म कुनै गुटमा छैन, विरोध गरेको होइन

 पुस १६, २०७५ सोमबार १२:२१:२० | भीम रावल
unn.prixa.net

पार्टी एकीकरणपछि हामी छिट्टै बैठक बस्नुपर्थ्याे । तर ढिलो बस्यो । यो बिलम्ब हुनु उचित भएन भन्ने कुरा सबै नेताहरुले महसुस गर्नु भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याएको राजनीतिक प्रस्तावमा पनि बैठक ढिलो भयो भन्ने स्वीकार गरिएको छ ।
 
ढिलै भए पनि सरकार र पार्टी सञ्चालन, पार्टी एकता र यसबीचमा भएका सम्पूर्ण घटनाक्रमहरुको समीक्षा गर्ने, त्यसका सबल, दुर्बल पक्ष केलाउने र त्यसको आधारमा आगामी दिनमा पार्टी र सरकारलाई प्रभावकारी सञ्चालन गर्ने विषयमा सबै स्थायी समिती सदस्यले जोड दिनु भएको छ । अहिलेको अवस्थामा पार्टी र सरकार सञ्चालनका विषयमा हामी स्थायी समिती सदस्यले गरेको समीक्षाले नेतृत्वलाई सहयोग गरेको हाम्रो विश्वास छ ।

हामी धेरै लामो समयदेखि सामूहिक बल र बुद्धिले काम गर्दै आएका छौं । राजनीतिक प्रतिवेदन सामान्यतया केही नेताहरुसँग परामर्श गरेर दुई जना अध्यक्षले ल्याउनुभयो । तर स्थायी समिती सदस्यहरुको सामूहिक विवेक, उहाँहरुको आफ्ना दृष्टिकोण ध्यानमा राखेर अध्यक्षको प्रतिवेदन परिमार्जनसहित पारित भएको छ ।

सामूहिक विवेकको उपयोगले नै विगतका दिनमा पनि राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेर धेरै सफलता हासिल गरेका छौं । आगामी दिनमा पनि त्यस्ता सफलता हात पार्न सकिने हाम्रो विश्वास छ ।

हामीले राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गर्‍याैँ । तर के के बुँदामा परिमार्जन भए, त्यो आन्तरिक छलफलकै क्रममा छन । आशा छ, पार्टी र सरकार सञ्चालनका क्रममा नेतृत्वले त्यसलाई व्यावहारिक बनाउनेछ ।

हामीले परिमार्जनको माग गरिरहँदा कुनै विरोध गरेका भने होइनौं । बाहिर विरोध गरेको, असन्तुष्टि चुलिएको, गुटगत विवाद चर्किएको भन्ने कुरा जसरी आएको छ, सत्य त्यो होइन । बैठकमा विचार विश्लेषण हुन्छ । यो स्वभाविक हो ।

नेकपाको सिद्धान्त र अहिलेका विषय

स्थायी समिती बैठकमा केही विषयमा पर्याप्त छलफल हुनुपथ्र्यो । तर समय अभावले हुन सक्छ, ती विषयमा गहिराईमा पुगेर छलफल हुन सकेन । यसैका विषयमा मैले आफैंले पनि १४ पृष्ठ लामो लिखित धारणा राखेको थिए । मैले उठाएका मूलभूत विषयमध्ये पहिलो कुरा हो जनमत र अबको बाटो ।

चुनावमा हामीले जसरी नागरिकको विश्वास जितेर दुई तिहाई सरकार बनाउने सफलता हात पार्‍यौं । देशमा विकास र परिवर्तन ल्याउने यो ठूलो आधार हो । यसलाई गुम्न दिनु हुँदैन ।

नेपालको कम्युनिष्ट इतिहासमा हामीले प्राप्त गरेको सफलता अवसर विगत र भोलिका दिनमा सायदै भेटिन सक्छन् । नागरिकले हामीलाई जसरी भरोसा गरेर विश्वास दिलाएर सरकारमा पठाएका छन्, यसको ठूलो अर्थ र जिम्मेवारी छ ।

यो जिम्मेवारी पूरा गर्न हामी चुक्नु हुँदैन । किनकी हामीले हाम्रो राष्ट्रियता, नागरिकको अधिकार प्राप्ति र त्यसको रक्षा, विकास र समृद्धिको आकांक्षा पूरा गर्नुपर्छ भनेर पटक पटक प्रतिवद्धता व्यक्त गरेका छौँ । 

त्यसको उपलब्धि कति भयो ? यसको तथ्यगत ढंगले विश्लेषण गर्न आवश्यक छ । यदि व्यवस्थित रुपमा हाम्रा मुद्दामा हामी केन्द्रित हुन सकेनौं, वैज्ञानिक व्यवस्थापनमा अगाडि बढ्न सकेनौ भने समय घर्किन्छ । भोलि यो अवसर पनि गुम्न सक्छ । यो कुरामा मेरो जोड रहँदै आएको छ ।

हामीले चुनावमा घोषणापत्र बनाएका छौं । पार्टी एकताका लागि कार्यदल गठन गरेका छौं । हाम्रा घोषणापत्र र एकताको कार्यदलमा नागरिकको विश्वास छ । यो विश्वासले हामीले कति जोगाइरहेका छौं ? हामीले सरकार चलाइरहँदा कति सफलता हात पार्यौं ? कति उद्देश्य पूरा गर्‍यौं ? 

घोषणापत्रमा लेखिएका कति कुरा पूरा गर्‍यौं ? कति पूरा गर्न बाँकी छ ? हाम्रो उद्देश्यमा अगाडि बढ्दै जाँदा के कस्ता अवरोध आए ? ती चुनौती पार गर्न कसरी अगाडि बढ्ने ? यसको गम्भीर समीक्षा गर्नुपर्ने विषय मैले उठाउँदै आएको छु । 

अर्थात अरु राजनीतिक शक्तिहरुसँग हाम्रा समीकरण, विरोध वा समर्थनका चरणहरु अर्थात त्यसका रुपहरु के हुन सक्छन ? यसको समीक्षा गरौं भनेर मैले बैठकमा उठाएको विषय हो । यो दोश्रो कुरा । 

तेश्रो कुरा, यसबीचमा घटेका कतिपय घटनाक्रमको यथोचित समीक्षा गरौं भन्ने हो । जस्तै उदाहरणका लागि, सरकारमा हामी कम्युनिष्ट छौं । सबैभन्दा ठूलो दल बनेर सरकार चलाइरहेका छौं । यो जनमतबाट हामीले विगतमा सामन्ती व्यवस्थाले हामीमाथि थोपरेका गलत कुराहरुबाट मुक्त हुनुपर्‍याे नि । 

तर यसबीचमा गोरखा भर्तीमा महिलाहरु पठाउने कुरा थियो । त्यस्तै हाम्रो संविधान, संयुक्त राष्ट्रको बडापत्र, असंग्नता, पञ्चशीलका सिद्धान्तको आधारमा हामीले स्वतन्त्र परराष्ट्र नीति अपनाउने हो । तर भएन । सैन्य अभ्यास गर्ने कुरा आयो । यो हाम्रो परराष्ट्र नीति विपरित थियो । सरकार पछि हट्यो । यसको प्रशंसा भएको छ । 

यसको असरका रुपमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सीमाबारे अध्ययन गर्न  गठित प्रबुद्ध व्यक्ति समूह इपिजीको प्रतिवेदन बुझ्न अस्वीकार गरेको विषय आयो । यस विषयमा थप बहस आवश्यक छ । यसको वास्तविकता नेपाली जनतालाई थाहा हुनुपर्छ ।

तर पछिल्लो समय जतिपनि घटनाक्रम भए । यसको समीक्षा खोई ? यसमा पार्टीको धारणा के हो ? भनेर एक दुई पटक होइन, पटक पटक बहस छलफल गर्नुपर्छ भन्ने मेरो जोड हो ।

कतिपयले यसलाई अनावश्यक भन्लान् । तर होइन । पार्टी हाम्रो सिद्धान्त र विचारमा अघि बढेको छ कि छैन भनेर विचार गर्न विधानले नै निर्देशन दिएको छ । यो मेरो कर्तव्य पनि हो ।

म व्यक्तिगत रुपमा सरकारको समीक्षा गर्न असमर्थ छु । तर स्थायी समिती बैठकमा भएको छलफल अनुसार हाम्रा उपलब्धी र आगामी जिम्मेवारीका विषयमा राम्रोसँग छलफल गर्न जरुरी छ ।

अहिलेको अवस्थामा सरकार र पार्टी दुवैका लागि देखिएका चुनौती के के हुन र तिनको पहिचान कहिलेसम्म गर्ने ? अनि हामीले नागरिकसामु गरेको प्रतिबद्धता पूरा गर्न कस्तो बाटो लिने ? यो विषयमा हामी स्पष्ट हुनुपर्छ । यो अन्यौलता हामीले चिर्नुपर्छ । पार्टी कार्यकर्ता र नागरिकलाई हामीले स्पष्ट पार्न सक्नुपर्छ । यसको विकल्प छैन ।

गुट छैन, विरोध गरेको होइन ! 

दुई हप्ता चलेको बैठकमा धेरै नेताहरुले आफ्नो भनाई स्पष्ट रुपमा राखेका छन् । सबैलाई २० मिनेट दिइएको समयमा धेरै कुरा आएका छन । तर बोलीको आधारमा गुटको कुरा गर्ने, गुटसँग लिएर जोड्नु राम्रो होइन ।

म व्यक्तिगत रुपमा पनि कुनै गुटमा छैन । तर असन्तुष्टि सबैमा हुन सक्छ । विगतमा महाधिवेशन हुँदा नेता माधव नेपालको प्यानलबाट पदाधिकारीमा निर्वाचित भएँ । त्यसपछि पटक पटक सरकारमा सहभागी हुँदा मैले अध्यक्षलाई सहयोग गरेको छु ।

अहिले पार्टी एकता भएको छ । एकतापछि गुट छैन । म गुटमा विश्वास गर्दिन । गुण र दोषका आधारमा विश्लेषण गर्ने अधिकार मसँग सुरक्षित छ ।

गुट बनाउन खोज्नु, फेरि गुटकै कुरा गर्नु जनताका लागि धोका हुन सक्छ । धेरैले मलाई चर्को असन्तुष्टि राख्यो भन्छन् । मैले चर्को कुरा गरेको होइन ।
 
मैले अहिलेका आवश्यकता र भइरहेका घटनाक्रमबारे तथ्य पेश गर्छु । कुनै विषयमा विना शंका आफ्नो स्पष्ट धारणा राख्नु चर्को होइन । सत्य र स्पष्ट बन्नु हो । यो देश र पार्टीले मलाई यही निर्देशन गरेको छ । 
 
हालै काठमाडौंमा भएको एउटा सम्मेलनमा सरकारले सहभागिता जनायो । तर यो हाम्रो देशको अनुकूल छ कि छैन ? यसको विश्लेषण कति भयो ? सम्मेलन आयोजकमा जुन संस्था छ, त्यो संस्थाको छवि के हो ?

जापानका सडक गल्लीमा नेपाली युवालाई माग्दै हिँडाउने हो ? अनि सरकार आफै संलग्न भएर कुनै धर्म विशेषलाई साथ दिनु राम्रो हो कि होइन ? सरकारले त आफ्ना मर्यादाहरु पनि पालना गरेको देखिएन भनेर मैले बैठकमा बोलेको छु ।

हाम्रो पार्टी देश र जनताप्रति समर्पित छ । कहिलेकाँही गल्ती हुन्छन् । अब यस्ता किसिमका त्रुटि दोहोर्या‍उन नहुनेमा हामी प्रतिबद्ध हुनुपर्छ । यसको अर्थ कसैले आत्मालोचना गर्नुपर्छ भन्ने होइन । 

तर अब हामीलाई धेरै छुट छैन । विगतजस्तो लामो समयपछि बैठक बस्ने, छलफल गर्न ढिलाई गर्ने, बहस गर्नबाट पन्छिनु हुँदैन । अहिले पनि देश र जनताका आधारभुत आवश्यकता पूरा गर्न धेरै काम गर्न बाँकी छ ।

(नेकपाका स्थायी समिति सदस्य रावलसँग विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)


 

अन्तिम अपडेट: चैत १५, २०८०

भीम रावल

रावल नेकपाका स्थायी समिति सदस्य हुनुहुन्छ ।

1 Comments

  • David

    Dec. 31, 2018, 12:38 p.m.

    नेपाललाई कम्युनिस्टको प्रयोगशाला गर्ने क्रान्ति भनेर निमुखा नागरिक मार्ने अनि रजाईं गर्ने यो थलो कसैको विर्ता हो र ?

  •  0 Reply

तपाईको प्रतिक्रिया