कतारबाट फर्किदा ‘एक्जिट परमिट’ चाहिन्छ कि चाहिँदैन, अनलाइनबाटै थाहा पाउनुहोस्

 कात्तिक २५, २०७५ आइतबार १३:४५:२३ | उज्यालो सहकर्मी

कतार – तपाईँ कतारमा हुनुहुन्छ ? घर फर्किनका लागि तपाईँलाई रोजगारदाताको अनुमति चाहिन्छ कि चाहिँदै भनेर बुझ्न चाहनुहुन्छ ?

त्यसो हो भने यस्ता कुरा अनलाइनबाटै पनि हेर्न सकिन्छ ।  कतारले गएको भदौ अन्तिम सातादेखि रोजगारदाताको अनुमतिबिना स्वदेश फर्किन पाउने नियम लागू गरेको छ । 

तर रोजगारदाताले कामको प्रकृति हेरेर झण्डै ५ प्रतिशत कामदारका लागि भने कम्पनीबाट ‘नो अब्जेक्सन लेटर’ चाहिने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार तपाईँ स्वदेश फर्किंदा कम्पनीको ‘नो अब्जेक्सन लेटर’ चाहिन पनि सक्छ ।

आफू स्वदेश फर्किंदा रोजगारदाताको अनुमतिपत्र चाहिन्छ कि चाहिँदैन भनेर बुझ्न ‘स्टेट अफ कतार मिनिस्ट्रि अफ इन्टेरियर’ को आधिकारी वेभसाइटमा गएर तपाईँको कतारी परिचयपत्रको नम्बर राखेर थाहा पाउन सक्नुहुन्छ । 

तपाईँको कतारी परिचयपत्रको नम्बर राखेपछि तल बक्सामा दिइएको ‘क्याप्चा’ पनि अनिवार्य रुपमा राख्नुपर्छ । 

कतारका अमिर शेख तमिम विन हमाद अलथानीले ‘एक्जिट पेपर’ सम्बन्धी कानुनलाई प्रमाणित गरेसँगै स्वदेश फर्किन रोजगारदाताको अनुमति लिनुपर्ने नियम खारेज भएको हो ।

कतारमा सम्झौता अवधि सकिएपछि पनि स्वदेश फर्किन रोजगारदाताको अनुमति अनिवार्य थियो ।

नयाँ नियमले घरेलु कामदारलाई भने सहयोग गर्दैन । घरेलु कामदार कानुनभन्दा बाहिर भएकाले श्रम नियमले उनीहरुलाई नसमेट्ने कतारले जनाएको छ ।

धेरै घरेलु कामदारले दुव्र्यवहार सहेर काम गरिरहे पनि उनीहरुले रोजगारदाताको अनुमति बिना देश छोड्न पाउने छैनन् । कतारमा चारलाख भन्दा धेरै नेपाली कार्यरत छन् ।


याे पनि पढ्नुहाेस्

कतारमा नयाँ कानुन ; रोजगारदाताको अनुमतिबिना नै स्वदेश फर्कन पाइने

तपाईको प्रतिक्रिया