त्यसपछि श्रीमान् विदेशमा भएपनि काम गर्न थालेँ (भिडियो)

 भदौ १०, २०७५ आइतबार १५:५२:५२ | मोहन पौडेल

शोभा विश्वकर्मा/नवलपरासी । 

मैले सबैले सानो भन्ने अनि सुरु गर्नै अप्ठ्यारो मान्ने काम गरेर कसरी घर खर्च जुटाउन सकिने रहेछ भन्ने कुरा गएको मंसिरदेखि सिक्न थालेको हुँ । विदेश गएका मान्छेको परिवारलाई दिइने वित्तीय साक्षरता कक्षामा यो कुरा सिकेकी हुँ ।

मेरो पनि श्रीमान् विदेशमा हुनुहुन्छ । उहाँले पैसा पनि पठाउनुहुन्छ । ३/४ महिनामा पैसा आउँथ्यो । तर त्यसको भरमा बस्नु हुने रहेनछ भन्ने थाहा पाएँ । कक्षामा धेरै कुरा हुने रहेछन् । विदेश जानु अघि नै के के कुरा ख्याल गर्नुपर्ने रहेछ, त्यहाँ पुगेपछि कसरी सुरक्षित भएर काम गर्ने भन्ने पनि बुझाइँदो रहेछ । त्यो भन्दा पनि विदेश गएका व्यक्ति परिवारलाई नभई नहुने कुरा सिकाइने रहेछ यो कक्षामा । 

 

अरु कुरासँगै आर्थिक कुरा चाहिँ सबैका लागि चाहिने थियो । मलाई पनि त्यो नै उपयोगी भयो । मेरो श्रीमान विदेश जानुभएको छ । अहिले पनि उहाँ विदेशमै हुनुहुन्छ । तर श्रीमान् विदेशमा भएपनि केही अघिसम्म पैसा नभएर साह्रै फिटिफिटी हुन्थ्यो । 

एकपटक त्यस्तै भयो । छोरा बिरामी थियो । उपचार गर्नलाई पैसा भएन । छिमेकीसँग माग्दा पनि नपाएपछि माइततिरबाट काम चलाएँ । त्यसपछि चाहिँ श्रीमान् वा आफन्त विदेशमा भएपनि घरमा हुनेले पनि काम गर्नुपर्ने रहेछ भन्ने बुझें ।

कक्षामा पनि विदेश गएका मान्छेका परिवारले के के गरेर आम्दानी गर्न सक्छन भन्ने कुरा सिकाउनुभएको थियो । त्यही कुरा सम्झिएर मैले लाज, अप्ठ्यारो केही नमानी चटपट बेच्न थालें । अहिले त्यतिबेलाको जस्तो अभाव छैन । 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया