होली वाइन खानेहरुले कांग्रेसलाई औंला ठड्याएको सुहाएन–कांग्रेस प्रवक्ता शर्मा

 पुस ९, २०७५ सोमबार ७:५८:४१ | टेकमान शाक्य
unn.prixa.net

कांग्रेसको महासमिति बैठकमा केही नेताहरुले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै संकलन गरे ।  कांग्रेस नेता तथा कार्यकर्ताले हस्ताक्षर संकलन गरेकोप्रति लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हिन्दु धर्मको कुराले नेपाली कांग्रेसलाई नै भलो नहुने भन्दै चेतावनी दिए ।

त्यसको भोलिपल्ट कांग्रेका प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्टहरुले आफूहरुलाई धर्म र संस्कृतिको पाठ नसिकाउन भन्दै जवाफ दिए । यसै विषयमा प्रवक्ता शर्मासँग  हामीले कुराकानी गरेका छाैँ ।

धार्मिक विषय राजनीतिक दलका शीर्ष नेतृत्वले नै उठाउन थाले । यो विषयमा नेपाली कांग्रेसको स्पष्ट धारणा के हो ?

महासमिति वैठकले पारित गरेको दस्तावेजमा पनि उल्लेख छ कि, नेपाली कांग्रेस धार्मिक स्वतन्त्रतामा विश्वास गर्छ । कसैले कसैलाई धर्म परिवर्तन गराउन दबाब दिने र करकापमा पार्नेलाई कानुनी दण्ड दिनुपर्छ भन्ने हो । कुनै धर्मले कसैकाप्रति अवहेलना गरिनु हुन्न । धार्मिक स्वतन्त्रता अपनाएर राज्य अगाडि बढिरहँदा धर्म परिवर्तनको कुरामा कडाई हुनुपर्यो । सनातन कालदेखि चलिआएका र मानिआएका धर्म संस्कार र संस्कृतिहरुको जगेर्नामा सबैको साझा दृष्टिकोण हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।

धार्मिक स्वतन्त्रता त भन्नुभयो, महासमिति वैठक चलिरहँदा नेपाली कांग्रेसका धेरै नेताहरुले हिन्दु राष्ट्र चाहिन्छ भनेर हस्ताक्षर संकलन नै गरे ?

कुनै पनि नेपाली नागरिक नास्तिक हुन पनि पाउँछन्, आस्तिक पनि । यो उनीहरुको स्वतन्त्रताको कुरा हो ।

तर, हिन्दु राष्ट्र पुनर्स्थापित गर्नुपर्छ भन्ने कुराले धार्मिक स्वतन्त्रताको प्रत्याभूति गर्छ र ?

धार्मिक स्वतन्त्रता भनेकै आ–आफ्नो विचार राख्न पाउने भन्ने हो । स्वतन्त्रता आईसकेको समयमा पनि कसैले कसैलाई तैंले हस्ताक्षर गर्न पाउँदैनस् भन्ने कुरा त दुनियाँमा कतै लागू हुँदैन नि । आफ्ले चाहेको धर्मलाई मान्न पाउने, अपनाउने उसको स्वतन्त्रता त छँदै छ । यो कुरा पनि स्वतन्त्रताको वृहत्तर परिभाषाभित्रै पर्छ ।

त्यतिखेर धर्म निरपेक्ष राष्ट्र घोषणा गर्दा तपाईंहरुले पनि समर्थन गर्नुभयो । अहिले फेरि यसको विरोध गर्नुमा कुनै औचित्य छ र ?

नेपाली कांग्रेस हरेक नागरिकको स्वतन्त्रताको पक्षमा लडेको पार्टी हो । नेपालमा बहुसंख्यकको भावना जे छ, त्यो भावना बमोजिम सनातनकालदेखि चलिआएका धर्म, संस्कार र संस्कृतिलाई संरक्षणमा नेपाली कांग्रेसले जति जोड दिन्छ, त्यति नै कसैले नास्तिक भएर बस्न चाहन्छन् भने त्यसलाई पनि स्वागत गरिन्छ ।

यी विषयहरुलाई राजनीतिक बहसको विषय बनाउने भन्दा पनि कसैले धर्मलाई मुद्दा बनाएर रोजिरोटीको बाटो बनाउँछ भने त्यो मान्य हुने छैन भनिएको हो ।  

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयले नै नेपाली कांग्रेस हिन्दु धर्मलाई अंगालेर अघि बढ्न लागेको भन्नुभयो । उहाँहरुको कुरालाई तपाईले पनि प्रतिवाद गर्न भ्याउनुभयो । अब धार्मिक विषयबस्तु राजनीतिक मुद्दा बन्न खोजेको हो ?

बेनीको तातोपानी कुण्डमा चुर्लुम्म डुबेर आएर आफ्नै ढंगको निच बुझाईलाई माथि राखेर काम्रेड प्रचण्डले गर्नुभएको टिप्पणीको बारेमा म त्यति धेरै बोल्न चाहन्न । बरु, उहाँलाई नै स्मरण गराउन के भन्नु छ भने, जीवनको एउटा प्रारम्भिक कालखण्डमा काम्रेड प्रचण्ड र केपी ओलीले द्वन्दात्मक भौतिकवादमा विश्वास गर्नुहुन्थ्यो । 

धर्मलाई अफिम भन्नुहुन्थ्यो । अहिले त एउटा धार्मिक संस्थाले आयोजना गरेको धर्म प्रचारको कार्यक्रममा के के मिसाईएको, शब्दमा भन्न पनि नमिल्ने होली वाईन खाएर कांग्रेसतिर फर्किएर धर्म र संस्कृतिप्रति प्रश्न गर्ने नैतिक धरातल चाहिँ कसरी रहन्छ होला । होली वाइन खानेहरुले कांग्रेसलाई औंला ठड्याएको सुहाएन ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया