मंसिरको रमाइलो : जोडी बाँध्ने यसै फुरुंग, सिंगल पनि दंग !

 मंसिर २९, २०७५ शनिबार ७:५२:४५ | मिलन तिमिल्सिना
unn.prixa.net

१२ वटामध्ये सबैभन्दा रमाइलो महिना कुन होला ? जुन महिनामा रमाइलो गर्न सक्यो या रमाइलो गर्ने अवसर आयो त्यही भन्नुहोला । तर मंसिरमा जत्तिको रमाइलो अरु महिनामा हुँदै हुँदैन । कसरी भन्नुहोला, ल हेर्नुहोस् यसरी ।

असारपछि एकैपटक मंसिरमा बिहेको लगन हुन्छ । हुन त हिजोआज कात्तिकमा पनि मान्छेले बिहे गर्छन् । तर कात्तिकको त्यो बिहे जोडीलाई बाहेक अरुलाई रमाइलो लाग्दैन ।

मंसिरमा त जोडी बाँध्नेलाई मात्र होइन, जोडी खोज्ने, जोडी देख्ने र जोडी नपर्नेलाई समेत रमाइलो हुन्छ । भर्खर बिहे हुँदै गरेका जोडीलाई त यसै पनि रमाइलो हुने भयो । बल्लबल्ल मनले आँटेअनुसार पुगेको । आफैंले ल मेरो बिहे गरिदेउ भनेर फ्याट्ट भन्न नमिल्ने । तर उमेर पुगेका छोराछोरीले मुख फोर्न नसकेको कुरा बाआमाले थाहा पाइहाल्छन् । 

दसैँतिरै बाआमाले ल यसपाली त बिहे गर्नुपर्छ, तेरो आफ्नो भए भन्, नभए हामी खोजी दिन्छौं भनेपछि मनमा काउकुती लाग्न थाल्छ । काउकुती बढ्दै र कुरो चल्दै गएपछि धेरैको मंसिरमै जोडी बाँधिन्छ । बिहेको बन्धन कति कसिलो र असजिलो हुन्छ भन्ने कुरो अहिल्यै के थाहा ! बिहेको कुरा चलेदेखि बिहे भएको दुई चार दिनसम्म त संसार नै जितेजस्तो रमाइलो सबैलाई भैहाल्छ ।

मंसिरमा बाँधिएका नयाँ जोडी मात्र होइन, जोडी मिलाइदिने लमीदेखि निम्तालु पनि दंग पर्छन् । पण्डित पुरोहितको लागि त गोजी र झोली भर्ने सुनौलो मौका नै हो । निम्तालुलाई पनि भ्याईनभ्याई हुन्छ । एकै दिन चारतिरबाट निम्ता आउँछ । कसकोमा जाने, कसकोमा खाने ।

सबैले एकैदिन नजुधाएको भए पनि दिनहुँ पालैपालो मासु र भात खान पाइन्थ्यो । तर एकातिर पेटभरी भोज खाएर अर्कोतिर निम्ता मान्न पुग्नुपर्छ । घरका सबैलाई सबैतिर भाग लगाउँदा पनि दोहोर्याएर नै जानुपर्ने गरी निम्ता आउँछ । घरका सबै काम छाडेर निम्ता मान्दै हिँड्नु पनि रमाइलै कुरा हो । त्यसमाथि बिहेमा जानुछ भनेपछि कर्मचारीले पनि सुख पाउँछन् । कार्यालयमा हाजिर गरेर दिनभर बिहेभोजमा भुल्न पाइन्छ । कर्मचारीलाई पनि रमाइलै हुने भयो ।

पहिल्यै बिहे गरेर छोराछोरीको बाउआमा मात्र होइन, नातिनातिनाका हजुरबा हजुरआमा भैसकेकाहरुलाई पनि मंसिर महिना असाध्यै रमाइलो हुने रहेछ । नपत्याए फेसबुक हेर्नुहोस्, फेसबुकमा नयाँ जोडीकाभन्दा पुराना जोडीहरुका फोटो धेरै देखिन्छ । उबेला आजकै दिन, हामी एक भएको क्षण भनेर पुराना जोडीहरुले फोटो राखेका हुन्छन् । फोटो देखेपछि लाइक र कमेन्ट गर्नु तपाईंहाम्रो काम हो । नत्र आफ्नो पालामा लाइक र कमेन्ट फिर्ता आउँदैन । पुरानो फोटोमा नयाँ लाइक र कमेन्ट देखेपछि पुराना जोडीहरुका मन पनि फुरुंग हुन्छ । बिहेदेखि अहिलेसम्म जतिसुकै भनाभन, आँखा तरातर, मारमुङ्ग्री भए पनि बिहे भएको दिन सम्झेर फुरुंग हुन पाउनु पनि ठूलो कुरा हो । त्यसैले नयाँलाई मात्र होइन, मंसिरमा बिहे गरेका पुराना जोडीलाई समेत मंसिर महिना असाध्यै रमाइलो हुन्छ भन्ने सत्य यसबाट प्रमाणित हुन्छ ।

बिहे नभएका ठिटाठिटीलाई चाहिँ के रमाइलो भन्नुहोला । उनीहरुलाई त झन् रमाइलो हुन्छ । घरमा बिहेको कुरा चल्दा पनि रमाइलो । साथीभाइहरुले जिस्क्याउँदा पनि रमाइलो । फेसबुकमा मंसिर पनि त्यसै जान लाग्यो भनेर स्टाटस राख्दा पनि रमाइलो । मंसिर लाग्यो, के छ विचार भनेर च्याट गर्दा पनि रमाइलो । त्यसमाथि घरमा थरीथरीका मान्छेले थरीथरीका कुरा लिएर आउँछन् । आफ्नो लागि जोडी बाँध्ने कुरा हुँदैछ भन्ने सुन्दा नै रमाइलो । अझ हुनेवाला जोडीसँग लजाई लजाई भेटघाट गर्दा झनै रमाइलो । यो त मन परेन, अर्कै खोज्नुहोस् भनेर रोजीछाडी जोडी भेट्दै हिँड्नु त अझै रमाइलो । जोडी मिलेर बिहे मंसिरमै बिहे भैहाल्यो भने त यसै रमाइलो, भएन भने पनि झन् रमाइलो ।

किनकै पुसको अन्तिम हुन थालेदेखि फेरि बिहेकै कुरा हुन थाल्छ । मंसिरमै बिहे भैहाल्यो भने पुसको अन्तिमसम्ममा त रमाइलो पनि सकिन्छ । बिहे नभएमा त अहिलेकै रमाइलो फेरि दोहोर्याउन पाइन्छ । त्यसैले बिहे नभएकालाई झनै रमाइलो ।

बिहे हुन लागेका, भर्खर बिहे भएका र पहिल्यै बिहे भएर ‘एनिभर्सरी’ मनाउनेलाई मंसिर महिना उल्कै रमाइलो । नयाँ जोडी खोजिदिने, बिहे गरिदिने र बिहेको निम्तो मान्न जानेलाई पनि उत्तिकै रमाइलो । कसैगरी पनि यसमा नपर्ने अरु मान्छेलाई चाहिँ के रमाइलो भन्नुहोला । अरुलाई त पिकनिकको रमाइलो । मंसिरमा हरेक शनिबार र बिदाको दिन पिकनिक जाने लहर बढेको छ । आफ्नो बिहे पनि हुन नसकेका र कसैको निम्तामा पनि नपरेका मान्छेले पिकनिकमा नाचगान र खानपिन गरेर रमाइलो मनाउँछन् ।

यति भएपछि मंसिरमा रमाइलो गर्नेमा तपाईं पनि कुनै न कुनै हिसाबले समेटिनु भयो भन्ने विश्वास छ । कसैगरी पनि पर्नु भएन भने अर्को मंसिरसम्म कुर्नुहोस् । यसपाली त मंसिर नै सकियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया