कुखुरा व्यवसायले देउसरीको परिवारमा ल्यायाे खुशी

 माघ ३, २०७५ बिहिबार १४:५२:४१ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको केआईसिंह गाउँपालिका वडा नं-६, भिताडी सलेनामा समता महिला समूहकी सदस्य देउसरी विकले ब्रोइलर कुखुरा व्यवसाय सुरु गर्नुभयो । 

१४ वर्षकै उमेरमा कामको खोजीमा भारत गएका उहाँका श्रीमानले पैसा कमाउन नसकेपछि घरमै बोलाएर दुवैको सहमतिमा समूहबाट एकलाख रुपैयाँ ऋण लिएर कुखुरा व्यवसाय सञ्चालनमा लागेपछि श्रीमान श्रीमती अहिले खुसी भएका छन् । 

अहिले उहाँको घर परिवारमा कुखुरा व्यवसायले खुशियाली थपेको छ । आफनै लगानीमा कुखुराको खोर निर्माण गरेका विक दम्पतीले पहिलो पटक ३०० कुखुराका चल्लाहरुबाट व्यवसाय सुरु गरेका हुन् । 

केआईसिंह गाउँपालिकाको भूमिराजमाण्डौमा मासुको खपत बढ्दै गएको र चल्ला ल्याएकोे ४५ दिनभित्रै कुखुरा फष्टाउने गरेको देउसरीले बताउनु भयो । उहाँले भन्नु भयाे, ‘राम्रोसँग कुखुराको स्याहार गरेमा एक पटकमा ३० देखि ४० हजार रुपैयाँसम्मको आम्दानी हुने गरेको छ, घरैमा मेहनत गरे पैसा कमाउन भारत जानु नपर्ने रहेछ ।’

विगतमा श्रीमान कामका लागि भारत गएका र कमाएको पैसाजति जाँडरक्सीमा सक्ने, घर आँउदा रित्तै आउने र आफूलाई छोराछोरी लालनपालन गर्न पनि सारै समस्या हुने गरेको दुखेसो सम्झिँदै देउसरी भन्नुहुन्छ,‘पहिला श्रीमान भारतमा, पैसा नपठाउने, सधँै अर्काको कम गरेर खानुपर्ने अवस्था थियो ।’

उहाँको परिवारमा श्रीमान कर्ण विक, सासू, २ छोरा, १ बुहारी, १ नातिनी गरी ७ जना सदस्य रहेका छन् । बिगतमा ७ जनाको परिवार देउसरीले एक्लै पाल्दै आउनु भएको थियो । 

युवाअवस्थादेखि नै आधा जिन्दगी भारतमै बिताएका देउसरीका श्रीमान् अहिले श्रीमतीको प्रयासमा आम्दानी र पैसा कमाउन पाउँदा खुशी भएको बताउनु हुन्छ । 
‘मैले लामो समयसम्म इन्डियामा काम गरेँ तर घरमा कुनै सहयोग पु¥याउन सकिनँ,’ उहाँले भन्नुभयो ‘श्रीमतीको आँटमा कुखुरा व्यवसाय सुरु गर्‍याैँ, अहिले परिवारमा खुशी छाएको छ ।’ 

देउसरीका श्रीमान मात्रै होइन, भिताडी गाउँका अधिकांश दलित घरधुरीका पुरुषहरु कामका लागि भारत जाने गर्दछन् भने महिलाहरुले मेलापातको काम र घरधन्दा चलाउने  गर्दछन् ।

श्रीमानले भारतबाट पठाएको रकमले नपुग्ने भएपछि उक्त गाउँका दलितहरु अर्काको काम गरी घर खर्च चलाउने गर्दछन् । परम्परागत पेशा लोप हँुदै गएपछि उहाँहरुलाई घर चलाउन निकै समस्या हुन थाल्यो । त्यसपछि पुरुषहरु कामका लागि भारत जान थालेको अर्का स्थानीय कुलबहादुर कामीले बताउनु भयो । 
उहाँले भन्नुभयाे,‘पुख्र्याैली पेसा लोप हुन थाल्यो, गाउँमा रोजगारी मिल्दैन अनि पैसा कमाउन भारत पस्नै पर्‍यो ।’ 

एक्शन एड नेपालको सहयोगमा सञ्चालन भैरहेको स्थानीय अधिकार कार्यक्रम तथा महिला नेटवर्क परियोजना अन्तरगत गठित समता महिला समूहलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो । 

सहयोगपछि त्यस गाउँका दलित परिवारलाई अहिले निकै राहत पुगेको समविकास केन्द्र (ईडीसी) डोटीका अध्यक्ष महेश टेलरले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई घरधन्दा चलाउनै समस्या थियो, संस्थाले आर्थिक सहयोग गरेपछि उनीहरुको जीवनस्तर माथि उठ्न थालेको छ ।’

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया