अाकाशकाे तारा छाेएजस्तै भएकाे छ: उमादेवी बादी

 मंसिर ५, २०७५ बुधबार १८:४१:१३ | विष्णु विश्वकर्मा
unn.prixa.net

विश्वकै उत्कृष्ट प्रेरणादायी १०० जना महिलाको सूचीमा परेपछि उमादेवी बादीको चर्चा चुलिएको छ । 

बीबीसीले हरेक वर्ष विश्वकै उत्कृष्ट प्रेरणादायी महिलाको सूची सार्वजनिक गर्ने गरेको छ जसमा यस वर्ष नेपालकी उमादेवी बादी पनि सूचीमा अटाउनु भएको हो । वादी समुदायका तर्फबाट सांसदसमेत रहेकी उमादेवीले बादी समुदायको मुक्ति, नागरिकता प्राप्ति र समाजको हेर्ने दृष्टिकोण बदल्नमा ठूलो संघर्ष गर्नु भएको छ । 

वादी समुदाय पनि नेपाली नागरिक भएको भन्दै आमाका नामबाट नागरिकता दिनुपर्ने, बादी समुदायका महिलालाई सीप सिकाएर समाजमा पुर्नस्थापना गर्नुपर्नेलगायत माग राखेर २०६४ सालमा सिंहदरबार घेराउ आन्दोलनको नेतृत्व गरेपछि उमादेवी बादी चर्चामा आउनु भएको थियो । 

तर अहिले पनि बादी समुदायका महिलालाई समाजमा यौन दासीका रुपमा हेरिन्छ । पहिलेको तुलनामा बादी समुदायका महिलाहरु यौन पेशा छाडेर अरु नै पेशा गर्न थाले पनि यो प्रथा र सोच भने हट्न सकेको छैन । बीबीसीको एक सय महिला सूचीमा उमादेवी परेपछि नेपालमा बादी समुदायका महिला र उनीहरुले गरिरहेको यौन पेशामाथि बहस शुरु भएको छ । 

संघर्ष गरेको लामो समयपछि आफ्नो योगदानको कदरस्वरुप बीबीसीले एक सय महिलाको सूचीमा समेटेपछि उमादेवीलाई बधाई र शुभकामना दिनेको जवाफ फर्काउनै फुर्सद छैन । साथी विष्णु विश्वकर्माले उनै उमादेवीसँग गरेको कुराकानीको सम्पादित अंश :

विश्वकै १०० महिलाको सूचीमा परेपछि तपाईंलाई कस्तो महसुस भइरहेको छ ?

बीबीसीको यो सम्मानलाई म शब्दमा व्यक्त गर्न सक्दिन । मैले कुनै दिन यसरी विश्वकै प्रेरणादायी महिलाको सूचीमा पर्छु भनेर सोचेकी पनि थिइनँ । मैले सपनामा पनि नसोचेको कुरा जुन बीबीसीले मेरो मूल्यांकन गर्‍यो । यो सूचीमा परेपछि मलाई आकाश छोए जस्तो लागेको छ । बधाई दिनेहरुको फोन उठाउन भ्याई-नभ्याई छ । असाध्यै खुशी छ । जुन कुरा म शब्दमा व्यक्त गर्न सकिरहेको छैन ।

वादी समुुदायका महिलाका लागि २०६४ सालमा तपाईंले देशभरीकै महिला साथीहरुलाई लिएर सिंहदरबार घेराउ आन्दोलन गर्नुभयो । सरकारसँग केही सहमति पनि भए । अहिले तपार्इंले थालेको आन्दोलन कहाँ पुग्यो ? सबै माग पूरा भए कि भएनन ?

हाम्रो त्यतिबेलादेखिको आन्दोलन एउटा उचाईमा पुगेको छ । आन्दोलनपछि सरकारसँग सहमति पनि भयो । आमाका नामबाट सरकारले नागरिकता दिन तयार हुनु नै हाम्रो पहिलो माग सम्बोधन भएको छ । संविधानमा यो कुराको व्यवस्था हुँदा मेरो, मेरा बादी समुदायका महिला साथीमात्रै नभएर हामी सबैको जित भएको हो । 

बादी समुदायलाई पनि लक्षित गरेर सरकारले जनता आवास कार्यक्रम शुरु गरेको छ । यो उपलब्धीका पछाडी हाम्रो आन्दोलनको पनि हात छ । अहिले महिला राष्ट्रपति हुनुहुन्छ । कुनै बेला कानुन बनाउने संसद र कानुनको व्याख्या गर्ने न्यायपालिकाको नेतृत्वमा पनि महिला नै हुँदा यसले मलाई निकै खुशी बनाएको छ । 

तर अहिले पनि बादी समुदायका महिलाहरु लुकिछिपी यौनकर्म गर्न बाध्य छन् । यसको अन्त्य कहिले हुन्छ ? 

यो निकै दुःखको कुरा हो, अहिले पनि । यो देशमा राष्ट्रपति महिला, सभामुख महिला र प्रधानन्यायाधीश पनि महिला नै हुँदा बादी समुदायका महिला यौनपेशामा लाग्न बाध्य छन् । यो बिडम्बना हो । महिलाहरु नेतृत्वमा पुगेर मात्रै नहुने रहेछ । नीति निर्माण तहमा पुगेका महिलाहरुले महिलाहरुका लागि गर्नुपर्ने धेरै काम बाँकी नै छन् । नीति निर्माण तहमा केही कानुन बनेपनि त्यसको सही कार्यान्वयन हुन सकेको छैन । यसै कारण बादी समुदायका केही महिलाहरुले यौन पेशालाई नै निरन्तरता दिनु परिरहेको छ ।

तर हामीले आन्दोलन गर्नु अघि र अहिलेको अवस्था धेरै बदलिएको छ । पहिले १२ वर्षकै उमेरमा बादी समुदायका किशोरी बलात्कृत हुनुपथ्र्यो । यौनका साधन हुनुपथ्र्यो । छोरीलाई पढाउने होइन धन्दामा लगाउनुपर्छ भन्ने मान्यता थियो । छोरीहरुले स्कुल देख्न पाउँदैनथे । तर अहिले अवस्था फेरिएको छ । 

बादी समुदायका छोरीले पढ्न पाएका छन् । आत्मसम्मान पाएका छन् । पहिले जबर्जस्ती यौनधन्दामा लगाइन्थ्यो । अहिले गिट्टी कुटेर पनि छोरीहरु पढेका छन् । आफुले चाहेको र सकेको काम गरेका छन् । विगतभन्दा परिवर्तन आएको छ । यो हाम्रो आन्दोलनको उपलब्धी हो । तर यौ नै पर्याप्त छैन । 

तपाईंसँग सरकारले जुन सहमति गरेको थियो, ती सबै कार्यान्वयन भएका छन् त ? कि सबै सहमति कार्यान्वयन गर्न तपार्इंको दबाब पुगेन ? तपाईंहरु अहिले सुस्ताउनुभयो भन्छन् नि ? 

हामी सुस्ताएका छैनौँ । सरकार सुस्ताएको हो । बादी समुदायको आवासको कुरा, नागरिकताको कुरा, निःशुल्क शिक्षा, स्वास्थ्य अनि रोजगारीका लागि जति पनि सहमति भएका थिए, ती सबै कार्यान्वयन भएका छैनन् । हिजो भएका सहमति कार्यान्वयन गर्न म लगायत सिंगो बादी समुदायको संघर्ष र मिडियाको ठूलो दबाब कायमै छ । तर सरकार आफूले गरेको सहमतिबाट पछि हटेको छ ।

सरकारकै शिथिलताका कारण बादी समुदाय अहिले पनि सडकमै बस्नुपरेको छ । सरकारले आफ्नो जिम्मेवारी पूरा गर्न किन बिर्सदैछ ? हामीलाई किन अरु मान्छे जसरी मान्छे भनिँदैन । किन दलितभन्दा पनि दलित भनेर हेला गरिन्छ ? यसको वातावरण कसले सिर्जना गर्‍यो ? 

म सुदूरपश्चिम प्रदेशको सांसद भए पनि सुदुरपश्चिमका नौ वटै जिल्लामा बादी समुदायको बसोबास छ । उनीहरुको अवस्था नाजुक छ । तर सरकारले कहिल्यै यो विषयलाई गम्भिरतापूर्वक लिन सकेन । मैले पटक पटक  प्रदेशसभामा यस विषयमा बोलेको छु । माग सुनुवाईका लागि माग गरेको छु । भाषणमा होइन अब कार्यान्वयनमा जानुपर्छ भनेर आवाज उठाइरहेकी छु ।

तपाईंले आन्दोलन थालेदेखि वादी समुदायका समस्या समाधानका विषयमा सरकारका मन्त्री, मुख्य नेताहरु, अहिले पनि प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्नु भएको छ होला । उहाँहरुबाट तपाईंले कस्तो आश्वासन पाउनुभयो ? अनि ती आश्वासन उहाँहरुले पूरा गर्नुभयाे त ? 

अब मन्त्री भने पनि, नेताहरु भने पनि आश्वासन दिएका थिए, छन् । ती सबै पूरा भएका छैनन् । तर केही विषयमा आश्वासन मात्रै दिएका छैनन् । पूरा पनि गरेका छन् । तर अहिले संरचना फेरिएको छ । अहिले म आफैँ प्रदेश सांसद हुँ । बादी समुदायका विषयमा पटक पटक मुद्दा उठाएको छु । सुदुरपश्चिमका मुख्यमन्त्रीको घर छेउमै वादी बस्ती छ । तर उहाँले कहिल्यै गम्भीर रुपमा लिनुभयो जस्तो मलाई लाग्दैन । 

सुदुरपश्चिम मात्रै होइन, कर्णाली प्रदेश लगायत अरु प्रदेशले पनि बादी समुदायलाई समाजमा पुर्नस्थापना गर्ने विषयमा गम्भीर रुपमा सोचेका छन् जस्तो लाग्दैन । तर पनि अब आश गर्ने प्रदेश सरकारसँगै हो । बादी समुदायलाई अहिले जुन रुपमा हेरिन्छ, त्यो दृष्टिकोण र अवस्था बदल्ने जिम्मा प्रदेश सरकारलाई छ । हाम्रो आशा पनि प्रदेश सरकारसँगै हो । देउकी प्रथा हट्यो । 

मुक्तकमैयाले मुक्ति पाए । अब बादी समुदायले मुक्ति पाउने कि नपाउने ? अर्थात सुदुरपश्चिम प्रदेश सरकारले, मुख्यमन्त्रीले, सांसदहरुले बादी समुदायका महिलालाई अवैध यौन पेशाबाट मुक्ति दिएर वैकल्पिक सीप सिकाउने कि नसिकाउने ? यो सरकारको जिम्मेवारी हो । हामीले पटक पटक भनेका छौँ, आवाज उठाएका छाैं । 

तर जति पटक भने पनि नसुनेपछि के नै गर्न सकिँदो रहेछ र ? तर पनि आवाज उठाउन छाड्दिन । हिजोभन्दा आज केही परिवर्तन भएको छ । आजभन्दा भोलि परिवर्तन हुन्छ । एक न एक दिन त हामीले कसो मुक्ति नपाऔँला र ? 

अन्तिममा, तपाईलाई केही भन्नु छ ?

म यो सूचीमा पर्न लायक थिएँ वा थिइनँ थाहा छैन । जब मैले यो कुरा सुनेँ, आकाशको तारा, जुन छोए जस्तै मानेको छु । 

म एउटा बादीकी छोरी । सुदुरपश्चिमकी छोरी । एउटा पिछडिएको दलित समुदाय । दलितभित्र पनि दलित वादी समुदायकी छोरीलाई बीबीसीले जुन सम्मान दिएको छ, यो मेरा लागि नसोचेको ठूलो सम्मान हो । यसका लागि म मेरो समुदाय, शुभचिन्तक, हाम्रो आन्दोलनलाई साथ दिने र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु ।   


  

अन्तिम अपडेट: चैत १५, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया