दिल बुढाएर

प्रश्नः मैले साउदीमा वेटरको कामका जानका लागि अन्तर्वार्ता दिएँ । अन्तर्वार्ता लिन एक जना विदेशी नागरिक पनि आएका थिए । उनले मलाई वेटरका लागि हैन स्टोरकिपरको काममा लान्छु भन्यो । त्यसपछि म्यानपावरले मलाई मेडिकल र प्रहरी रिपोर्ट पनि बनाउन लगायो । अब मैले साउदी गएर के काम पाउछु ? म्यानपावरलाई कति पैसा तिर्न पर्छ ? कहिले पैसा बुझाउदा उपयुक्त होला ? अनि साथमा के के कागजपत्र साथमा राख्नुपर्छ ?


 

उत्तरः दिल जी, तपाईँले वेटरको कामका जानका लागि अन्तर्वार्ता दिए पनि अन्तर्वार्ता लिने मानिसले स्टोर किपरको काममा लैजान्छु भनेपछि तपाईँ स्टोर किपरको काममा छनोट हुनुभयो । त्यसैले तपाईँले साउदी पुगेपछि काम पनि स्टोर किपरकै पाउनुहुन्छ । तर तपाईँले आफूले साउदी गएर गर्ने कामका बारेमा अन्तिम श्रम स्वीकृति लिएपछि वैदेशिक रोजगार विभागको वेवसाइटबाट थाहा पाउन सक्नुहुन्छ । तपाईँलाई यदी साउदीको कुनै होटलले वेटरको सट्टा स्टोरकिपरको काममा लैजान खोजेको हो भने तपाईँले त्यहाँ गएर होटले सामान भण्डारन गर्ने ठाउँका काम गर्नुपर्छ । स्टोरकिपरको काम काम कम्पनी अनुसार फरक पर्न सक्छ । जस्तैः यदी होटलमा हो भने तपाईँ होटलमा आवश्यक सामानको रेखदेख गर्नेदेखि बाहिरबाट आएका सामानको परीक्षण, व्यवस्थापन, आवश्यकता अनुसारको त्यसको परिचालन लगायका काम गर्नुपर्छ । त्यस्तै नेपाल सरकारले लागू गरेको फ्रि भिसा फ्रि टकट नियम अनुसार तपाईँले साउदी जानका लागि जम्मा १० हजार रुपैयाँ मात्रै तिरे पुग्छ । म्यानपावरले तपाईँले जति हजार तिरे पनि बिल भने १० हजारको मात्रै दिन सक्छन् । त्यसैले तिर्न पर्ने १० हजार रुपैयाँ मात्रै हो । यदी त्यो भन्दा केही बढी लिएमा वैदेशिक रोजगारीका लागि पैसा दिएको भन्ने स्पष्ट खुलाएर जति रकम लिएको त्यतीको रसिद लिनुहोला । नत्र ठगीमा पर्न सकिन्छ । विदेश जाने प्रक्रिया गर्दा तपाईँका जति पनि कागजात बनेका हुन्छन् त्यो सबैको एक प्रति घरमा छाडेर जानुहोस् । जस्तैः पासपोर्टको फोटोकपी, श्रम स्वीकृतिको फोटोकपी, बिमा गरेको कागजको एक प्रति, करार सम्झौताको प्रति, म्यानपावरलाई पैसा बुझाएको रसिदलगायतका कागजात । म्यानपावरले तपाईँलाई जतिबेला पनि पैसा माग्न सक्छन् । जब तपाईँको भिसा, श्रम स्वीकृति र टिकट निश्चित हुन्छ तब मात्रै म्यानपावरलाई पैसा बुझाउदा उपयुक्त हुन्छ । ठगीमा पर्ने सम्भावना कम हुन्छ । त्यती मात्र हैन, तपाईँ जाने देश, कम्पनी र आफूले गर्ने कामका बारेमा राम्रो सँग बुझ्नुहोला । त्यसका लागि तपाईँले म्यानपावरसँग आफू जाने कामको पूर्व स्वीकृतिको लट नम्बर मागेर वैदेशिक रोजगार विभागको वेवसाइटमार्फत जाँच पनि गर्न सक्नुहुन्छ ।