जुम्लाको चन्दननाथ नगरपालिकामा तनाव : नगरपालिकाको काम ठप्प

 पुस २२, २०७५ आइतबार १९:२०:२४ | नेत्र शाही
unn.prixa.net

जुम्ला – चन्दननाथ नगरपालिकामा कर्मचारीहरुले सुरक्षाको ग्यारेन्टी हुनुपर्ने भन्दै नगरपालिकाको काम ठप्प गरेका छन् ।

उनीहरुले कर्मचारीहरुको सुरक्षा नभएको भन्दै जिल्ला प्रशासनमा ध्यानआकर्षण समेत गरेका हुन् । उनीहरुले नगरपालिकाको गेट अगाडि कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर,  कर्मचारी प्रतिको दुब्र्यवहार कम गर, भन्दै नारा तथा प्रदर्शन समेत गरेका छन ।

चन्दननाथ नगरपालिकाका वडा नम्बर ३ का सचिव लोकेन्द्र मल्ललाई सेवाग्राहीले दुब्र्यवहार गरेकोलगायत अन्य मागहरुसहित जिल्ला प्रशासन कार्यालय कर्मचारी पुगेपछि सेवाग्राहीहरु सेवा लिन आइतबार बञ्चित भएका हुन् ।

बिहान झण्डै १२ बजेको समयमा चन्दननाथ नगरपालिकामा वडा नम्बर ३ का सचिव मल्लले रुँदै कार्यकक्षमा आएपछि प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको नेतृत्वमा एकाएक कर्मचारीको बैठक बसालेर निर्णय समेत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत चौलागाईको संयोजकत्वमा बसेको कर्मचारीहरुले बैठकको निर्णयमा नगरपालिका कर्मचारीहरुलाई नगरका जिम्मेवार व्यक्तिहरुबाट अपमानजनक शब्द प्रयोग गर्ने, लान्छना लगाउने, कार्यालयमा दुब्र्यवहार  तथा हिंसा गरी कर्मचारीहरुको उत्प्रेरणामा ठेस पुग्नुका साथै कार्य संचालन तथा काम गर्ने वातावरण नभएको उल्लेख छ ।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले आफू काममा बाहिर निस्केको समयमा आफूलाई जानकारीनै नगरी घटना के हो र कसरी भयो भन्ने थाहै नगरी प्रशासनमा जानु गलत भएको बताउनुभयो ।

कर्मचारीहरुले काम छोडेर बाहिर जाँदा भने उपमेयर अप्सरादेवी न्यौपाने कार्यकक्षमै हुनुहुन्थ्यो । उहाँले घटना के भयो भनेर प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुलाई बोलाउँदा समेत नगरपालिकामा छलफल नगरी प्रशासनमा जानु दुर्भाग्य भएको बताउनुभयो ।

उपमेयर न्यौपानेले कर्मचारीको सेवा सुविधामा कुनै कसुर नराख्ने तर कर्मचारीले कुरै नबुझी काम र ड्यूटीमा जिम्मेवार नभएमा राम्रो नहुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत चौलागाईले आफ्नो कर्मचारी रुँदै टेबुलमा आएपछि सुरक्षाको ग्यारेन्टी गर्न भन्दै आन्दोलन गरिएको बताउनुभयो । यता वडा नं ३ का सचिव लोकेन्द्र मल्लले आफू सरुवा भइसकेको र बुझबुझारत गर्न गएको समयमा बिना प्रमाण काम गर्न सेवाग्राहीले दबाब दिएको तथा असुरक्षाको कारण नगरपालिका आएको गुनासो गर्नुभयो ।

सेवाग्राही उपेन्द्र बुढ्थापाले एक हप्तादेखि भवन निर्माण सम्पन्न भएको सिफारिसको काम गर्न अनुरोध गरेपनि सचिवले नगरेको बताउनुभयो । सेवाग्राही सूर्य नेपालीले एक हप्तादेखि मृत्युदर्ता समेत सचिवले नगरेको भन्दै आक्रोश पोख्नुभयो ।

नगरपालिकामा तनाव  !

झण्डै दिउसो १२ बजे चन्दननाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा एकाएक ठूलो आवाज आयो । उपमेयर अप्सरा न्यौपानेले के भयो ?, भनेर कर्मचारी र स्वकीय सचिवलाई बुझ्न पठाउँदा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई ठूलो स्वरले बोलिरहनुभएको थियो ।

कर्मचारीको सुरक्षा कहाँ छ ? भनेर वडा नम्बर ३ वाट वडा नम्बर ५ मा सरुवा भएका सचिव लोकेन्द्र मल्ल ‘म असुरक्षित भएँ’ भन्दै नगरपालिकामा छिरेपछि एकाएक कर्मचारीहरु आक्रोशित भई आन्दोलित भएका देखिन्थे । मल्लले आफूलाई सेवाग्राहीले हातपात गर्न खोजोको आरोप लगाउनुभयो ।

त्यस लगत्तै उपमेयर सेजुवालले वडा नम्बर ३ का अध्यक्ष नन्दबहादुर बुढ्थापालाई फोन गरेर घटना के भएको हो भनेर बोलाउनुभयो । वडाध्यक्ष तुरुन्तै नगरपालिकामा आउनुभयो ।

त्यसपछि वडा नम्बर ३ का केही सेवाग्राही पनि त्यहाँ पुगेका थिए । उपमेयर न्यौपानेले छलफल गर्नुपर्छ भन्दै गरेको अवस्थामा एकाएक कर्मचारीहरु नाराबाजी गर्दै जिल्ला प्रशासनतिर लागेपछि ठूलो मात्रामा स्थानीय, सरोेकारवाला निकायहरु नगरपालिकामा जम्मा भएका थिए ।

कर्मचारी बाहिरिएपछि काम ठप्प भयो । त्यस लगत्तै मेयर कान्तिका सेजुवाल नगरपालिका आउनुभएको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया