अरुण क्षेत्री

प्रश्नः आजाद भिसामा कतार पठाउछु भन्दै एउटा दलालले दुई लाख ३० हजार लिएको चार महिमा भयो। मलाई पेन्टरको तिन महिने भिसा प्रिन्ट गरेर दिएको छ। धेरै पैसा लागेको र गैर कानूनी काम जस्तो लागेर आजाद भिसामा जान्न भन्दा, भिसा रद्द गर्न पैसा लाग्छ भन्छ। अनि हवाइ टिकट नकाट म जादिन भन्दा नि टिकट काटेर मलाई त जानै पर्छ गइनस् भने तेरो पुरै पैसा डुब्छ भन्छ। म के गरुँ?


 

उत्तरः अरुण जि, पिपुल्स फोरममा आवद्ध अधिवक्ता कृष्णप्रसाद न्यौपानेका अनुसार, खाडीका देश र मलेसियामा  रोजगारीका लागि जान सरकारले फ्रि भिसा फ्रि टिकटको व्यवस्था अनुसार दशहजार रुपैयाँ मात्रै तिर्नुपर्ने नियम बनाएको छ। त्यसअनुसार तपाईंले बढी पैसा बुझउनु भएको छ। यो गैरकानूनी हो। दोस्रो कुरा जान्न भन्दा भन्दै कसैलाई पनि जबरजस्ती काममा पठाउन पाइँदैन। त्यो गलत हो। आजाद भिसालाई कुनै पनि देशको सरकारले अनुमति दिँदैन्। विदेशमा यस्तो भिसामा जाँदा तपाईंको मेडिकल, इन्स्युरेन्स् लगायत केही हुँदैन्। त्यसैले यो भिसामा गएर काम गर्नु गैरकानुनी जस्तै हो। विदेशमा तपाईंको जिम्मेवारी लिने कोही हुँदैन्।

त्यसैले तपाईं विदेश जान चाहानुहुन्न र तपाईंसँग पैसा तिरेको प्रमाण छ भने ती प्रमाण सहित तपाईं काठमाडौंको बुद्धनगरमा रहेको मानव अधिकारका लागि जनमन्च (पिपुल्स फोरम)बाट सहयोग लिन सक्नुहुन्छ। यस संस्थाले तपाईंलाई निशुल्क कानुनी सहायत दिन्छ।