पानी ट्याङ्की भत्किएर च्यापिंदा एक जनाको ज्यान गयाे, एक घाइते

 मंसिर १२, २०७५ बुधबार १९:३६:४८ | दयाराम आचार्य

नवलपरासी - नवलपरासीको कावासोती नगरपालिका –१६, गैराटोलमा बुधबार  खानेपानीको ट्याङ्की भत्किएर च्यापिंदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

कावासोती नगरपालिका –१६, मा रहेको  कुखुराको क्यारेट उत्पादन गर्ने  केशव रिमालको ‘रिमाल एण्ड क्यारेट फेक्ट्री’को  भवनको दोश्रो तलामा  सिमेन्टले निर्माण गरिएको  पानी ट्याङ्की भत्किएर च्यापिंदा गैराटोल बस्ने ४० वर्षीय कृष्ण अधिकारीको मृत्यु भएको हो ।

घरको तल चिया खाएर बस्दै गर्दा एक्कासी पानी ट्याङ्की भत्किएर च्यापिंदा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

ट्याङ्की भत्किएर च्यापिंदा घाइते भएका अधिकारीको  उपचारको क्रममा मध्यविन्दु अस्पताल डण्डामा मृत्यु भएको हो । त्यसै घटनामा डडेलधुरा अजयमेरु गाउँपालिका –४, बस्ने ३२ वर्षीय सिद्धराज ऐर घाइते हुनुभएको छ ।

उहाँको  एलाइट अस्पताल भरतपुरमा उपचार भइरहेको छ । दुवै जना उद्योगका कामदार रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया