आफ्नो सुविधाको २० प्रतिशत रकम मासिक रुपमा असहायलाई दिने खापर गाउँपालिकाका अध्यक्ष शाहीको घोषणा

 पुस १५, २०७५ आइतबार १९:३२:२३ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुराको जिल्लाको स्वामीकात्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरञ्जिवी शाहीले गाउँपालिकाबाट आफूले पाउने सुविधाको २० प्रतिशत रकम गाउँपालिकाभित्र रहेका अनाथ, असहाय, अपाङग बालबालिकाहरुका लागि सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले गाउँपालिकाभित्र रहेका गरिब, असहाय, अनाथ बालबालिकाको पोषण, शिक्षा र पठन–पाठनलगायत कुरामा खर्च गर्ने गरी सहयोग गर्ने घोषणा गर्नुभएको हो । गाउँपालिकाको वडा नम्बर पाँच मिगुमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले यस्तो घोषणा गर्नुभएको हो । 

स्वामीकात्तिक खापर गाउँपालिका वडा नम्बर ५ मिगुकी स्थानीयवासी ३३ वर्षकी शिवु महताराको मृत्यु भएको आइतबार एक वर्ष पुगेको थियो । त्यस अवसरमा आयोजना गरिएको एक कार्यक्रममा मृतकका छोराछोरीका लागि २५ हजार रुपैयाँ प्रदान गरेर यस्तो घोषणा गर्नुभएको हो ।

गाउँपालिकाको सबैभन्दा दुर्गम मानिने मिगु गाउँकी महतारा प्रसुति भएर सन्तानको जन्म दिन त सफल हुनुभयो तर आफूले संसार छोडेर जानुभयो । प्रसुतिपछि अत्याधिक रक्तस्राब भएर उहाँको ज्यान गएको थियो । घरबाट स्वास्थ्य संस्थामा पुग्न झण्डै ६ घण्टाको बाटो हिँड्नु पर्दथ्यो । सुडेनीको भरमा प्रसुति गराएपछि बच्चा बाँचे पनि आमाको ज्यान गयो र चार बालबालिका टुहुरा भए ।

जन्मिएको एक दिनमै आमा बितेपछि गाईभैँसीको दूध ख्वाएर हुर्काइएका एक वर्षका सञ्जिव महताराको पोषणको अवस्था नाजुक देखेपछि अध्यक्षले सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया