मलेसियामा विषाक्त रक्सीका कारण बिरामी भएका चारजना डिस्चार्ज, १२ को अस्पतालमा उपचार हुँदै

 असोज ३, २०७५ बुधबार १७:१७:० | उज्यालो सहकर्मी

मलेसिया – मलेसियामा विषाक्त रक्सीका कारण बिरामी भएका १६ जना नेपालीमध्ये ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । १२ जनाको मलेसियाका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

संखुवासभाको सिद्धकालीका लुंगनाथ मथर, बर्दियाको मैनापोखरीका प्रविन थारु, सुनसरीको महेन्द्रनगरका दुर्गाबहादुर राई र रोल्पाको राङ्सीका  भागीमान डाँगी उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । १२ जना नेपाली कामदारको मलेसियाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुलीका जितबहादुर माझीको कजाङग, बाराका राधेश्याम बैठा, रुपन्देहीका रामचन्द्र लोध, गोरखाका लोकबहादुर बराम, नवलपरासीका दुर्गा सिंह राना, पाँचथरका सेतेवीर तुम्बाप्पो, मोरङका जम्वीरलाल झाँगड, ठेगाना नखुलेका सुकुवल घिसिङ, राजेश कुमार र विमल कार्कीको सुंगाइबुलो अस्पतालमा उपचार भइरहेको छ । 

त्यसैगरी सर्लाहीका रिखामान स्याङतानको क्लाङ अस्पतालमा र ठेगाना नखुलेका सरु मगरको  बान्टिङ अस्पतालमा उपचार भइरहेको छ ।   

६ जनाको ज्यान गयो 

विषक्त रक्सी पिउँदा ६ जना नेपालीले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमा धादिङ बसेरीका मिमबहादुर घले, रुपन्देही मसिनाका रामकुमार यादव, डढेलधुरा अमरगढीका विशाल बुढाथोकी, सुनसरी पश्चिम कुसाहाका सञ्जय उराव, इलाम सिद्धिथुम्काका बलबहादुर कुलुङ र सर्लाहीका आइते घले रहेको मलेसियास्थिति नेपाली दूतावासले जनाएको छ ।

कडा रक्सी भएको स्वास्थ्य मन्त्रालयको दावी

मलेसियामा विषाक्त रक्सीका कारण बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको मलेसियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।

मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेका थिए । त्यसपछि उनीहरु विरामी परेका थिए । 

मृत्तकको शव नेपाल पठाउने तयारी 


मलेसियामा विषाक्त रक्सीका कारण ज्यान गुमाउने नेपालीको शव नेपाल पठाउने तयारी भइरहेको छ । पोष्टमार्टम तथा अन्य अनुसन्धान प्रक्रिया सकिएपछि सम्बन्धित रोजगादाताको सहयोगमा शव नेपाल पठाउन आवश्यक पहल भइरहेको नेपाली दूतावास मलेसियाले जनाएको छ । 

सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

नजिकिंदै गरेको दसैँ, तिहार र छठ पर्वमा यस्ता घटना दोहोरिने सम्भावना भएकाले सतर्कता अपनाउन दूतावासले आग्रह गरेको छ । विषाक्त रक्सीका कारण ज्यान गुमाउने ६ नेपालीका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाली दूतावासले मलेसियामा रहेका सबै नेपालीलाई विशेष सावधानी अपनाउन भनेको छ ।

दूतावासका अनुसार मलेसियामा विषाक्त रक्सीका कारण बेलाबेला केहीको ज्यान जाने गरे पनि यति धेरै नेपालीको ज्यान गएको र बिरामी परेको यो पहिलो घटना हो । 

यस्ता घटना नहोस् भनेर दूतावासले विभिन्न सचेतनामूलक सन्देशसहित सतर्कता अपनाउन अनुरोध गरे पनि बेलाबेला रक्सीका कारण नेपाली कामदारको ज्यान जाने गरेको जनाएको छ ।

दूतावासले मलेसियाको हावापानी, वातावरण र संस्कृति नेपालको भन्दा फरक भएकाले आफ्नो स्वास्थ्य तथा सुरक्षामा थप सतर्कता तथा अपनाउन अपील गरेको छ ।

विषाक्त रक्सी बेचेको आशंकामा ७ जना पक्राउ

कामदारलाई विषाक्त रक्सी बेचेको आशंकामा सात जना पक्राउ परेका छन् । त्यस्तै १०३० बोतल ह्विस्की, १७६७ वटा क्यान वियर पनि जफत गरिएको सेलाङगोर प्रहरीले जनाएको छ ।

मलेसियाको कलाङग भ्यालीमा रहेको विभिन्न स्टोरहरुमा बुधबार छापा मारिएको थियो ।  पक्राउ परेकाहरु रक्सी पसल सञ्चालक र कामदार छन् । 


 

तपाईको प्रतिक्रिया