चार वर्षभित्र ८ हजार सडकको स्तरोन्नति गरिनेछः मन्त्री महासेठ

 माघ १, २०७५ मंगलबार १९:५६:३ | भावुक योगी

बर्दिया – भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुबिर महासेठले ४ वष भित्र ८ हजार सडकको स्तरोन्नति गरिने बताउनुभएको छ ।

बर्दियाको ऐतिहासिक धार्मिक स्थल ठाकुरद्वारा मन्दिर परिसरका आयोजित बर्दिया माघी तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै मन्त्री महासेठले ४ वर्षभित्र नेपालको पूर्वदेखि पश्चिमसम्म ८ हजार सडकहरु स्तरोन्नति गरिने र त्यर्स समयभित्र स्थानीय भुरिगाउँ–तेलपानी–सुर्खेत सडक बन्ने प्रतिबद्धता जनाउनु भएको हो । 

मन्त्री महासेठले बर्दिया जिल्लामा जति सडक सञ्जाल पुग्नुपर्ने थियो त्यो पुग्न नसकेकाले अहिलेको सरकारले बर्दियालाई अगाडि लैजान गम्भीर भएर सोचेकोसमेत बताउनुभयो । 

हालका ७ सय ५३ स्थानीत तहमा पर्ने साविकका गाविसहरु जोड्ने गरी कालोपत्रे सडक निर्माण गर्ने कार्ययोजनाका साथ मन्त्रालय अगाडि बढेको बताउँदै मन्त्री महासेठले ४ वर्षभित्र बर्दियाको कुना कुनासम्म कालोपत्रे सडक निर्माण गरिने विश्वास व्यक्त गर्नुभयो । 

महोत्सवका विशिष्ठ अतिथी पूर्व सिँचाईमन्त्री तथा संघिय सांसद संजयकुमार गौतमले बर्दिया जिल्लालाई तारातालदेखि राराताल जोडन आवश्यक रहेकाले भुरिगाउँ तेलपानी सुर्खेत सडक बनाउन अहिलेको सरकारले तत्काल पहल गर्नुपर्ने बताउनुभयो ।

महोत्सवमा मन्त्री महासेठसँगै छिमेकी जिल्लाका संघ र प्रदेश सांसदहरु र स्थानीय तहका प्रमुख, उपप्रमुख लगायतको उपस्थिति थियो । 

बर्दियाका मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि ठाकुरद्वाराको ऐतिहासिक ठाकुरद्वारा मन्दिर परिसरमा बर्दिया माघी तथा पर्यटन महोत्सव २०७५ आयोजना गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष शंकर थारुले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: फागुन २८, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया