ईपीएल : इलिमिनेटरमा चितवन र भैरहवा खेल्दै

 पुस ४, २०७५ बुधबार ६:५६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार इलिमिनेटरमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्स प्रतिस्पर्धा गर्दैछन् । 

कीर्तिपुर मैदानमा एक बजे हुने खेलको विजेताले काठमाडौं किंग्स् इलेभेनसँग दोस्रो इलिमिनेटर खेल्ने मौका पाउनेछ । लिग चरणमा मात्र दुई खेल जितेर चितवनले इलिमिनेटरमा स्थान बनाएको थियो । अन्तिम खेलमा विराटनगर वारियर्स काठमाडौंसँग पराजित भएपछि रनरेटमा अघि रहँदै चितवन शीर्ष चारभित्र रहँदै इलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो । 

लिग चरणमा चितवन भैरहवा ग्लाडियटर्ससँग १२ रनले पराजित भएको थियो । लिग चरणका अन्य खेलमा चितवन ललितपुर प्याट्रियोट्सँग ११ रनले र काठमाडौंसँग ६ विकेटले पराजित भएको थियो । समूहको अन्तिम दुई खेलमा विराटनगरलाई पाँच रनले र पोखरालाई सात विकेटले हराएपछि चितवनले नाटकीय रुपमा नकआउट चरणको यात्रा तय गरेको थियो ।

भैरहवाले भने सुरुकै तीन खेल जित्दै शीर्ष चारभित्र स्थान बनाउन सफल भएको थियो । पहिलो तीन खेलमा भैरहवाले पोखरालाई चार विकेटले हराएको थियो । जुन खेलमा उसले २१६ रनको लक्ष्य पनि प्राप्त गरेको थियो । उसका रवि इन्दर सिंहले शतकीय योगदान दिएका थिए ।

त्यसपछि चितवनलाई हराएको भैरहवाले विराटनगरमाथि चार विकेटको जित दर्ता गरेको थियो । त्यसपछिका दुई खेलमा भने भैरहवा ललितपुर र काठमाडौंसँग पराजित भएको थियो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया