बीजेपी पाकिस्तान विरोधी पार्टी हो : पाकिस्तानी प्रधानमन्त्री इमरान खान

 मंसिर २२, २०७५ शनिबार ६:१४:५२ | एजेन्सी
unn.prixa.net

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी(बीजेपी) को कडा आलोचना गरेका छन् । इमरान खानले बीजेपीलाई मुस्लिम तथा पाकिस्तानी विरोधी राजनीतिक दलको संज्ञा दिएका छन् ।

पीटीआईका अनुसार बिहीबार वाशिंगटन पोस्टका लागि दिएको एक अन्तर्वार्तामा उनले भने, ‘भारतमा चुनाव आउँदैछ । त्यहाँको सत्तारुढ दल मुस्लिम तथा पाकिस्तानी विरोधी छ । उनीहरुले मैले गरेको सबै पहललाई नकारिदिए । अब यो आशा गर्न सकिन्छ कि चुनाव सकिनेबित्तिकै भारतसँग वार्ता हुनेछ ।’

त्यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सन् २००८ मा भएको मुम्बई हमलाका आक्रमणकारीहरुलाई कारबाही गरिरहेको जानकारी गराए । उनले मुम्बई हमलाका योजनाकारहरुलाई कठघरामा ल्याउँदा पाकिस्तानको पनि हित हुने बताए । यो आक्रमण आतंकवादी हमला भएको भन्दै यसका योजनाकारहरुलाई कारबाही गर्दा पाकिस्तानलाई पनि फाइदा पुग्ने खानको भनाई थियो । 

मुम्बई आक्रमणका बारेमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको भनाई आएपछि भारत–पाकिस्तानबीचको सम्बन्धमा सुधार आउने सम्भावना देखिन्छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया