जाडोका फाइदै फाइदा : न नुहाउन पर्ने, न दुब्लाउन !

 मंसिर २२, २०७५ शनिबार ९:२४:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

पोहोर, परार, झन् परारजस्तै यसवर्ष पनि सबैले भन्दैछन् – ओहो कति छिटो जाडो बढेको ! आ बरु गर्मीयाम नै ठीक, यो जाडोमा त बाँच्नै गाह्रो !

तर जाडोमा बाँच्न गाह्रो होइन, झन सजिलो हुन्छ । अझ तपाई अल्छी हुनुहुन्छ, नुहाउन मन लाग्दैन, धेरै सुत्न मन पर्छ र ख्याउटे हुनुहुन्छ भने त जाडो महिना तपाईँका लागि बम्पर चिट्ठा नै हो । तर, जाडोका फाइदा कति हो कति धेरै भए पनि अल्छी, दाउरे र भाटे टाइपका मान्छेले आच्छुछु गर्दै जाडोका फाइदाको मजा चाहिँ लिइरहेकै हुन्छन् । तीमध्ये केही फाइदाको चर्चा गरौं :

दुब्ला पातला पनि मोटा हुने 

जाडोयाममा कोही पनि मान्छे दुब्लाउनु पर्दैन । जस्तोसुकै सिन्के, ख्याउटे, पातले पनि जाडोमा भुक्क फुलेको देखिन्छ । ज्यानमाथि पत्रै पत्र लुगा लाएर त्यसमाथि थाम्नै नसक्ने ज्याकेट लगाएपछि उ त्यसै मोटोघाटो हुन्छ । बाक्लो ज्याकेटभित्र उसको ज्यान ख्याउटे छ कि पुक्क परेको छ भन्ने कसलाई के थाहा ? त्यसैले जाडोमा दुब्ला पातलाले मोटाउन सकिएन भनेर चिन्ता मान्नु पर्दैन । देख्नेजति सबैले उसलाई मोटाघाटा नै देख्छन् । बलियोबाँगो र हट्टाकट्टा नै ठान्छन् ।

मयल नदेखिएपछि नुहाउनै नपर्ने 

नुहाउने किन ? मयल फाल्न ? मयल किन फाल्ने ? अरुलाई आफ्नो ज्यान सफा छ भन्ने देखाउन । तर जाडोमा ज्यान देखिंदैन । ज्यान नदेखिएपछि मयल पनि देखिंदैन । मयल नदेखिने भएपछि नुहाउन पनि पर्दैन । 

नुहाउनै परे पनि हिजोआज कसरी नुहाउने भन्ने सरल विधि फेसबुकमा छाइसकेको छ । हातमा थोरै पानी लिएर शीरमा छर्किने, त्यसो गर्न पनि नसके नुहाएको मान्छेलाई छुने, छुन पनि नसके आँखा चिम्लेर नुहाएको कल्पना मात्रै गर्ने हो पनि नुहाएको जत्तिकै फल मिल्छ रे ।

नुहाउने भनेको मयल फाल्नलाई हो । मयल पनि अरुले देख्लान् कि भन्ने डरले फाल्नुपर्ने हो । तर जाडोयाममा त घाँटी, पाखुरा, हात, खुट्टा र कपालमा समेत कसको कति मयल छ भन्ने थाहा हुन्न । अलिअलि देखिने अनुहार मात्र सफा गर्दा पुग्छ । टाउकोमा टोपीदेखि पैतालामा मोजासम्म लगाउनुपर्ने भएकाले ज्यानमा भएको मयल अर्कोले देख्न पाउँदैन । 

अरुले नदेखेपछि आफ्नो मयल आफैंलाई के को घीन ? जतिसुकै डुङडुङ गन्हाए पनि आफैंलाई मात्र थाहा हुन्छ । आफूलाई मात्र थाहा हुने कुरा अरुलाई थाहा नहुने भएपछि नुहाउने झण्झट गर्नै पर्दैन । जाडोमा योजस्तो आनन्द अरु के होला ! 

पाइन्टको जिप बिग्रिए पनि बनाउन नपर्ने

माथिको सर्ट पाइन्टले च्यापेर चट्ट परेर हिँड्नेले बेलाबेला आपद भोग्नुपर्छ, पाइन्टको जिप कुनबेला बिग्रिएर ह्वाङ्ग भएको हुन्छ । कहिले पिसाब गरेर फर्किएपछि लगाउन बिर्सिएको हुन्छ, कहिले आफैं बिग्रन्छ । लगाउन बिर्सिएको र बिग्रिएको कुरा आफूले भन्दा पहिले अरुले थाहा पाउँछ । अरुले आफ्नो पाइन्ट हेरेर गलल्ल हाँसेपछि मात्रै आफ्नो चेन खुस्केको र बेइज्जत भएको पत्तो हुन्छ ।

तर जाडोमा यसरी पाइन्टको जिप बिग्रिएर कसैले पनि बेइज्जत हुनु पर्दैन । जाडोमा त पाइन्टले सर्ट च्यापे पनि सर्ट माथि लामो ज्याकेट या ओभरकोट हुन्छ । ज्याकेट र ओभरकोटलाई पाइन्टले च्याप्नु पर्दैन । कुनै घुँडा घुँडा पुग्छ, कुनै तिघ्रासम्म । अर्थात पाइन्टको जिप हुने ठाउँभन्दा तलसम्मै ज्याकेटले छोपिन्छ । ज्याकेट र ओभरकोटले नै छोप्ने भएपछि पाइन्टको जिप नलगाउँदा त केही फरक पर्दैन भने बिग्रंदैमा र बिर्संदैमा के फरक पर्छ र ? कसैले निहुरेर हेर्दा पनि चेन फुस्केको नदेखिने एकमात्र सिजनको मजा ननुहाएका लट्टा हल्लाएर लिन पाउनु सानौतिनो फाइदा हुँदै होइन ।

थोरै काम गरेर धेरै सुत्न पाइने

जाडोमा सबैभन्दा मज्जाको अर्को कुरा हो, सयफेर सपना देख्नेगरी मज्जाले सुत्न पाइन्छ । राती १० पटक बिउँझिएर झ्याल बाहिर हेर्दासमेत उठ्ने बेला हुँदैन । सुतेरै थकाई र पट्यार लाग्न थालेपछि बल्लतल्ल उज्यालो हुन्छ । 

उज्यालो भैसक्दा समेत घाम लाग्दैन । बल्लतल्ल सिरक फाल्यो, आङ बटार्यो, सिकसिक गर्दै मुख धोयो, भात खायो । तैपनि कुहिरो र हुस्सु हटेको हुँदैन । कुहिरो र हुस्सु नहट्दै कामको मेलो सुरु हुन्छ । तर रमाइलो के भने, कामको मेलो सुरु हुन नभ्याउँदै दिन सकिन थाल्छ र साँझ नपर्दै अँध्यारो हुन थाल्छ । 

अँध्यारो भएपछि अँध्यारोमा गर्नेबाहेक अरु काम गर्न मिल्दैन । अफिस पनि छिट्टै छुट्टि हुन्छ, घरको कामबाट पनि चाँडै छुटकारा मिल्छ । 

गर्मीयाममा घाम लागिरहने बेलुकी ७ बजे नै मध्यरात भैसक्छ । ७ बजेको मध्यरातमै सुत्न पाइन्छ । भोलिपल्ट बिहानको ७ बजेतिरै उठ्दा हुन्छ । 

जति हसुरे पनि पच्ने

जाडोमा जति जे खाए पनि पच्छ । जाडोकै निहुँमा दिउँसै जाँडरक्सी धोक्न पाइन्छ । गाडी चलाउँदा मापसे कारबाहीमा पर्नुबाहेक अरु केही हुँदैन । घरमा श्रीमतीले बाहेक अरु कसैले गाली पनि गर्दैन । 

जाँडरक्सी मात्रै होइन, अरु जे जति हसुरे पनि केही हुन्न । अरुबेला हेर्नै मन नलाग्ने खानेकुरा पनि जाडोमा उल्का मीठो हुन्छ । ज्यानले धान्नै नसक्ने र खानै नहुने खानेकुरा खाए पनि पच्छ । खाएकै कारण छेरपाटी लाग्ने डर पनि जाडोयाममा हुँदैन ।

हामीजस्ता फाट्ट फुट्ट लेख्ने र लेखपढको काम गर्ने मान्छेका लागि पनि जाडो औधि सुविधा लिएर आउँछ । त्यसैले, कवि, लेखक, पत्रकार र लेखनदासहरुका लागि पनि जाडो फाईदाजनक छ । नाँगो औंला देखाएर जाडोमा किबोर्ड चलाई चलाई लेख्न कस्लाई पो मन पर्छ र ?

लेख्न मन नलागेपछि जाडो छल्न गोजीमा हात हाल्नै पर्छ । लेख्न भन्दा खल्तीमा हात राख्न मज्जा आउँछ भन्ने त सबैलाई थाहै छ । अहिले् मलाई पनि कुरा अघि बढाउन भन्दा खल्तीमा हात राख्न मन लाग्न थालिसक्यो । त्यसैले जाडोको महिमा पनि यो भन्दा धेरै लेख्न मन लागेन । त्यसैले जाडोका बाँकी फाइदाहरु के–के छन्, आफैं मनन गर्नुहोला । 

अन्तिम अपडेट: चैत १६, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया