पर्वत जिल्ला अस्पतालका लागि ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु

 मंसिर २४, २०७५ सोमबार १८:२९:११ | सन्तोष थापा
unn.prixa.net

पर्वत जिल्ला अस्पतालका लागि ५० शैयाको अत्याधुनिक भवन उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिना

पर्वत – पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण सुरु भएको छ ।

१५ शैयाको अस्पताललाई स्तरबृद्धि गर्दै ५० शैयाको बनाउन नयाँ भवन निर्माण शुरु भएको हो । नयाँ बन्ने भवनको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार शिलन्यास गरेका छन् ।

अस्पतालको नयाँ भवन २१ करोड १३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यालय पोखराले जनाएको छ । नयाँ भवन २०७७ पुस महिनाभित्र सम्पन्न हुने आयोजना कार्यालयका प्रमुख नारायाण भण्डारीले जानकारी दिनुभयो । नयाँ भवनमा ५० शैयाको इन्डोर, आवास गृहदेखि अत्याधुनिक सुविधाहरु रहनेछन् ।

२०४६ सालमा १५ शैयाबाट शुरु भएको पर्वत जिल्ला अस्पतालमा आउने बिरामीका लागि पर्याप्त बेड, जनशक्ति र उपकरणको अभाव हुँदा उपचारका लागि जानुपर्ने अवस्था छ ।

नयाँ भवन निर्माणसँगै आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरी पोखरा जानु पर्ने अवस्थाको अन्त्य गरिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द पहाडीले बताउनुभयो ।

‘अब अस्पतालको स्तरबृद्धि गरी सबै सुबिधासहित पर्वतमा नै उपचार पाउने अवस्था आउनेछ’, अध्यक्ष पहाडीले भन्नुभयो । तीन दशकअघिको दरबन्दी, त्यही अनुसारका उपकरण र जनशक्ति समेत अभावमा बिरामीले राम्रो उपचार पाउने अवस्था हुन नसकेको र भएमा अस्पताल प्रतिको आकर्षण बढेर जाने अस्पतालका प्रमुख डा. सन्तोषी थपलियाले जानकारी दिइन ।

अहिले अस्पतालको सबै आर्थिक अधिकार नगरपालिकामा गएका कारण पनि उपकरण खरिद, औषधि खरिदलगायतका विषयहरु झन्झटिलो हुँदा पनि समस्या भएको उहाँको भनाई छ । 

समयमा नै योजनाहरु पूरा नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

त्यसै अवसरमा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का लगाएपछि काम अलपत्र छाड्ने क्रम बढेकाले काम नगर्र्ने निर्माण व्यवसायीलाई कारबाही गर्न आग्रह गरेका छन् ।

‘ठेक्का पट्टामा बजेट व्यवस्थापन भएर पनि काम भैरहेका छैनन्’, उहाँले भन्नुभयो, ‘ठेक्का लिने तर काम नगर्नेलाई कारबाही गर्न नसक्दा अझै विकृति मौलाउन गएको छ ।’

समयमा निर्माण कार्य गर्नेलाई पुरस्कृत गर्दै जाँदा मोबिलाइजेसन बुझेर काममा हात हाल्ने र समयमा पूरा नगर्नेहरु निरुत्साहित बन्ने उहाँको धारण धारणा छ ।

जनप्रतिनिधिले योजना छनौट र बजेट व्यवस्थापन गर्ने काम गर्दै आएको र समुदाय र उपभोक्ताले समयमा नै गुणस्तरीय निर्माण कार्य भए नभएको अनुगमन गर्दा अझै प्रभावकारीता आउने विश्वास उहाँको छ ।


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया