मलाई दसैं कहिले आउला ?

 असोज २०, २०७५ शनिबार १३:८:२४ | मेरो कथा मेरो भोगाई

सुरेश राई/खोटाङ, हाल युएई

म रोजगारका लागि विदेश आएको १० वर्ष पुग्यो । सुरुमा साउदी अरबमा झण्डै साढे तीन वर्ष बिताएँ । युएई छिरेको पनि ६ वर्ष पुग्यो । परदेशमा हुनेहरुलाई परिवारको याद कति आउँछ त्यो शब्दमा भन्नै सकिन्न । त्यसमा पनि चाडबाडको बेलाको त के कुरा गर्नु र । 

साउदी जाँदाको पहिलो वर्ष दसैंमा म डाको छोडेर रोएको थिएँ । अरुले देख्छन भनेर घरको छतमा गएर रुँदा आफूलाई सम्हाल्न गाह्रो भएको थियो । साउदीको नियम कडा छ । त्यसैले युएईको जसरी नेपालीहरुले त्यहाँ दसैं मनाउन पाउँदैनन् । 

हुन त विदेशमा बस्नेहरुलाई मासु खाने त्यति धेरै मन पनि लाग्दैन । किनकी प्राय मासु खाइरहेका हुन्छौं । तर साउदीमा हुँदा दसैंका बेला साथीहरु जम्मा भएर मासु पकाएर खाएर रमाइलो गर्थ्याै‌‍। 

युएई आएपछि चाहिँ टिका पनि लगाउँछौं अनि जमरा पनि लगाउन पाएका छौं । बरदुवईमा हिन्दु मन्दिर नै छ । दसैंमा त्यही मन्दिरमा गएर पण्डित जीबाट टिका लगाउँछौं । उहाँले जमरा पनि लगाइदिनुहुन्छ । दसैं त मनाइन्छ तर परिवारसँग भए जस्तो कहाँ हुन्छ र । अरु बेला नेपालीको बाध्यता नै हो के गर्नु त भनेर चित्त बुझाएपनि चाडबाडको बेला चाहिँ घर परिवारको साह्रै याद आउँछ । 

१० वर्षमा चार पटक बिदामा घर जाँदै आउँदै गरें । तर अहिलेसम्म दसैंमा बिदा पाएको छैन । चाडबाड परिवारसँग हुन नपाउँदै कुनै बेला आफैंलाई धिक्कार्छु । अनि फेरि आफैंले आफैंलाई चित्त पनि बुझाउँछु । 

आफू श्रम गर्न आएको देशको विकास हेर्दा, यहाँको सिस्टम हेर्दा हाम्रो देश कहिले यस्तो हुने होला भन्ने सोच्छु । यदी यस्तै भइदिने हो भने नेपालीले चाडबाडको बेलामा चाडबाडका बेलामा मन रुवाएर यो बिरानो ठाउँमा बस्नु पर्दैनथ्र्यो । मेरो योजना पनि अब दुई वर्ष चाहिँ यतै बस्ने छ ।

दुवई एक्सपो २०२० हुँदैछ । त्यतिञ्जेल बस्दा यदी श्रमिकको पक्षमा राम्रो कामहरु भए भने युएई बसाई केही लम्बिन्छ । नत्र देशमै केही काम गर्ने योजना बनाएर फर्किने छु । 

त्यसैले विदेशमा हुँदासम्म मलाई दसैं तिहार आउँदैन । आज मेरो कुरा लेखिरहँदा सोच्दैछु परिवारसँगै बसेर रमाएर दसैं मनाउन मेरो दिन कहिले आउला ? 

 यो पनि पढ्नुहोस् । 

मानो पुरा नभएर होला मलेसियामा त्यो दिन बाँचियो

2 Comments

  • Toran KC

    Oct. 19, 2018, 7:45 p.m.

    विदेशमा रहंदा त समस्त नेपालीहरुलाई महान चाड दशैंको सम्झनाले पिरोल्ने नै भयो /किनभने हाम्रा पुर्खादेखि चलिआएको रीतिथिति जसलाई हामीले जन्मैदेखि देख्दै र मनाउँदै आएका छौं / तर यता नेपालमा सुखमा रहेका तिम्रा हाम्रा कतिपय दाजुभाई त हाम्रो चाड नै हैन भन्दै बुरुक बुरुक उफ्रिरहेका छन्, उफ्रदै छन्, सोझासाझा जनता भडकाइरहेका छन् / दु:ख लाग्दैन सुरेशजी ?

  • सुरेस राइ

    Oct. 6, 2018, 1:21 p.m.

    के दसै के तिहार जीवन तेस्तै छ दिन बित्दै छ जसो तसो सामाजिक काम काज कहिले काहीँ गर्न मन लाग्छ देसको दुर्गती देखि फेरि मन मरेर आउँछ म जस्ता लाखौं युबा युवती बिदेशी बिदेसिन बाध्यता छ कारन बेरोजगार देसमा कहिले रोजगार अब्सर आम जन्ताले पाउने हो थाहा छैन अन्तमा मेरो दुई शब्द राखी दिनु भाकोमा तपाईं लाई धेरै धेरै धन्यवाद साथै नजिकिदै गरेको बडा दसैको पाबन अबसरमा तपाईं र तपाइको स परिवार अनि तपाइको सम्पुर्न युनिट लाई एक मुस्ट दुर्गा भवानिले रक्षा गरून्

तपाईको प्रतिक्रिया