सामान्य परिवार, सरल व्यक्ति र निर्भीक गायक

 पुस १४, २०७५ शनिबार ७:२०:४५ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडौं –  कमै कलाकार छन, जो एउटा पूर्ण प्याकेज बनेर नेपाली गीत संगीतमा सदाबहार बाँचिरहेका छन् । त्यस्तै एक गायक हुनुहुन्थ्यो, बुद्धिकृष्ण लामिछाने । जसको ६३ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।

आफै गीतकार, संगीतकार अनि गायक । यी तीनवटै विधामा पोख्त भएपछि मात्रै लामिछानेले लोकगायकको परिचय बनाउनु भएको हो । झण्डै चार दशक नेपाली लोकगीतमा छुट्टै परिचय बनाउनु भएका लामिछानेको निधनले धेरैका आँखा रसाएका छन् । 

‘बुद्धिकृष्ण लामिछाने लोकगीतको एउटा प्याकेज हुनुुहुन्थ्यो । उहाँ आफै गीत लेख्नुहुन्थ्यो, गाउनुहुन्थ्यो अनि संगीत पनि आफै भर्नुहुन्थ्यो । यो क्षमता नेपाली गीत संगीतमा कमै व्यक्तिमा मात्रै हुन्छ’, राष्ट्रियसभा सांसद तथा गायिका कोमल वलीले उहाँलाई सम्झिदै भन्नुभयो ।

बुद्धिकृष्ण लामिछानेले २०३४/३५ तिर रेडियो नेपालबाट स्वर परीक्षा पास गर्नु भएको हो । स्वर परीक्षा पास गरेपछि उहाँले आफै गीत लेख्नुभयो । आफै संगीत गर्नुभयो । अनि आफैले तीन दर्जनभन्दा बढी गीत रेडियो नेपालबाट रेकर्ड गराउनुभयो । प्राय उहाँका धेरै गीतमा एकल स्वर छ ।

त्यसमध्ये १२ वटा गीतमा कोमल ओलीले पनि स्वर दिनु भएको छ । २०५२ सालमा ‘तिम्रो र मेरो मायाको डोरो बेरौँ की फन्फनी’मा पहिलो पटक कोमल वलीलाई लिएर बुद्धिकृष्णले युगल गीत रेकर्ड गराउनु भएको थियो । 

जुन धेरैले रुचाए पनि । एकपटक नेपाल टेलिभिजनको वार्षिकोत्सवमा गायिका कोमल वली र बुद्धिकृष्णले यो गीत गाएपछि चर्चा बढेको थियो । तर बुद्धिकृष्णलाई ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर’ले चर्चामा ल्याएको हो । कोमल वली र बुद्धिकृष्णबीच २०५५ सालसम्म सहकार्य भएको थियो ।

सामान्य परिवारका सरल व्यक्ति, जो आफ्नै बलबुतामा गायक बने 

काठमाडौँ उपत्यकामै घर भए पनि बुद्धिकृष्ण सामान्य परिवारमा जन्मिएका सरल स्वभावका व्यक्ति हुनुहुन्थ्यो । भक्तपुरको बागेश्वरीमा घर भएका उहाँ च्याऊ खेती व्यवसाय गर्नुहुन्थ्यो ।

जसरी उहाँ अर्थोपार्जनका लागि च्याउ खेती व्यवसाय गर्नुहुन्थ्यो । त्यसरी नै गीत संगीतका नयाँ नयाँ सिर्जना आफै गर्नुहुन्थ्यो । कहिल्यै कसैसँग रिसाउनु भएन । आश गर्नुभएन । कसैलाई दुःख दिनु भएन । त्यो भन्दा ठूलो कुरा कसैबाट केही कुराको पनि सिको गर्नु भएन ।

‘रेडियो नेपालको सेरोफेरोमा लामो समय रहेपनि बुद्धिकृष्ण लामिछाने एउटा निर्भिक व्यक्ति हुनुहुन्थ्यो । कहिल्यै कसैको गीत, संगीत र लय सिको गर्नु भएन । अनि कुनै कुरा पनि कसैबाट आश गर्नु भएन । जे जति गर्नुभयो, त्यो आफैले गर्नुभयो’, गायिका वलीले भन्नुभयो । 

झण्डै लिलामी भएन घर  !

निकै सरल स्वभावका लामिछानेका ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘फाटेको दौरा लाएर, खोले सिस्नु खाएर’ लगायत धेरै गीत चर्तित छन् । 

गीत गायनसँगै उहाँले च्याउ खेती गर्न कृषि विकास बैंकबाट ऋण लिनु भएको थियो । यो ऋण चुक्ता गर्न उहाँलाई लामो समय लाग्यो पनि । तर व्यवसायबाट आएको पैसाले गीत रेकर्ड गराउन र घर परिवार चलाउन उहाँको घर धन्नै लिलामी हुने अवस्थामा पुगेको थियो ।

तर तत्कालीन कृषि विकास बैंकमा सिइओले केही छुट दिएपछि उहाँको घर लिलामी हुनबाट जोगिएको थियो । गायनमा सफल र व्यस्त भएपनि उहाँको निजी जीवन भने अस्तव्यस्त जस्तै थियो । स्वास्थ्यप्रति खासै चासो नदिने उहाँलाई पछि ऋणकै तनावले हृदयघात भएको गायिका वली सम्झिनुहुन्छ ।

‘म उहाँको घर बेलाबेला गइरहन्थे । ऋणले गर्दा उहाँ निकै तनावमा हुनुहुन्थ्यो । पछि बैंकका तत्कालीन सिइओसँग मैले पनि कुरा गरेको थिएँ । त्यसपछि केही छुट भएपछि ऋण तिर्नुभयो । तर त्यतिबेलाको तनावले उहाँलाई पछिसम्म पनि असर ग¥यो’, लामो समय लामिछानेसँग नजिक रहेर उहाँसँगै गीत गाउनु भएकी कोमल वलीले भन्नुभयो ।   

वलीका अनुसार लामिछानेको रक्तचाप १६०÷११५ को अनुपातसम्म थियो । पछि हृद्यघातकै कारण उहाँलाई प्यारालाइसिस भयो । त्यही प्यारालाइसिसले मष्तिकघात निम्त्यायो ।

पछिल्लो वर्ष सिभिल असप्तालमा उपचारारत उहाँलाई केही दिनअघि डाक्टरकै सल्लाहमा घर लगिएको थियो । अमेरिकामा रहेका जेठो छोरा फर्केपछि घर लिएको केही दिनमै उहाँको निधन भएको हो ।

बुद्धिकृष्णबाट नयाँ पुस्ताले के सिक्ने ? 

नयाँ पुस्तामा अहिले सिको गर्ने चलन निकै धेरै छ । तर झण्डै तीन दशक नेपाली गीत संगीतमा सक्रिय बुद्धिकृष्णले भने कहिल्यै कसैको सिको गर्नु भएन ।

त्यसैले उहाँका धेरै गीत एउटै लय र भावका छन । गायिका कोमल वलीका अनुसार अहिले आफू चर्चामा आउनका लागि अरुकै सिको गर्ने र त्यसैबाट चर्चामा आउने गायक गायिकाले बुद्धिकृष्णबाट यो कुरा राम्रोसँग सिक्नुपर्छ ।

‘अहिले कसैको सिको गरेर चर्चामा आउने र गायक बन्ने चलन छ । तर यो लामो समय टिक्दैन । आज बुद्धिकृष्ण दाइ मरेर गए पनि उहाँले आफ्नै बलबुतामा बनाएको निर्भीक लोक गायकको परिचय सबैका लागि उदाहरणीय छ । यसलाई अहिलेको पुस्ताले नजिकबाट चिन्न जरुरी छ’, गायिका वलीले भन्नुभयो ।

पछिल्लो समय उहाँको उपचारका लागि केही कलाकारले मिलेर सहयोग गरेका थिए । तर त्यो उपचारका लागि पर्याप्त थिएन । सरकारले उपचारमा सहयोग गर्ने प्रक्रिया थाले पनि लामिछानेको निधन भएको पनि गायिका वलीको भनाई छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया