वैदेशिक रोजगारीका सबै सूचना अनलाइनमा भएपछि कसलाई के फाइदा ?

 भदौ २६, २०७५ मंगलबार ६:५५:५१ | उज्यालो सहकर्मी

काठमाडौं - सरकारले सोमबारदेखि वैदेशिक रोजगारीका सबै सूचना अनलाइनमा राख्ने कामको औपचारिक सुरुवात गरेको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याइएको हो। 

सूचना र सेवालाई प्रविधिमैत्री बनाउने तथा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली सुरु गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । 

यसले वैदेशिक रोजगारीमा जाने कामदार, वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय सबै पक्षलाई फाइदा पुग्ने सरकारको विश्वास छ । अनलाइन प्रणालीमार्फत कामदारलाई सेवा लिन तथा आफ्नो विवरण हेर्न सजिलो हुनेछ ।


यस्तो सूचना वैदेशिक रोजगारीका क्षेत्रमा सेवा प्रवाह छरितो हुने तथा गलत सूचनाका आधारमा हुनसक्ने ठगीलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । 

अनलाइन सेवासँगै वैदेशिक रोजगारीबाट फर्कनेहरुको तथ्याँक संकलनको काम पनि सुरु भएको छ । एकीकृत प्रणालीले वैदेशिक रोजगारसँग सम्बन्धित कामको अनुगमन सजिलो हुने मन्त्रालयले जनाएको छ  ।

 

अनलाइन प्रणालीमा अध्यागमन विभाग, राहदानी विभाग, कन्सुलर सेवा विभाग, कूटनीतिक नियोग, वैदेशिक रोजागार विभाग, वैदेशिक रोजगार व्यवसायी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनी, सीप तथा तालीम प्रदायक संस्था, गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण उपलब्ध गराइएको छ ।


म्यानपावर एजेन्सी, अभिमुखीकरण तालीम प्रदायक संस्था, स्वास्थ्य परीक्षण गर्ने संस्था, बैंक, बिमा कम्पनीले वैदेशिक रोजगार सूचना प्रणालीमार्फत अनलाइन सेवा लिन तथा दिन सक्नेछन् । 

यस प्रणालीमा रोजगारीमा गएका कामदारको तस्बिर र बायोमेट्रिक सहितको विस्तृत विवरण समेत रहनेछ । वैदेशिक रोजगारसम्बन्धी गुनासा र उजुरी पनि अनलाइन प्रणालीमार्फत गर्न सकिन्छ ।

अनलाइन प्रणाली कार्यान्वयनमा आएसँगै सम्पूर्ण इजाजत प्राप्त म्यानपावर, अभिमुखीकरण तालीम प्रदान गर्ने संस्थासहित सरोकारवालाको अनुगमन कार्यमा पनि सहजीकरण हुने सरकारको विश्वास छ । 

गन्तव्य देशबाट आउने कामदारको मागपत्र अनलाइन प्रणालीमार्फत सम्बन्धित देशका दूतावास तथा नियोगले प्रमाणीकरण गरेपछि मात्र म्यानपावर व्यवसायीले कामदार लैजान पाउने छन् । यसले म्यानपावरबाट हुने ठगी रोक्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


अनलाइनबाटै श्रम स्वीकृतिको फारम भर्न, पेश गर्न र श्रम स्वीकृतिका प्रक्रिया कहाँ पुग्यो भनेर थाहा पाउन सकिन्छ । 

यस्तै वैदेशिक रोजगारीका क्रममा कामदार अलपत्र परेमा उद्धार प्रक्रिया थाल्न सरकारलाई सहयोग हुने छ । श्रम स्वीकृति प्राप्त कामदार विदेश गए/नगएको पनि अनलाइन प्रणालीबाट थाहा पाउन सकिने छ । 

सोमबारदेखि औपचारिक सुरु भए पनि अनलाइन प्रणाली असोज १६ देखि मात्र पूर्ण रुपमा सञ्चालन हुनेछ ।
 

3 Comments

तपाईको प्रतिक्रिया