भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई पर्वको रुपमा मनाऔं : मुख्यमन्त्री राउत

 बैशाख २५, २०७५ मंगलबार १९:२२:४१ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा, वैशाख २५ – जनकपुरमा वैशाख २८ गते हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन र सम्बोधन कार्यक्रममा नागरिक सहज रुपमा सहभगी हुन सक्ने प्रदेश सरकारले जनाएको छ ।

जनकपुरको एतिहासिक बाह्रविघा मैदानमा हुने अभिनन्दन तथा सम्बोधन कार्यक्रममा सर्वसाधारण बिना कुनै पासको उत्तरी प्रवेशद्धारबाट प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रदेश २ मुख्यमन्त्रीको कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दनका लागि सर्वसाधरण नागरिकलाई खुल्ला प्रवेशको व्यवस्था मिलाएको जानकारी गराएको हो ।

‘नागरिक सहज रुपमा भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन कार्यक्रममा सहभागी हुन सक्नेछन्’, मुख्यमन्त्री लालबाबु राउतले भन्नुभयो, ‘कार्यक्रमस्थलमा सर्वसाधारण बिना कुनै पास बाह्रविघा मैदानको उत्तरी प्रवेशद्धारबाट भित्र छिर्न पाउने व्यवस्था हामीले मिलाएका छौं ।’

मोदीको अभिनन्दन कार्यक्रममा बिहान ७ बजे नै प्रवेश गरिसक्नु पर्ने बाहिर हल्ला मात्र भएको बताउँदै मुख्यमन्त्री राउतले आठ वटै जिल्लाबाट लाखौंको संख्यामा सर्वसाधारण सहभागी हुने भएकाले बिहान १० बजेसम्म प्रवेश गर्न व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री जनकपुर आएको दिन पर्वको रुपमा उत्सव मनाउन सर्वजनिक बिदा दिएको र पर्वकै रुपमा मनाउन आम प्रदेशबासीमा आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । राउतले भारतीय प्रधानमन्त्री मोदीको भव्य स्वागतका लागि सबैलाई आफ्नो घरको अगाडि सरसफाई र मोदी बाह्रविघा मैदानसम्म आउने रुटमा पर्ने घर अगाडि कलस राख्न नगरबासीमा अपिल गर्नुभयो ।

मोदीको अभिनन्दन कार्यक्रममा लाखौंको संख्यामा प्रदेशका आठ वटै जिल्लाका नागरिकहरु सहभागी हुने मुख्यमन्त्री राउतको भनाई छ । भारतीय प्रधानमन्त्रीको भव्य स्वागतको लागि प्रदेश २ सरकारले मुख्यमन्त्रको संयोजकत्वमा मुल कमिटी र ५ जना मन्त्रीहरुको संयोजकत्वमा मञ्च व्यवस्थापन, जनपरिचालन, प्रचारपसार, अर्थ र सुरक्षा लगायतको समिति गठन गरेर तयारीमा जुटेको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले मोदीको जानकी मन्दिमा पूजाअर्चनाको समयमा १ सय ५ साधुसन्तले एकैसाथ शंख बजाउने  कार्यक्रम रहेको जानकारी गराउनुभयो । नेपाल–भारत सम्बन्ध सुमधुर र प्रदेश २ को समृद्धिका कामना गर्दै शंखनाद गर्ने मन्त्री रायको भनाई थियो ।

अन्तिम अपडेट: चैत १४, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया