ईन्दल खाङ्ग/ सप्तरी

प्रश्नः म दुवईमा वाचम्यानको लागि अन्तरवार्ता दिएर जाने तर्खरमा छु।  म्यानपावरलाई लागत खर्च बारेमा सोधखोज गर्दा मेरो अफिस खर्च जोडेर कुल रकम एक लाख पैतालीस हजार लाग्छ भन्यो। तर भर्पाइ चाहि दश हजारको मात्र दिन्छ रे। विमानस्थलमा सोधपुछ गरे पनि दश हजार नै भन्नुपर्छ नत्र झन्झट आइलाग्छ र विदेश जान पाइन्न रे। त्यसैले हामीले भने अनुसार गर वा आफ्नो पासपोर्ट फिर्ता लिएर जाउ भनेको छ। म विदेश गएर कुनै समस्या परि फर्कनु परे कुन उपायले कहाँ गएर तिरेको रकम उठाउने ? यस्तै समस्या मेरै ६ जना साथीहरूको छ। अब कि त एक लाख पैतालीस हजार तिरेर दश हजारको भार्पाइ लिएर जाउँ ? कि त विदेशनै जान नपाउँ? के प्रक्रिया पूरा गरेर जाउँ?


 

उत्तरः  ईन्दल जी, यस्तो अवस्थामा तपाईंसँग तिन बिकल्प उपलब्ध छन्।

पहिलोः

म्यानपावरले तपाईंको नाममा श्रम  स्विकृती लिइसकेको छ भने तपाईंले वैदेशिक रोजगार विभागमा फ्री भिसामा जान पाउँ भनेर निवेदन दिन सक्नुहुन्छ। त्यसको लागि चाहिने कानुनी सहायता तपाईंले पिपुल फोरमबाट निःशुल्क लिन सक्नुहुन्छ। तपाईंले पिपुल फोरमलाई  01-4423973 वा 4787226 मा सम्पर्क गर्नुहोला। 

दोस्रोः

तपाईंले अन्य कुनै म्यानपावर खोज्नुहोस् जसले  फ्री भिसा फ्री टिकटमा तपाईंले रोजे अनुशारको काममा पठा‌ओस्।

तेस्रोः

अहिलेकै म्यानपावरले भनेको रकम  तिरेर जान चाहानु हुन्छ भने म्यानपावरको निर्देशकको नाममा रकम आइएमी गरेर पठाउनु होस्। ताकी वैदेशिक रोजगारीमा कुनै समस्यामा परी फर्कनु परेमा तपाईंको रकम फिर्ता हुने आधार होस्।