बच्चा अपहरण गर्न अाएकाे अाश‌ंकामा दुईजनाकाे हत्या

 जेठ २८, २०७५ सोमबार १९:५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको आसाममा दुईजनाकाे हत्या गरेको आरोपमा प्रहरीले साेमबार १८ जनालाई पक्राउ गरेको छ । ह्वाट्सएपमा फैलिएको ‘बच्चा अपहरणकारी आएको’ अफवाहका आधारमा गाउँले मिलेर दुईजनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

कर्वि आङलङ जिल्लाको दुर्गम गाउँमा अभिजित नाथ र निलोत्पाल दासलाई शनिबार २०० भन्दा धेरै मान्छेको भीडले कुटेर मारेको प्रहरीले जनाएको छ ।
पछिल्ले समय बच्चा अपहरणकारीको ग्याङ गाउँ पसेको भन्ने अफवाहको कारण दुईजनाको ज्यान गएको हो । यस्तो अफवहका कारण भारतमा धेरैको ज्यान जाने गरेको छ ।

प्रहरीले घटनामा संलग्न १८ जना दोषिलाई पक्राउ गरिएको र सामाजिक सञ्जालमा अफवाह फैल्याउने केहीलाई पनि पक्राउ गरिएको जनाएको छ ।
सामाजिक सञ्जालमा दुईजनालाई गाउँलेले हत्या गरेको भिडियो भाइरल भएको छ । सामाजिक सञ्जालमा दासले हात जोडेर आफू अपहरणकारी नभएको, आफू आसामी भएको र आफूलाई छाडिदिन आग्रह गरेको भिडियो भाइरल भएको छ । 

३० वर्षका नाथ र २९ वर्षका दास शनिबार गाडीमा दुर्गम गाउँ पञ्जुरी कचरी घुम्न गएका थिए । बच्चाहरुको अपहरणमा आएको आशंकामा उनीहरुलाई गाउँलेले लखेटेर हत्या गरेका हुन् ।

‘केही बच्चा अपहरणकारी गाउँ पसेका छन् । एक जना अपहरणकारीको लामो कपाल रहेको छ’ लेखिएको पोष्ट र म्यासेज ह्वाटसएप र फेसबुकबाट भाइरल भएपछि गाउँलेहरुले उनीहरुलाई अपहरणकारी आएको आशंकामा हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले बाटो सोध्न गाडी रोकेका थिए । त्यसपछि उनीहरुमाथि आक्रमण भएको जनाइएको छ । ह्वाटसएपमा उनीहरु अपहरणकारी भएको भन्दै चेतावनीपूर्ण जानकारी आएपछि त्यहाँका नागरिकले उनीहरुलाई हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले त्यो घटनापछि साइबर अनुगमन तिब्र पारेको जनाएको छ । प्रहरीले सबै जिल्लामा अफबाह नियन्त्रणमा काम गरिरहेको जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया