डीभीको लागि पासपोर्ट बनाउनेको घुईंचो, राहदानी विभागमा दैनिक २८ सय आवेदन

 कात्तिक ७, २०७६ बिहिबार १७:५०:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ –  धनुषाका मुकेशकुमार ठाकुर पासपोर्ट बनाउनको लागि काठमाण्डौ आएको दुई दिन भयो । जिल्लामा पासपोर्ट बनाउन ढिलो हुने भएपछि उहाँ छिटोको लागि काठमाण्डौ आउनुभएको हो ।

तर काठमाण्डौमा उहाँजस्तै पासपोर्ट बनाउन आउनेहरु धेरै भएपछि आवेदन बुझाउनको लागि पालो पाउनै मुश्किल परेको छ । उहाँ राहदानी विभाग अघिल्तिरको लामो लाइनमा कतिबेला घडी हेर्दै त, कतिबेला पसिना पुछ्दै् हुनुहुन्थ्याे ।

यो वर्ष अमेरिकाको डीभी भर्न पासपोर्ट अनिवार्य चाहिने भएपछि मुकेशकुमार पासपोर्ट बनाएर डीभी भर्न काठमाण्डौ आउनुभएको हो ।

‘मैले त पोहोर परार पनि डीभी भरेको हो, पहिले सजिलो थियो’, उहाँले भन्नुभयो, ‘यो वर्ष पासपोर्ट अनिवार्य गरेको रहेछ, मसँग थिएन, त्यही भएर बनाउन आएको ।’

उहाँलाई डीभी पर्छ नै भन्ने विश्वास त छैन । तर पर्छ कि भन्ने आशा पनि छ । त्यसैले उहाँको मन मानेन । ‘पर्छ नै भन्ने त छैन, तर परिहाले त ‘लाइफ सेट’ भइहाल्यो नि’ उहाँले हाँस्दै भन्नुभयो ।

डीभी भर्नकै लागि पासपोर्ट बनाउन लाइनमा उभिनेहरुको घुईंचोमा लमजुङका देपेन्द्र सापकोटा पनि हुनुहुन्छ । बिहान ११ बजेदेखि लाइनमा बसेका देपेन्द्र तीन बज्दा पनि पालो नआएपछि उदास मुद्रामा देखिनुहुन्थ्यो । 

‘खाजा, पानी केही पनि खाएको छैन, लाइन छाडेर गयो भने पछि परिन्छ’, उहाँले भन्नुभयो, ‘डीभी पर्छ, पर्दैन के थाहा र, तर पासपोर्ट बनाउन दुःख हुनेरहेछ ।’

‘भन्न त सिंहदरबार गाउँगाउँमा पुग्यो भन्छन्, तर पासपोर्ट बनाउन पनि हामीले काठमाण्डौ धाउनु परेको छ’, उहाँले थप्नुभयो, ‘यहाँबाट १० दिनमा बन्छ भने जिल्लाबाट किन मिल्दैन ?’

यहाँ आउन र होटलमा बस्न अलग्गै खर्च लाग्छ । जिल्लामै १० दिनमा पासपोर्ट बन्ने व्यवस्था भए काठमाण्डौ धाउने समय र खर्च जोगिन्थ्यो भन्नुहुन्छ उहाँ । 
दिपेन्द्र र मुकेशकुमार जस्तै बाहिर जिल्लाबाट पासपोर्ट बनाउन विभाग पुग्नेहरुको संख्या डीभी खुलेसँगै ह्वात्तै बढेको छ ।

जिल्लामा पाँच हजार रुपैयाँमै पासपोर्ट बनाउन सकिन्छ । तर जिल्लाबाट पासपोर्ट बनाउन कम्तिमा महिना दिन लाग्छ । राहदानी विभागमा १० हजार रुपैयाँ तिरेपछि १० दिनमै पासपोर्ट बनाउन सकिन्छ । त्यसैले छिटो पासपोर्ट बनाएर छिटै डीभी भर्नको लागि काठमाण्डौ आउनेको संख्या बढेको हो ।

राहदानी विभागका अनुसार दशैँपछि बुधबारसम्ममा ७ हजार ८ सय जनाले राहदानी विभागबाटै पासपोर्टको लागि आवेदन दिएका छन् । 

यसमध्ये ७० प्रतिशत डीभी भर्नकै लागि भनेर पासपोर्ट बनाउन आउनेहरु भएको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले बताउनुभयो । 

‘अहिले पोसपोर्ट बनाउन आउनेमध्ये ७० देखि ८० प्रतिशत जति डीभी भर्नकै लागि भनेर पासपोर्ट बनाउन आउनेहरु छन्’, उहाँले भन्नुभयो, ‘सामान्यतया प्रतिदिन ७ सय जनालाई सेवा दिन्थ्यौं भने डीभीको आवेदन खुलेदेखि दैनिक २८ सय जतिलाई सेवा दिइरहेका छौँ ।’

यही कात्तिक १९ गतेसम्म डीभी भर्ने म्याद ताेकिएकाे छ । विभागका अनुसार १५ हजार रुपैयाँ तिरेर एकै दिनमा पासपाेर्ट झिक्न सकिन्छ । पासपाेर्ट बनाउन आउनेमध्ये एक तिहाइ जतिले १५ हजार रुपैयाँ तिरेर एकै दिनमा पासपाेर्ट बनाउने गरेकाे अर्यालले बताउनुभयो । 

तपाईको प्रतिक्रिया