टेलिफोनका ग्राहक ४ करोड ११ हजार, प्राधिकरणलाई नै थाहा छैन सक्रिय प्रयोगकर्ताकाे संख्या

 माघ २, २०७५ बुधबार १८:१६:११ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - टेलिफोन प्रयोगकर्ताको संख्या ४ करोड नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याँकअनुसार ६ वटा दुरसञ्चार सेवा प्रदायक कम्पनीका ग्राहकको संख्या ४ करोड नाघेको छ । सन् २०१८ को अक्टोबरसम्म टेलिफोन ग्राहकको संख्या ४ करोड ११ हजार ६ सय २ पुगेको छ । 

प्राधिकरणको तथ्याँक अनुसार सबैभन्दा धेरै नेपाल टेलिकमका ग्राहक छन् । टेलिकमका ल्याण्डलाइन, सीडीएमए  र मोवाइल प्रयोगकर्ता गरेर ग्राहक २ करोड ८ लाख ९५ हजार १ सय ७ पुगेको छ । 

प्रतिकात्मक तस्बिर

यस्तै दोस्रोमा एनसेल रहेको छ । एनसेलका ग्राहक १ करोड ६३ लाख ५४ हजार  ६ रहेका छन् । एनसेलको ल्याण्डलाइन सुविधा नभएकाले यी ग्राहक जिएसएम प्रिपेड प्रयोगकर्ता मात्रै हुन । 

यस्तै बन्द भैसकेको युटिएलका ग्राहकको संख्या ५ लाख २६ हजार ८ सय रहेको छ । यस्तै नेपाल स्याटालाइट टेलिकमका ग्राहक ३ लाख २८ हजार ५ सय छन् । स्मार्ट टेलिकमका ग्राहक भने १९ लाख ५ हजार रहेको छ । 

नेपालको जनसंख्यासँग तुलना गर्दा कूल जनसंख्या भन्दा ३६ प्रतिशत धेरै टेलिफोनको वितरण भएको तथ्याँकले देखाउँछ । 

 सक्रिय प्रयोगकर्ता कतिजना छन् भन्ने थाहा छैन

केन्द्रीय तथ्याँक विभागका अनुसार अहिले नेपालको जनसंख्या २ करोड ९४ लाख ४० हजार ९ सय ७ रहेको छ । तर दुरसञ्चार प्राधिकरणको तथ्याँक अनुसार ४ करोड ११ हजार ६ सय टेलिफोनका प्रयोगकर्ता पुगेका छन् । 

दुरसञ्चारप्रदायक कम्पनीहरुका ग्राहकको तथ्याँक हेर्दा कूल जनसंख्या भन्दा पनि धेरै सिमकार्ड र फिक्स लाइन वितरण भएको छ ।

 तर सक्रिया प्रयोगकर्ता कति छन् भन्ने जानकारी चाहिँ प्राधिकरणसँग छैन । एउटै व्यक्तिले ८-१० वटासम्म सिमकार्ड लैजाने र एक भन्दा धेरै कम्पनीको सिमकार्ड खरिद गरेकाले कुल जनसंख्या भन्दा प्रयोगकर्ताको संख्या धेरै देखिएको प्राधिकरणले जनाएको छ ।

प्रतिकात्मक तस्बिर

‘दुरसञ्चार सेवा प्रदायकहरुले कति सिम बाँडे या कति ल्याण्डलाइन वितरण गरेका छन् भन्ने आधारमा हामीले तथ्याँक निकाल्ने हो, हाम्रो तथ्याँकमा ४ करोड ११ लाख ग्राहक रहेको देखिन्छ’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भन्नुभयो, ‘ग्राहकको संख्या ४ करोड नाघे पनि ठ्याक्कै कतिजना सक्रिया प्रयोगकर्ता छन् र कतिजनासम्म टेलिफोन सेवा पुगेको छैन भन्ने चाहिँ अध्ययनकै विषय छ ।’

इन्टरनेट प्रयोगकर्ता १ करोड ६३ लाख

नेपाल दुरसञ्चार प्राधिकरणको एम आइ एस प्रतिवेदन अनुसार नेपालमा इन्टरनेटका ग्राहकको संख्या डेढ करोड नाघेको छ । सन् २०१८ को अक्टुवर महिनासम्म सबै प्रकारका इन्टरनेट ग्राहकको संख्या १ करोड ६३ लाख ५८ हजार ८ सय ९७ रहेको छ । 

प्रतिवेदन अनुसार एडीएसएलका ग्राहक लगायत तारसहितको फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या ३२ लाख ८० हजार रहेको छ । यस्तै वायरलेस फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ता ३ लाख ६९ हजार छन् ।

प्रतिकात्मक तस्बिर

यस्तै मोवाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड २७ लाख ८ हजार रहेको छ । यसमध्ये ६३ लाख ४२ हजार रहेको छ । एनसेलको नेटवर्कमार्फत इन्टरनेट चलाउने प्रयोगकर्ताको संख्या भने ६२ लाख ५६ हजार रहेको छ । 

यस्तै इन्टरनेट सेवा प्रदायकहरु वल्र्डलिंक, भायनेट, सुविसु लगायत कम्पनीका ग्राहक २५ लाख ४४ हजार रहेका छन् ।
 

अन्तिम अपडेट: चैत ९, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया