भोजपुरका प्रेम आठ महिनादेखि कुवेतको अस्पतालमा, उपचारमा सहयोग गर्न अनुरोध

 मंसिर ३, २०७६ मंगलबार १३:५०:५८ | राजकुमार बडुवाल

कुवेत – कुवेत पुगेको तीन महिनामै भोजपुरका एक नेपालीको अस्पतालको बास भएको छ ।

उच्च रक्तचापका प्यारालाइसिस हुँदा भोजपुर नगरपालिका १ हेलौछा, शिवखामका प्रेमसिंह राई कुवेत पुगेको तीन महिनादेखि नै आदन अस्पतालको बास भएको छ । गएको वर्ष माघमा कुवेत पुगेका प्रेम काम गर्दागर्दै ढलेपछि अस्पताल लगिएको थियो ।

एसटीएफए कन्स्ट्रक्सन ग्रुपमा कार्यरत प्रेमको टाउकोमा रगत जमेको कारण पहिलोपटक टाउकोको हड्डी झिकेर पेटमा राखिएको थियो । कुवेतमा रहेको नेपाली दूतावास र कम्पनीबीचमा समन्वय नहुँदा दोस्रो अपरेशन भने ढिलो भएको प्रेमको गुनासो छ ।

प्रेम आठ महिनादेखि आदन अस्पतालमा उपचाररत हुनुहुन्छ । पटक पटकको प्रयासपछि दूतावासका प्रतिनिधिले प्रेमको बारेमा जानकारी लिएर अस्पतालसँग समन्वय गरेपछि मात्रै दोस्रो अपरेशन भएको भोजपुर सेवा समाज कुवेतका अध्यक्ष कोशराज राईले बताउनुभयो ।

अहिले प्रेमलाई अस्पतालबाट डिस्चार्ज गरी नेपाल पठाउने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

नेपालमा उपचारका लागि आर्थिक सहयोग संकलन

अहिले प्रेमको उपचार खर्च कम्पनीले व्यहोरेको छ ।

तर नेपाल ल्याएर उपचार गर्न भने परिवारलाई समस्या छ । प्यारालाइसिस भएका प्रेमको नेपालमा उपचारका लागि भोजपुर सेवा समाज कुवेतले आर्थिक सहयोग अभियान चलाएर रकम संकलन गरेको छ ।

सोमबारसम्ममा ७२८ कुवेती दिनार अर्थात झण्डै २ लाख ७५ हजार रुपैयाँ आर्थिक सहयोग संकलन भएको र यो रकम हस्तान्तरण पनि गरिसकेको समाजले जनाएको छ ।

प्रेमलाई कुवेतमा रहेका नेपाली समाज र व्यक्तिगत रुपमा पनि सहयोग प्राप्त भएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले नेपालमा उपचार गर्न समस्या पर्ने भन्दै प्रेमले आफूलाई सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

भोजपुर सेवा समाज अध्यक्ष राईले अहिलेसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै देश विदेशमा हुने सबैलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया