मलेसियामा मृत्यु हुने नेपालीको सङ्ख्या ९ पुग्यो, अनुसन्धान नसकी शव ल्याउन नमिल्ने

 असोज ७, २०७५ आइतबार १६:५३:५० | सन्जिता देवकोटा

काठमाडौं – मलेसियामा विषाक्त रक्सी खाँदा मृत्यु हुने नेपालीको संख्या ९ जना पुगेको छ । यसअघि ७ जनाको ज्यान गएकोमा थप दुई जनाको उपचारका क्रममा ज्यान गएको हो ।

 सर्लाहीका शेरबहादुर ठकुरी र ठेगाना नखुलेका शुकुबल घिसिङको ज्यान गएको मलेसियाका लागि कार्यबहाक नेपाली राजदूत कुमारराज खरेलले उज्यालोलाई जानकारी दिनुभयो । 

विषाक्त रक्सीका कारण प्रभावित भएका २४ जना नेपाली मध्येमा ९ जनाको ज्यान गइसकेको छ भने ६ जना उपचार गराएर फर्किएका छन् । मलेसियाका विभिन्न अस्पतालमा उपचार गराइरहेका ९ जना मध्ये तीन जनाको अवस्था गम्भीर रहेको कार्यबहाक राजदूत खरेलले बताउनुभयो । 

मलेसियाको स्थानीय समयअनुसार दिउँसोको दुई बजेसम्ममा मृत्यु हुनेको संख्या ३६ पुगेको स्थानीय सञ्चारमाध्यामले उल्लेख गरेका छन् । सेलेङगरमा २४, क्वालालाम्पुरमा ९, पेरकमा ३ जनाको ज्यान गएको हो । 

तीन जनाको शव अब नेपाल ल्याउन सकिने

मृत्यु हुने मध्येमा तीन जनाको शव नेपाल ल्याउन सकिने नेपाली दूतावास मलेसियाले जनाएको छ । अनुसन्धान सकिएकाले सर्लाहीका आइतसिंह गोले लगायत तीन जनाको शव नेपाल पठाउन सकिने मलेसियन प्रहरीले जानकारी दिएको कार्यबहाक राजदूत खरेलले बताउनुभयो । 

तर शव नेपाल पठाउनका लागि आफन्तबाट मन्जुरी पत्र आउनु पर्ने उहाँले जानकारी दिनुभयो । ज्यान गुमाउने कसैका परिवारले पनि शव झिकाउन अहिलेसम्म मन्जुरी पत्र दिएका छैनन् । 

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डमा पनि अलिहेसम्म मृतकका परिवारले शव झिकाउन अनुरोध नगरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

रक्सीका कारण मृत्यु भएकाले प्रहरी अनुसन्धान नसक्किएसम्म र प्रहरीले अनुमति नदिएसम्म शव नेपाल झिकाउन मिल्दैन । 

रक्सी बेचेको आरोपमा १० जना पक्राउ

प्रहरीले विषाक्त रक्सी बेचेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । एक हजार २१ बोतल रक्सी र १६ सय ९५ वटा क्यान बियर पनि जफत गरिएको प्रहरीले जनाएको छ । 
स्थानीय सञ्चारमाध्यमका अनुुसार सेलेङगर प्रहरीले घटनापछि १३ ठाउँमा छापा मारेर झण्डै ३ हजार बोतल रक्सीको नमुना संकलन गरिएको छ । 

ग्राण्ड रोयल, म्यान्डले र जोकर ह्वीस्की तथा किंगफिसर र भोल्कानो बियरका कारण ज्यान गएको  मलेसियन प्रहरीले बताएको छ । मलेसियाको स्वास्थ्य विभागले मृतकले खाएको रक्सीको गुणस्तर परीक्षण गरिरहेको छ । 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया