डिजलको मूल्य घटे पनि गाडीभाडा घटेन, व्यवसायी भन्छन् : सरकारलाई चासो छैन, हामी तात्तिन मिल्दैन

 माघ १, २०७५ मंगलबार १५:२५:८ | अर्जुन पोख्रेल
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पेट्रोलियम पदार्थको मूल्य तलमाथि भयो कि गाडीभाडाको पनि विवाद आइहाल्ने समस्या बढेपछि सरकारले २०६५ सालको फागुनदेखि वैज्ञानिक भाडादर निर्धारण गरेको छ ।   

सरकारले २०६२ सालमा इञ्जिनियरिङ अध्ययन संस्थानका वैज्ञानिकको समूह बनाएको थियो । त्यही समूहको सिफारिसका आधारमा २०६५ सालदेखि वैज्ञानिक भाडादर लागू भएको हो । वैज्ञानिक भाडादरमा डिजलको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनेबित्तिकै भाडा समायोजन गर्ने उल्लेख छ ।

तर यातायात व्यवस्था विभागको लापर्वाहीका कारण कहिलेकाहीँ तेलको भाउ बढ्दा पनि गाडीभाडा नबढ्ने र तेलको भाउ घट्दा पनि गाडीभाडा नघट्ने समस्या देखिँदै आएको छ । यो पटक पनि पछिल्लोपटक गाडीभाडा बढेयता डिजलको मूल्य ६ रुपैयाँ सस्तो भैसक्यो तर गाडीभाडा घटेकै छैन । 

डिजलको मूल्य ६ रुपैयाँ घट्यो, भाडा घट्ने सुरसार छैन

पछिल्लो पटक भाडा समायोजन भएको असोज ७ गतेयता मंसिर १७ गते  २ रुपैयाँ, पुस ३ गते २ रुपैयाँ र  पुस १८ गते २ रुपैयाँ गरेर डिजलको भाउ प्रतिलिटर ६ रुपैयाँ  घटिसकेको छ । त्यतिबेला १ सय १ रुपैयाँ रहेको डिजलको भाउ अहिले ९५ रुपैयाँमा झरेको छ । 

गएको असोज ७ गते सरकारले सार्वजनिक गाडीको भाडा १० प्रतिशतले बढाएको थियो । दशैँ तिहार जस्ता ठूला चाडबाडको मुखैमा सरकारले चर्को भाडा बढाएको भन्दै सरकारको आलोचना भएको थियो । 

असोज १ गते डिजलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढेर १ सय १ रुपैयाँ पुगेको थियो । त्यसलगत्तै सरकारले ७ गते भाडा बढायो । त्यतिबेला डिजलमा प्रतिलिटर २५-२६ रुपैयाँ बढ्दा बल्ल भाडा बढेको भन्दै व्यवसायी रुष्ट थिए । 

सरकारले २०७२ सालको माघ १० गते भाडा समायोजन गरेको थियो । त्यत्तिबेला डिजलको मूल्य ७५ रुपैयाँ प्रतिलिटर थियो । तर २६ रुपैयाँ बढेपछि मात्रै अर्थात डिजलको भाउ १ सय १ रुपैयाँ पुगेपछि मात्रै गएको असोजमा भाडा समायोजन भएको थियो । 

यातायात व्यवसायी र सरकारबीच भाडा वृद्धिको मापदण्ड पुनरावलोकन गर्ने र भाडादर निर्धारणका सूचकको पनि अपडेट गर्नको लागि असोजमै एक समिति बनाइएको थियो । 

यातायात व्यवस्था विभागका  प्राविधिक इञ्जिनियर प्रेम सिंहको नेतृत्वमा बनेको समितिले मंसिरभित्रै प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको थियो, तर समितिले अहिलेसम्म प्रतिवेदन बुझाएको छैन । 

‘अहिले तपाईँसँग धेरै कुरा गर्न मिल्दैन हामीले प्रतिवेदनको काम गरिरहेका छौँ, बाहिर हल्ला गरिएजस्तो सजिलो काम यो होइन’, समितिका संयोजक सिंहले उज्यालो अनलाइनसँग भन्नुभयो । 

भाडा बढाउन सरकारलाई चासो छैन, हामी तात्तिन मिल्दैन : व्यवसायी

वैज्ञानिक भाडादरमा डिजलको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनेबित्तिकै भाडा समायोजन गर्ने उल्लेख छ  । तर ६ रुपैयाँ घट्दा पनि भाडा बढाउने सुरसारै छैन । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भन्नुहुन्छ, ‘गएको असोजमा समिति बनेको हो, त्यो समितिले अहिलेसम्म एउटा पनि बैठक राखेको छैन, हामीलाई परामर्शमा बोलाएको छैन, हामी त वैज्ञानिक भाडादर अनुसार नै भाडा घटाउन तयार छौँ, सरकारलाई नै चासो छैन, हामी तात्तिएर त के हुन्छ र खै ।’

भाडादर निर्धारण गर्ने सूचकमा डिजलको मूल्यको प्रभाव जम्मा ३५ प्रतिशत रहेको छ । आफूहरु अब कुनै पनि बहानामा नियम कुल्चिने कुराको विपक्षमा रहेको भन्दै महासचिव सिटौलाले सरकारको लापर्वाहीका कारण व्यवासायीमाथि दोष आइरहेको गुनासो पनि गर्नुभयो । 

विभाग भन्छ : हतार नगरौँ, प्रतिवेदन आएपछि भाडा घट्छ 

यातायात व्यवस्था विभागले पनि असोजमा गठन भएको प्राविधिक समितिले प्रतिवेदन नदिएकैले नै भाडा घटाउन नसकिएको जनाएको छ । इञ्जिनियर प्रेम सिंहको नेतृत्वमा गठन भएको समितिले प्रतिवेदन दिएलगत्तै प्रतिवेदनको आधारमा भाडा घटाउने विभागका निर्देशक गोकर्ण उपाध्यायले बताउनुभयो । 

‘समितिलाई मंसिरमै प्रतिवेदन बुझाउन भनिएको हो, तर विविध कारणले अहिलेसम्म प्रतिवेदन हामीलाई बुझाइएको छैन, अनौपचारिक जानकारीअनुसार प्रतिवेदन अन्तिम चरणमा छ, प्रतिवेदन आएपछि भाडा घट्छ’, निर्देशक उपाध्ययले भन्नुभयो । 

उहाँले विभागका थोरै कर्मचारी र धेरै जिम्मेवारी भएकाले पनि काम गर्न समस्या भैरहेको गुनासो गर्नुभयो । 

अहिलेको भाडादर यस्तो छ 

अन्तिम अपडेट: चैत २६, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया