‘सयपत्रीको मन रुन्छ, मखमलीको आँसु चुहिन्छ भनेर ५ वर्षपछि घर आएँ’

 कात्तिक ९, २०७६ शनिबार १३:१६:१३ | सुजता सुनुवार
unn.prixa.net

बुद्धिमान श्रेष्ठ बहिनी सीतासँग

इलाम - आज काग तिहार । तिहारको रमझमले घर बजार मात्र उज्यालो छैन । बुद्धिमानको घर परिवारमा पनि चाडबाडको रौनकले उज्यालो भएको छ ।

‘ज्यान पो परदेशी भयो ! मन, संस्कार, सस्कृति र रहनसहन कहाँ परदेशको बनाउन सकिन्छ र ? चाडबाड मनाउन नपाउँदा मनमा रानी काँडो बिझेको जस्तै संग्रहित केही आत्मिक दुखेसो पोख्न मन लागेको छ नेपालसँग’, इलाम नगरपालिका–५, बरबोटेका बुद्धिमान श्रेष्ठले भन्नुभयो, ‘आफ्नै मातृभूमिमा स्वरोजगार बन्न पाएको भए किन परदेशिनु र ? नेपालमा नै बसिन्थ्यो । नेपालमा नै पसिना बगाइन्थ्यो र चाडबाडलाई गर्वका साथ धित् मरुञ्जेल परिवारसँगै बसेर मनाइन्थ्यो । के गर्नु नेपालीलाई परदेशिनु रहर होइन बाध्यता बनेको छ ! यही बाध्यतामा म पनि परेको छु ।’

श्रेष्ठ दशैं तिहार मनाउनकै लागि २०७६ असोज १९ गते नेपाल आउनु भएको हो । आर्थिक समस्याका कारण वैदेशिक रोजगारका सिलसिलामा उहाँ वि.सं. २०७१ सालमा मलेसिया पुग्नु भएको हो ।

गएका पाँच वर्ष भाइटीकाका दिन बहिनीसँग फोनमा कुराकानी गरेरै चित्त बुझाएका श्रेष्ठलाई आफूजस्तै परदेशिएका दाजुभाइको प्रतीक्षामा फूलले पनि पर्खिरहेका होलान् भने जस्तै लाग्थ्यो । ‘पाँच वर्षपछि पनि म नेपाल नआए सयपत्रीको मन रुन्छ, मखमलीको आँसु चुहिन्छ । त्यसैले मैले नेपाल छुट्टी मिलाएरै जानु पर्छ भनेर म नेपाल आएँ । खुशीले म मख्ख छु’, यसाे भन्दै गर्दा श्रेष्ठको मुहारमा खुशी छल्कियो ।

श्रेष्ठ मलेसियाको जोहारबारुमा एसकेपी कम्पनीमा काम गर्नुहुन्छ । उहाँले प्लाष्टिक र पार्लरमा प्रयोग हुने सामान प्याकिङ्गको काम गर्नुपर्छ । सुरुको वर्ष महिनामा २७ हजार कमाइ भयो । अहिले भने दिनको ११ घण्टा खट्दा महिनाको ४० हजार कमाइ हुन्छ । नेपालमा पनि कमाइ नहुने होइन । तर सदाबहार कमाइ गर्न भने सकिँदैन । यही समस्याका कारण श्रेष्ठ तिहार सकिएलगत्तै कात्तिक १६ गते मलेसिया नै जाँदै हुनुहुन्छ ।

यो साल जस्तै आउँदो वर्षमा पनि दशैं तिहारमा भने छुट्टी मिलाएर आउने मन छ उहाँलाई । विगतको रहर पूरा नभए पनि आगामी रहर भने पक्कै पूरा हुन्छ भन्ने विश्वास छ बुद्धिमानलाई । ‘चाडवाडको उमंगसहितको जीवनको स्वाद विदेश छँदा लिन पाइन्न । नेपाल आएको छु । अब आफ्नै माटोमा टेकेर यसको स्वाद लिने मन छ’, श्रेष्ठले भन्नुभयो ।

‘अब त हरेक वर्ष दाइको छुट्टी मिल्छ रे’

परिवारमा एक छोरा, एक छोरी । भएको एउटा माइती पनि परदेशमा । बहिनी सीता श्रेष्ठलाई अरु दिन त्यस्तो पीडा नहुने तर भाइटीकाका दिन भने हरेक वर्ष नरमाइलो लाग्ने । उहाँ भन्नुहुन्छ, ‘काकाबडाका छोराछोरी कुर्दाकुर्दै टीकाको साइत कटिसकेको हुन्थ्यो । गएका पाँच वर्षमा एक वर्ष कुराकानी हुन सकेन, ती साल सम्झँदा अहिले पनि मन भक्कानिएर आउँछ ।’

फेरि एक छिन देशमा बेरोजगारी समस्या रहेको बुझ्दै उहाँ आफैलाई सम्हाल्नुहुन्छ, ‘परदेशिनु रहर होइन नि ! बाध्यता हो । गएका वर्ष जस्तो हुन्न अब त ! हरेक वर्षको दशैं तिहारमा दाइको छुट्टी मिल्छ रे ।’

चेलीलाई परदेशीको चिनो

यस वर्ष छुट्टी मिल्छ भन्ने थाहा थियो । घरमा कसलाई के लगिदिने ? बुद्धिमानले तीन महिना अगाडिदेखि नै तयारी सुरु गरिसक्नु भएको थियो । बुद्धिमान भन्नु हुन्छ, ‘मेरो एउटा चेली । बहुत माया लाग्ने । ज्यान टाढा भएको भए पनि नजिकै भएको आभाष गराउनु थियो ।

यसैका लागि सामसुङ्गको जे ८ मोबाइल चेलीलाई  परदेशबाट चिनो ल्याइदिएँ ।’ बहिनी सीता पनि दाइले दिएको कोसेली पाएर मख्खै, ‘दाइले दिएको चिनो पाएर एकदम खुशी छु, २०७३ सालबाट म पनि स्वाबलम्बी भएको छु, भाइटीकाका दिन दाइलाई सुहाउने चिनो दिने मन छ ।’ 

आँगनमा पाइला राख्नुअघि नै आखामा आसुँ

टिकट काट्नसाथ अहिल्यै घर पुगौँ जस्तो लागेको थियो बुद्धिमानलाई । पाँच वर्ष अगाडि र पछाडिको घरबीच तुलना गर्न मन थियो । उहाँ भन्नुहुन्छ, ‘घरको आँगन टेक्नासाथ खुशीले थाहै नपाइ रोएछु । मसँगै बुवाआमा र बहिनी रोइरहनु भएको रहेछ ।’ 

स्वदेशमै राेजगार पाए आफूजस्ता हजाराैँ नेपालीले सुखदु:ख घरपरिवारसँगै सधैँ चाडबाड मनाउन पाइने भन्दै बुद्धिमान यसतर्फ सरकारले साेच्नु पर्ने बताउनुहुन्छ ।

सुजता सुनुवार

सुजता सुनुवार इलामका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया