अमानवीय व्यवहार गर्ने सुकेधारामा रहेकाे सुधार केन्द्रका सञ्चालक पक्राउ, २१ जनाको उद्धार

 मंसिर २१, २०७५ शुक्रबार १४:३७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी

काठमाडौं  – काठमाडौंको सुकेधारामा रहेको ‘ट्रान्सफरमेशन नेपाल’ नामक सुधार केन्द्रबाट प्रहरीले २१ जनालाई उद्धार गर्नुका साथै २ जनालाई पक्राउ गरेको छ । 

लागुऔषध प्रयोगकर्ताहरुलाई सुधारका नाममा अमानवीय ढंगले राखेको पाइएपछि उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ । मासिक ३५ हजार शुःल्क लिने भए पनि खान बस्न समेत उचित रुपमा नदिएपछि केही दिनअघि १३ जना सुधार केन्द्रबाट भागेर प्रहरीमा पुगेका थिए ।

उनीहरुले दिएको निवेदनका आधारमा महानगरीय प्रहरी परिसर टेकुबाट खटेको प्रहरी टोलीले बिहीबार २१ जनालाई उद्धार गरेको हो । प्रहरीले सुधार केन्द्र सञ्चालक सन्तोष घिमिरे र सहयोगी समिर मल्ललाई पक्राउ गरेको छ । मापदण्ड अनुसार केन्द्र सञ्चालन भएको नपाइएकाले उनीहरुलाई पक्राउ गरिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले बताउनुभयो । प्रहरीले रिह्याव केन्द्र पनि बन्द गरेको जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई म्याद थप गरेर अमानवीय व्यवहार गरेको मुद्धामा कारबाही चलाउने तयारी भएको प्रहरी वरिष्ठ उपरीक्षक लामाले जानकारी दिनुभयो । 
मुलुकी अपराध संहिताको धारा १ सय ६८ मा अमानवीय व्यवहार गर्नेलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ ।  

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया