कसरी सहयोग गर्ने भनेर सोधेका छन् । हामी उनको परिवारलाई सहयोग गर्नको लागि व्यवस्था गर्दै छौँ ।’

3 Comments

  • Suman shrestha

    Oct. 25, 2019, 2:28 a.m.

    Need to supoort his family. I m greatful about good reaction from student and university. We all securtiy guard must be honest on our duty.then we will get good news for our futures

  • Shree Ram Deuja

    Oct. 17, 2019, 2:49 p.m.

    May his departed soul rest in peacefully in heaven

  • Rai kanxa

    Oct. 16, 2019, 4:18 p.m.

    सबैको प्यारो , भगवान्को पनि प्यारो। स्वार्गमा बाँस होस्😭😭😭😭

तपाईको प्रतिक्रिया