‘पिक एण्ड ड्रप’ नियमले सुविधाभन्दा सास्ती धेरै !

 पुस १७, २०७५ मंगलबार ११:५:२९ | विना न्याैपाने
unn.prixa.net

हरेक दिन बालाजु नजिकै म्हेपीबाट जाउलाखेल ओहोरदोहोर गर्ने मलाई दुईवटा गाडी चढ्नुपर्छ । म बस्ने ठाउँ नजिकैको सरकारीधारा बन्ने ठाउँबाट रत्नपार्क जाने माइक्रोबस चढ्ने गर्छु । रत्नपार्क ओर्लेर जाउलाखेलसम्म अर्को माइक्रोबस चढ्नुपर्छ । सुन्धाराभन्दा रत्नपार्क जाने गाडी चढ्न मलाई सहज हुन्छ ।

एक दिन  ९ः४५ मै घरबाट निस्केँ । सरकारीधारामा आधा घण्टा पर्खिंदा पनि रत्नपार्क जाने गाडी आएन । १० बजेर १५ मिनेट गैसकेको थियो । त्यसपछि  सुन्धारा जाने गाडीमा नै चढेँ । गाडी जाम त्यति थिएन, त्यसैले आज त समयमा नै पुग्ने भएँ भन्ने लागको थियो । 

रत्नपार्कको सट्टा सुन्धारा चल्ने माइक्रोबसमा चढ्दा भृकुटीमण्डप झर्ने गर्छु । तर त्यो दिन माइक्रोबस भृकुटीमण्डपमा रोकिएन । मलगायत भृकुटीमण्डप झर्नुपर्ने यात्रुले गाडी रोक्न आग्रह गर्यौँ । तर माइक्रोबसले रोकेन । एकैपटक सुन्धारा पुगेर मात्र रोकियो ।

गाडीमा भएका सबैजना कराए, ‘यो के गरेको भनेर ?’ तर चालकको पनि के नै लाग्थ्यो र ? ट्राफिक प्रहरीले नै रोक्न दिएको थिएन । सुन्धारामा ओर्लिएपछि सिधै जाउलाखेल लगनखेल चल्ने माइक्रोबस पाइने ठाउँमा पुगेँ । त्यहाँ पनि अवस्था उस्तै रहेछ । पहिले गाडी लाग्ने ठाउँमा गाडी नै थिएन, ट्राफिक प्रहरीले रोक्न दिएको थिएन । मैले एकजना ट्राफिक प्रहरीलाई जाउलाखेल जाने गाडी कहाँ पाइन्छ भनेर सोधेँ । उनले उत्तर दिए, ‘२७ नम्बरमा जानू ।’ 

म त्यहाँबाट २७ नम्बर स्टेशनमा गएँ, तर गाडी रोकिएन । फेरि अर्काे ट्र्राफिक प्रहरीलाई सोधेँ, उनले माथितिर होला भने । ट्राफिक प्रहरीको कुरा सुनेर एक मन त निकै रिस उठेको थियो, तर त्यो रिस देखाउने ठाउँ थिएन ।  

अर्को ट्राफिक प्रहरीलाई सोधेँ, ‘सर, के भैरहेको छ ? कसैलाई थाहा छैन, कसैले माथि हो भन्ने त्यहाँ जाँदा गाडी नै पाइँदैन, कम से कम साँचो कुरा त बताउने गर्नुपर्यो हामी यात्रुलाई ।’ 

मजस्तै प्रश्न गर्ने अरु पनि थिए । त्यही भएर होला उनले नम्र भएर भने, ‘यहाँ रोक्न पाइँदैन अब १४ नम्बरमा जानुस । १४ नम्बर स्टेशन रत्नपार्कभित्र थियो । म त ढिला नै भए पनि जान सक्थेँ, तर मेरो नजर मभन्दा अगाडि रहेका वैशाखी टेकेका वृद्ध दम्पतीमा पर्यो । जो गाडी रोकन भन्दै सडकको छेउमा उभिएका छन् । तर कसैले सुनेको छैन । मलाई पनि हतार थियो, फेरि मैले भनेर गाडी रोकिनेवाला पनि थिएन । त्यसैले केही गर्न त सकिनँ । नजिकै रहेका ट्राफिक प्रहरीलाई अरुलाई नदिए पनि उहाँलाई त गाडीमा चढाइदिनुस भनेर म त्यहाँबाट हिँडेर फेरि रत्नपार्क पुगेँ र गाडी चढेँ ।

गाडीमा सबैको गुनासो एउटै थियो, पहिले रोक्न पाउने ठाउँमा अहिले गाडी रोक्न नदिएर सरकारले गर्न खोजेको के हो ? यतिसम्म नि दुःख दिने ? एकजना बिरामी हुनुहुन्थ्यो थापाथली झर्ने, उहाँको पनि गुनासो त्यस्तै थियो । ‘सुन्धाराबाट हिँडेर रत्नपार्क आउन २० मिनेट लाग्यो, यति धेरै त दुःख दिन त हुँदैन नि’ भन्दै उहाँ आक्रोश पोख्दै हुनुहुन्थ्यो । मैले सुनेर मात्रै साथ दिन सकेँ ।

काठमाडौं महानगरपालिकाले पुस २ गतेदेखि टुँडिखेल आसपासका केही निश्चित ठाउँमा मात्रै यात्रु ओराल्न र चढाउन मिल्ने नयाँ व्यवस्था गरेपछि धेरैजनालाई सकस भएको छ । पहिले गाडी पाइने ठाउँमा अहिले गाडी हुँदैनन् । गाडी चढ्ने ठाउँमा पुग्न र ओर्लेर अर्को ठाउँमा जान धेरैबेर हिँड्नुपर्छ ।

यात्रु ओराल्न र चढाउन मात्र पाइने, रोक्न नपाउने भनेर ‘पिक एण्ड ड्रप’ नियमले निश्चित ठाउँमा मात्र गाडी रोक्न पाउने भनेर तोकेको छ । जसले गर्दा यात्रुहरुलाई बस भेट्टाउन समस्या भएको छ भने गाडी चालकलाई यात्रुहरुले चढ्न नपाउँदै गाडी चलाइहाल्नुपर्ने अवस्था आएको छ । यसले गर्दा धेरैलाई समस्या परेको छ । अपाङ्गता भएका, अशक्त, वृद्धवृद्धा तथा बालबालिकाले झन् बढी सास्ती खेप्नुपरेको छ ।  

त्यसमाथि ‘पिक एण्ड ड्रप’ नियमले ट्राफिक जाम  घटाएको भनिए पनि सधैँजसो गाडी चापमा नै चलेका हुन्छन् । लैनचौरबाट जमलसम्म जहिल्यै  २० मिनेट जाममा बस्नै परेको हुन्छ । अनि सुन्धारादेखि लौनचौर पार नहुँदासम्म थोरैमा पनि ३० मिनेट जाममा बस्नै परेको हुन्छ, अनि कसरी भयो ट्राफिक जाम कम ? 

काठमाडौं महानगरपालिकाले ‘पिक एण्ड ड्रप’ प्रभावकारी भएको दावी गरिरहँदा यात्रु भने रुष्ट देखिएका छन  । ‘पिक एण्ड ड्रप’ नीतिले झन् सास्ती भएको भन्दै भुकुटीमण्डप वरपर यात्रुहरुले प्रदर्शन पनि गरिसकेका छन । तर सुनुवाइ भएको छैन । 

पहिले टुँडिखेल, लैनचौर हुँदै गोंगबु, सामाखुशी चल्ने सार्वजनिक गाडी भृकुटीमण्डप, सुन्धारा अनि जमलमा रोकिन्थे । तर अहिले सिधै एनएसीमा मात्रै गाडी रोकिन्छ । जमलमा गाडी रोकिँदैन । जसले गर्दा जमलमा ओर्लने र त्यहाँबाट गाडी चढ्ने सयौँ यात्रुले समस्या भोगिरहेका छन् । अनि बस स्टपमा यात्रुहरु चढाउनको लागि समेत अलिबेर रोक्न नपाउँदा खाली बस कुदाउनुुपरेको बस चालकको गुनासो छ ।

नयाँ नियमअनुसार टुँडिखेलबाट त्रिपुरेश्वर हुँदै कालिमाटीतर्फ जाने गाडीले राष्ट्रिय सभागृहको दायाँबायाँको भृकुटीमण्डपको स्टप र त्रिपुरेश्वर स्टप, टुँडिखेलबाट लैनचौर हुँदै नयाँबजारतर्फ जाने गाडीले नेपाल वायु सेवा निगम अगाडि र लैनचौरस्थित दूग्ध विकास संस्थान अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउँछन ।

टुँडिखेलबाट विश्वज्योति, घण्टाघर, कमलपोखरी, नागपोखरी जाने गाडीले नेपाल वायुसेवा निगम र रत्नपार्क तथा टुँडिखेलभन्दा बाहिर जाने गाडीले रत्नपार्क अगाडि र टुँडिखेलभन्दा बाहिरको स्टपमा मात्र यात्रु ओराल्न र चढाउन पाउँछन् ।

यस्तै टुँडिखेलबाट लैनचौर हुँदै महाराजगञ्ज र धोबिचौर जाने गाडीले नेपाल वायुसेवा निगम अगाडि र लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि मात्र यात्रु ओराल्न र चढाउन पाउँछन् ।

पुरानो बसपार्कभित्र यात्रु चढाउने र ओराल्ने गाडीका लागि पुरानो बसपार्क भित्रको स्टप र टुँडिखेल वरिपरिभन्दा बाहिर रहेको स्टप तथा लामो दूरीका ठूला यात्रुबस एकतर्फ भृकुटीमण्डप र फर्कँदा नेपाल वायु सेवा निगम हुँदै चल्ने गाडीले एकातर्फ वायुसेवा निगम अगाडि र अर्कोतर्फ भृकुटीमण्डपबाट यात्रु ओराल्ने र चढाउनुपर्ने नियम छ । 

यो नियमले धेरैलाई अलमलमा पारेको छ । कतिलाई थाहा छैन । थाहा पाउनेलाई पनि गाडी चढ्ने र ओर्लने बेला तनाव मात्रै हुने गरेको छ । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीले यात्रुको सहजताको लागि नियम ल्याएको दावी गरे पनि स्वयं यात्रुलाई नै सकस भएको छ । नयाँ नियम लगाउनेले यात्रुलाई परेको यो समस्याबारे बुझ्लान् त ?

अन्तिम अपडेट: चैत १४, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया