मगरकी छोरी र दाहालकी बुहारी बीना मगरको माघे संक्रान्ति अनुभव !

 माघ १, २०७५ मंगलबार १९:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - माघ एक गतेलाई नेपालका विभिन्न तीन समुदाय थारु, मगर र हिन्दूले आफ्नो विशेष पर्वका रुपमा मनाउने गर्छन । 

यसै अवसरमा काठमाण्डौका विभिन्न ठाउँमा थारु र मगर समुदायले आफ्नो सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

मगर समुदायले टुँडिखेलमा आयोजना गरेको मकर संक्रान्ति विशेष कार्यक्रममा नेपाल सरकारको खानेपानी तथा सरसफाइ मन्त्री बीना मगर पनि मगर पोसाकमा उपस्थित हुनुभएको थियो । छाेरा प्रणव दाहाललाई पनि सँगै ल्याउनुभएकाे थियाे ।


मगरको छोरी र दाहालको बुहारी भएका कारण यो पर्वलाई उहाँले दुई तरिकाले अनुभव गर्नुभएको छ । विवाह हुनुपूर्व मगरको रुपमा र विवाहपश्चात मगर र ब्राम्हण

दुइटै समुदायको रुपमा यो पर्व मनाएको उहाँसँग रमाइलो अनुभव छ । उहाँले मकर संक्रान्तिको दिन रमाइलो हुन्थ्यो भन्दै आफ्ना बालापनका दिनहरु यसरी सम्झिनुभयो । 

'बिहानै उठेर नुहाउँथ्यौं । नुवाइधुवाई गरेपछि गाउँका सबै आफन्तहरुको घरमा जाने । ठूलाबडालाई ढोग्ने, उहाँहरुको आशिर्वाद लिने गरिन्थ्यो', उहाँले भन्नुभयाे । 

उहाँ सम्झनुहुन्छ, 'पुस माघको महिनामा बिहानै उठेर नुहाउनुपथ्र्यो त्यो नै सबैभन्दा गाह्रो लाग्थ्यो । त्यसपछि गाउँमा आफन्तहरुलाई भेट्न गएर उहाँहरुलाई ढोग्नुपर्थ्यो, त्यसपछि उहाँहरुले प्रसाद दिन्थे । । प्रसाद खान त रमाइलो हुन्थ्यो तर घरघरमा गएर सबैलाई ढोग्न अप्ठ्यारो लाग्थ्यो ।'

'मकर संक्रान्तिको लागि भनेर तरुल तथा सेलरोटीहरु पुसको अन्तिम दिनमा नै पकाइन्थ्यो तर आमाले खान दिनुहुँदैन थियो । अहिले खायो भने जुठो हुन्छ, माघीको दिनमा मात्र खाने भनेर लुकाएर राख्नुहुन्थ्यो । बिहान खानको लागि भने नुहाउनै  पर्थ्यो। त्यसपछि मात्र आमाले खानको लागि दिनुहुन्थ्यो । तर मैले कतिपटक त चोरेर पनि खाएँ । मैले चोरेर खाएको आमाले कहिल्यै थाहा पाउनुभएन’, उहाँले नोस्टाल्जिक भएर हाँस्दै भन्नुभयो ।

लामो समय घरबाट टाढिएका दिदीबहिनीहरु घर जान्छन् बुवाआमालाई भेटेर आशीर्वाद लिने गर्छन् । मनमा कसैप्रति द्वेश, घृणा छ भने उहाँहरुलाई आफनो गुनासो पोख्न पाउने दिनको रुपमा पनि आजैलाई लिने गरिन्छ । त्यही भएर पनि आफूलाई यो पर्व एकदमै मन पर्ने उहाँले बताउनुभयो ।  

एउटा मगरको छोरी बिहे गरेर ब्राम्हण परिवारमा आइसकेपछि यो पर्व मनाउनमा कुनै भिन्नता आयो कि भन्ने प्रश्नमा उहाँले दाहाल परिवार जातिगत समानताको लागि आवाज उठाउने अभियानमा आफै संलग्न भएका कारणले यो पर्व मनाउन कुनै पनि असहजता नभएको बीनाको अनुभव छ । उल्टै झन रमाइलो हुने र सबै मिलेर दुइटै पक्षको साझा महत्वका साथ यस पर्वलाई मनाउँदै आएको उहाँले बताउनुभयो, ‘विवाह गरेर पराई घर गएकी छोरीबहिनीलले माइत जाने, बुवाआमा, दाजुभाइ तथा आफन्तहरुसँग भेटघाट गर्ने अवसरको रुपमा लिइन्छ ।’ 

त्यही भएर सबै पर्वको आफ्नै विशेष महत्व हुन्छ भन्दै उहाँले भन्नुभयो, ‘आफ्ना चाडपर्व रितिरिवाज, भेषभुषालाई जोगाउनको लागि यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्छ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया