'हाम्रो नेतृत्व आली मुनि पल्टिने हो कि भन्ने ठूलो पीर छ'

 पुस १५, २०७५ आइतबार ११:३४:४० | धनराज गुरुङ
unn.prixa.net

नेपाली कांग्रेसको महासमिति बैठक गएको आइतबार सकियो । चार दिनका लागि भनेर बोलाइएको बैठक नवौं दिनसम्म लम्बियो । देशैभरबाट आएका महासमिति सदस्यहरुले यो नौ दिनसम्म धैर्यताका साथ बैठकमा सहभागिता जनाए ।

विशेषगरी विधानको प्राविधिक कुरामा अल्झिँदा बैठक लम्बिन पुग्यो । सैद्धान्तिक पक्षहरु जस्तै राजनीतिक प्रतिवेदन, सांगठिन प्रतिवेदन, आर्थिक प्रतिवेदन समयमै आएर छलफल भयो ।  तर विधान संशोधनको सन्दर्भमा भने बैठकमा गहन छलफल नै हुन पाएन ।

पदाधिकारी कति जना राख्ने, त्यसमा निर्वाचन गर्ने कि मनोनित गर्ने भन्ने विषय टुंगो नलाग्दा समयमै विधान बैठकमा पेश गर्न सकिएन । यो नेतृत्वको गम्भीर कमजोरी हो ।  

महासमिति बैठक सबैलाई थाहा थियो, २९ गते बस्छ भनेर । यो पूर्व निर्धारित नै थियो । तथापि बैठकको सुरुमै विधान दिन नसक्नु भनेको नेतृत्वको असक्षमता हो । फेरि पनि नेतृत्वको असक्षमता हामीले हेर्यौं । सयमै विधान टुंगो लगाउने विषयमा कमजोरी भयो । नेतृत्वले अल्छिपना गर्यो । नेतृत्वले चुस्त ढंगबाट प्रस्तुत गर्न सक्नु पथ्र्यो । त्यसमा चुक्यो । 

नेतृत्व भनेको त क्षमतावान हुनुपर्छ, परेका बेला गाँठो फुकाउन सक्ने हुनु पर्छ । तर हाम्रो नेतृत्व पटकपटक असक्षम देखिएको छ । हुन त गएको चुनावमा पनि नेतृत्व कति असक्षम थियो भन्ने देखि सकेकै हौं । विशेषगरी विधानका सन्दर्भमा महासमिति सदस्यहरुलाई उपेक्षा गरियो । घाम ताप्न मात्रै बोलाइएको भन्ने जस्तो व्यवहार नेतृत्वबाट भयो ।  

राजनीतिक, आर्थिक तथा सांगठिनक प्रतिवेदनमा महासमिति सदस्यहरुले चासोका साथ भाग लिने अवसर पाए पनि विधान समयमा नआउँदा कतिपय प्रतिनिधि विधान नै नहेरी घर फर्कन पर्यो । यस्तो हुनु हुन्न थियो । विधान हेर्न नपाउँदा उहाँहरुको गुनासो रहने स्वभाविक हो ।  

विधानमा रिजर्भेसन कायमै

नेपाली कांग्रेसको विधान केन्द्रीय समितिले ढिलै भए पनि सर्वसम्मत सहमति जुटाएर महासमितिमा पेश गरेको हो । अब कांग्रेसमा १ सय ६७ केन्द्रीय समिति रहने छ भने १४ पदाधिकारी रहने छन् । जसमध्ये कोषाध्यक्ष बाहेक सबै महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित हुनैपर्ने व्यवस्था बनाइएको छ ।

यस्तै अब आठ जना सहमहामन्त्री हुने भएका छन् । त्यसमा महिला, मधेसी, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम, खस–आर्य र पिछडिएको क्षेत्रसहितका क्लस्टरबाट निर्वाचित भएर आउनु पर्ने व्यवस्था हामीले विधानमै उल्लेख गरेका छौं । 

दक्षिण एसियामै सबै क्लस्टर, जातीय क्लस्टरलाई समेटेर हामीले जस्तो नेपालको संविधान उस्तै कांग्रेसको विधान बनाउन सफल भएका हौं । हामीले भन्दैआएको समावेसी विधानमा  नै लिपिबद्ध गराएका छौं ।

विपी कोइरालाले विधानमा उल्लेख नभए पनि समावेशीता कार्यान्वयनमा गर्नु भएको थियो भने अबदेखि कांग्रेसको विधानमै यस्तो व्यवस्था राख्न हामी सफल भएका छौं ।  

भलै विधानमा रहेका कतिपय विषयमा म लगायत हामी केहीको रिजर्भेसन थियो । तर केन्द्रीय समितिले पारित गरिसकेपछि हाम्रो रिजर्भेसन यो छ भन्दै हिँड्नु भएन । हामीले आफ्नो रिजर्भेसन अहिले थाती राख्नु परेको अवस्था हो । 

नेतृत्व परिवर्तन आवश्यक  

विधानमै अब कांग्रेसमा उमेरहद कायम गर्नु पर्छ भन्ने हाम्रो आवाज अस्वीकृृत भयो । हामी के चाहन्छौं कि नेतृत्व क्षमतावान होस् । नेतृत्व निर्णय दिन सक्ने होस् । प्रतिकूल परिस्थितिलाई पनि अनुकूल बनाउन सक्ने होस भन्ने चाहन्छौँ ।  

नेतृत्व कतिसम्मको सक्षम छ भन्ने त दुनियाँले देखेकै कुरा हो । फेरि दोहोर्याएर मैले  भनिरहनै पर्दैन । तर आगामी महाधिवेशनबाट भने कांग्रेसले सक्षम र सबल नेतृत्व पाउने छ । हामी त्यसका लागि तयारीमा छौं । महासमिति बैठकमा आउनुभएका प्रतिनिधिहरुले देखी हाल्नुभएको छ नि नेतृत्व कति सम्मको क्षमतावान रहेछ भन्ने । अबको महाधिवेशनमा नेतृत्व चेन्जको विकल्प छैन । र महाधिवेशनले त्यसको टुंगो लगाइदिनु पर्छ ।  

७० वर्ष माथिका नेताहरु अब रिटायर्ड लाइफ बिताउनुस् । यत्रो वर्षसम्म पार्टीमा योगदान दिनुभयो अब विश्राम लिनुस भनेर हामीले भन्दै आएका छौं । उहाँहरु हाम्रो अभिभावकहरु हुनुहुन्छ । अब पनि खेतमै जोतिइरहनु पर्दैन । खट्न सक्नुहुन्न, विश्राम लिनुस, दुःख पाउनुहुन्छ भन्दा होइन मै खेत जोत्न जान्छु भन्नेलाई हामी के भन्न सक्छौं र ? हामीले त सम्झाएकै हो नि ।

सम्झाउँदा सम्झाउँदै पनि नमानेर खेत जोत्न तम्सिँदा कतै आलीमुनी आफै पल्टिनुहुन्छ कि भन्ने बढो पीर छ हेर्नुस् हामीलाई । हाम्रो अभिभावक पल्टिनु भनेको स्वभाविक रुपमा हामीलाई क्षति हुनु हो । हामी मर्कामा पर्ने हो ।

त्यसैले यो विषयमा हामी सबै गम्भीर हुनुपर्ने थियो । तर यो विषय पनि विधानमा समेट्न हामी असफल भयौं । अहिले यो इस्यु हराएको जस्तो देखिए पनि फेरि यसले प्रवेश नपाउने भन्ने होइन । पटकपटक उठिरहन्छ । 

दुःखद पक्ष

यस्तै केन्द्रीय पदाधिकारी सदस्यहरु पनि महासमिति सदस्य बन्न तल्लो तहबाटै निर्वाचित हुनुपर्छ भन्ने विषयमा आवाज उठायौं । यो विषयले पनि अहिले महत्व पाएन । केन्द्रीय पदाधिकारीहरु अहिले स्वतः महासमिति प्रतिनिधि बन्ने व्यवस्था छ ।

अबदेखि तल्लो तहबाटै निर्वाचित भएर आउनु पर्छ भनेर म लगायत शेखर कोइराला, गगन थापा र प्रदिप पौडेलले आवाज उठाएकै हो । तर केन्द्रीय सदस्यको त्यत्रो संख्यामा हामी ४ जनाले मात्रै बोलेर हुने कुरा पनि भएन ।  

प्रजातान्त्रिक पार्टीमा तल्लो तहबाटै निर्वाचित भएर आउनु राम्रो हो । तर मलाई थाहा छैन खोइ किन यो प्रावधान राख्न मानिएन । केन्द्रीय समितिबाटै पारित भएको कुरालाई फेरि मेरो असहमति छ भन्दै हिँड्नु पनि भएन । तर यो दुःखद पक्ष भने हो । 

महासमिति बैठक भनेको विशेष गरेर महाधिवेशनको वर्ष बाहेक हरेक वर्ष हुनु पर्ने हो । यो बैचारीक बहस गर्ने थलो हो । नीति, कार्य नीति र रणनीति तयार गर्ने थलो हो ।

हरेक वर्ष भएको भए त यति धेरै हो हल्ला हुने थिएन । हाम्रो विधान त प्रत्येक वर्ष महासमिति बैठक हुनु पर्छ भनेको छ । तर यसमा पनि नेतृत्व चुक्दा बैठक लामो समयसम्म पनि हुन नसकेको यथार्थ हो । 

पाठ सिक्नु जरुरी

अब भने पुरानो संरचनामा रहेको कांग्रेस नयाँ संरचनामा गएको छ । गाउँ टोलदेखि प्रदेश र केन्द्रसम्मै हाम्रा समितिहरु बन्ने छन् । 

अहिले नेकपा नेतृत्वको सरकारले शुशासन दिन सकेको छैन, हत्या, हिंसा बलात्कारका घटना बढेको बढ्यै छ । भ्रष्टाचार, महंगी बढेको छ । नियन्त्रण हुन सकेको छैन । अब भने कांग्रेस सडक र सदन दुबै ठाउँबाट सशक्त आवाज उठाउने गरि एक भएर आएको छ । 

महासमिति बैठक अस्तव्यवस्त जस्तै रह्यो । तर यसबाट पाठ सिकेर आगामि दिनमा भने चुस्त दुरुस्त बनाउने कुरामा हामीले ध्यान दिनु जरुरी छ ।

अब कांग्रेस एक ढिक्का भएर हिँड्छ भन्ने सन्देश महासमितिले दिएको छ । अब चुस्त काग्रेस, दुरुस्त कांग्रेस, सबल कांग्रेस र सशक्त कांग्रेसको रुपमा अघि बढ्छ । 

(कांग्रेसका युवा नेता गुरुङसँग उज्यालाेका लागि नवराज फुयाँलले गरेकाे कुराकानीमा आधारित ।)


 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

धनराज गुरुङ

गुरुङ नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य हुनुहुन्छ । 
 

तपाईको प्रतिक्रिया