चन्दननाथ नगरपालिकाले सुरु गर्‍याे 'मेयर रोजगार कार्यक्रम'

 असोज २९, २०७६ बुधबार २०:४०:२० | नेत्र शाही

जुम्ला – बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यका साथ जुम्लाकाे चन्दननाथ नगरपालिकाले 'मेयर रोजगार कार्यक्रम' सञ्चालन गरेको छ । चन्दननाथ नगरपालिकाभित्र रहेका १० जना युवालाई रोजगारी दिने योजनासहित मेयर रोजगार कार्यक्रम सुरु गरिएको हो । 

युवाहरुलाई तालिम दिएर स्वरोजगार गर्ने नीतिअनुसार नगरपालिकाले एककार्यक्रम गरी मंगलबार मेयर रोजगार कार्यक्रमको उद्घाटन गरेकाे हाे । नगरपालिकाका मेयर कान्तिका सेजुवालले कार्यक्रमकाे उद्घाटन गर्नुभएको हाे । 

नगरपालिकाभित्रका १० जना युवाहरुलाई ६ महिने मोटरसाइकल मर्मत तालिम दिएर पछि ग्यारेज स्थापना गर्न लगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको मेयर सेजुवालले बताउनुभयो । ‘बढ्दो सवारी साधनलाई मध्यनजर गर्दै युवाहरुलाई मोटरसाइकल मर्मतको तालिम दिएर स्वरोजगार बनाउने नगरपालिकाले लक्ष्य लिएको छ’, उहाँले भन्नुभयो, ‘तालिम लिएका १० जना युवालाई नगरपालिकाले ग्यारेज स्थापना गर्न आवश्यक उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिनेछ ।’

बजारको मागलाई हेरेर १० लाखको रोजगार कार्यक्रम ल्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम देवकोटाले बताउनुभयो ।

‘जुम्ला बजारमा मोटरसाइकल मर्मत व्यवसायमा प्राय सबै बाह्य देश तथा जिल्लाका मानिसहरु संलग्न छन्’, उहाँले भन्नुभयो, ‘युवाहरु रोजगारीका लागि भौँतारिएका छन्, उनीहरुलाई सीप सिकाएमा केही गर्न सक्ने भएकाले मेयर रोजगार कार्यक्रम ल्याइएको हो ।’ 

युवाहरुलाई स्वारोजगार बन्न र जीवनयापन गर्न कार्यक्रम फलदायी हुने नगरपालिकाको दाबी छ । 

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • योगेश निरौला

    Oct. 17, 2019, 11:34 a.m.

    राम्रो शुरुवात । सहभागीहरूमा महिला/ किशोरीहरू पनि पर्नुभएको होला। सफलताको कामना ।

तपाईको प्रतिक्रिया