सबै निजी विद्यालय सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्याब्सनको प्रतिवद्धता

 कात्तिक २४, २०७६ आइतबार १६:४७:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन) अन्तर्गतका सबै विद्यालय र कार्यरत शिक्षक तथा कर्मचारीले सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने प्रतिबद्धता जनाएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग आइतबार भएको  छलफलमा एन–प्याब्सनका पदाधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सामाजिक सुरक्षा कोष ऐच्छिक नभएर अनिवार्य विषय भएको भन्दै मन्त्री विष्टले सरकारले थप गरेको समयभित्र सबै विद्यालय र शिक्षक कर्मचारी सूचीकृत भइसक्न निर्देशन दिनुभयो ।

मन्त्री विष्टले शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको भन्दै निजी विद्यालयका समस्या समाधानका लागि सरकार सदैव तयार भएको पनि बताउनुभयो । 

छलफलमा एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा सहितकोे पदाधिकारी टोलीले सबै विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

‘यो समग्र श्रमिकको हितमा आएको राष्ट्रिय अभियानलाई पूर्ण समर्थन र सहयोग गर्छौं’, उहाँले भन्नुभयो, ‘प्याब्सनमा आवद्ध कतिपय विद्यालयहरु कोषमा सूचीकृत भैसकेको र बाँकी पनि अब हुनेछन् ।’

छलफलमा मन्त्री विष्टले विभिन्न क्षेत्रबाट आएका गुनासालाई सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउँदै लैजाने प्रष्ट पार्नुभयो ।

सरकारले कोषमा सूचीकृत हुन मंसिर १३ गतेसम्मको समय थप गरेको छ ।
 

तपाईको प्रतिक्रिया