चितवन निकुञ्जमा जोखिम बढ्दै

 माघ ६, २०७५ आइतबार १०:२३:६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – विश्व सम्पदा सूचीमा रहेको नेपालकै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्जमा जोखिम बढ्दै गएको छ । एकसिंगे गैंडा र पाटेबाघ संरक्षणमा ख्याती कमाएको चितवन निकुञ्ज कंक्रिटको जंगल बन्ने खतरा बढ्दै गएपछि संरक्षणकर्मी चिन्तित भएका छन् । सन् १९७३ मा स्थापना भएको यो निकुञ्जलाई सन् १९८४ मा विश्व सम्पदा सूचीमा राखिएको थियो । 

वन्यजन्तु संरक्षण र वन वन्यजन्तुका विषयमा चासो राख्ने विश्वभरका पर्यटकका लागि यो निकुञ्ज आकर्षण बन्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्ज नेपालको लोकप्रिय पर्यटन स्थल पनि हो । ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातीका चराचुरूङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणीहरू र एक सयभन्दा बढी जातका माछाहरू पाइन्छन् ।

जैविक विविधता र प्रजाति संरक्षणमा उत्कृष्ट मानिंदै आएको निकुञ्जमा पछिल्लो समयमा विविध कारणले जोखिम बढ्दै गएको छ । 

जमिन अतिक्रमण

चितवन राष्ट्रिय निकुञ्जको भूभाग अतिक्रमण गरी दुई हजार तीन सय ५० भन्दा बढी घर बनेका छन् । नवलपरासी, मकवानपुर, चितवन र पर्सा जिल्लामा फैलिएको निकुञ्जको एक हजार २ सय ८ हेक्टर जमिन अतिक्रमण भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले बताउनुभयो ।

चितवनमा कुसुमेखोला, प्याउली, कान्छीबगाई लगायतका १२ ठाउँमा गरी निकुञ्जको ८ सय १२ हेक्टर जमिनमा  ९ सय २० घर  बनेका छन् । नवलपरासीमा त्रिवेणीको गजेन्द्रमोक्षधाम लगायतका पाँच ठाउँमा तीन सय ३५ हेक्टर क्षेत्रफल अतिक्रमण गरी ९ सय १० घर बनेको निकुञ्जले जनाएको छ ।  निकुञ्जकै मकवानपुरको  सुनाचुरी, तमासपुर लगायतका क्षेत्रमा ६० हेक्टर जमिन पाँच सय घर बनेका छन् । निकुञ्जको सबैभन्दा बढी भूभाग नवलपरासीको त्रिवेणीमा पर्ने गजेन्द्र वेक्षधाममा अतिक्रमण भएको छ । त्यहाँ १५ बिगाह जमिन अतिक्रमणमा परेको निकुञ्जले जनाएको छ ।

भौतिक संरचना निर्माण 

एकसिंगे गैंडा र पाटेबाघ संरक्षणमा ख्याती कमाएको चितवन निकुञ्ज खतरामा पर्ने गरी भौतिक संरचना निर्माण हुने क्रम बढेको छ । जंगलका बीचबीचमा सडक, बाटा र खोलामा पक्की पुल बनाइन थालेका कारण वन्यजन्तुमा असर पर्दै गएको छ । 

निकुञ्जभित्र ठूला सडक, रेलमार्ग, पुललगायत भौतिक संरचनाले वन्यजन्तुको बासस्थान, आहार र समग्र जैविक–विविधतामा असर पार्न सक्ने भन्दै भन्दै युनेस्कोको मुख्यालयबाट उच्चस्तरीय टोलीले अध्ययन समेत गरिसकेको थियो । पछिल्लो समय युनेस्कोले तत्काल संवेदनशील हुन आग्रह समेत गरेको छ । 
संरक्षणको क्षेत्रमा विश्वमै  नमूना मानिएको चितवन राष्ट्रिय निकुञ्जभित्र बनेका भौतिक संरचनाले नेपालको पर्यटनसँगै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंडा र पाटेबाघको अस्तित्वलाई प्रत्यक्ष खतरामा पार्ने संरक्षणकर्मी बताउँछन् ।

पानी प्रदुषण 

निकुञ्ज आसपासमा रहेका नदीमा पानी प्रदुषण भएका कारण पनि खतरा बढ्दै गएको छ । नदीमा प्रदुषण बढ्दा वन्यजन्तुमा प्रत्यक्ष असर पर्दै गएको प्रमुख संरक्षण अधिकृत ढकालले बताउनुभयो । नदी किनारमा बस्ती बस्नु, नदी आसपासमा ठूला उद्योग हुनु र शहरका बासिन्दाले समेत फोहोर फाल्ने गर्दा थप जोखिम बढेको उहाँले बताउनुभयो । 

खोला र नदीको पानी सफा हुँदा त्यो वरपर सवैको वातावरण राम्रो हुने, पानीका स्रोतहरु स्वच्छ हुने भएकाले यस विषयमा सबै पक्षको सचेतना आवश्यक रहेको उहाँले बताउनुभयो । फोहर र प्रदुषित पानी बग्ने खोला र नदी वरपर अन्य स्रोतको पानी पनि दुषित हुने भएकाले पानीमै रहने गोही झन जोखिममा पर्दै गएको छ । 

मानव – वन्यजन्तु द्वन्द्व

निकुञ्जका लागि अर्को जोखिम मानव र वन्यजन्तुबीचको द्वन्द्व पनि देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट हात्ती, गैँडा बाघ लगायतका वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्छन् । जङ्गलबाट निस्केर मानिसलाई आक्रमण गर्ने, पशु, अन्न बालीलाई क्षति गर्ने क्रम बढ्दो छ । 

यसले मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ । बासस्थान र चरण क्षेत्रमा भएको अतिक्रमण, आवतजावत गर्ने जैविका मार्गमा अवरोध, पानीको अभावजस्ता जस्ता कारणले वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्दै आएको प्रमुख संरक्षण अधिकृत ढकाल बताउनुहुन्छ । पछिल्लो समय गैडासँग भन्दा पनि हात्तीसँग मानिसको द्वन्द्व बढ्दै गएको उहाँले बताउनुभयो । 

मिचाहा प्रजातिका झार

चितवन राष्ट्रिय निकुञ्ज र बिभिन्न सामुदायिक वनहरूमा मिचाहा प्रजातिका झार भित्रिएको दुई दशक भैसकेको छ ।  तर, यसलाई मास्न खास काम भएको छैन । दक्षिण अमेरिकाबाट भारत हुँदै नेपाल छिरेको भनिने यो झार राष्ट्रिय निकुञ्जका सबै क्षेत्र र सामुदायिक वनहरूमा पनि छपक्कै छ । 

निकुञ्ज क्षेत्रमा गैंडाको १५ प्रतिशत बासस्थान मिचाहा प्रजातिका झारले सखाप बनाएको छ । जसका कारण वन्यजन्तुको बासस्थान र आहारामा समेत प्रभाव परेको छ । 

अव्यवस्थित पर्यटन 

निकुञ्ज अवलोकन गर्न आउने पर्यटकहरुलाई पर्यापर्यटन मैत्री बनाउन नसक्दा अर्को समस्या देखिएको छ । निकुञ्जभित्रै जीप सफारी, हात्ती सफारीको चाप बढेदै जानुले पनि जोखिम बढ्दै गएको छ ।

पर्यटकले प्रयोग गर्ने प्लाष्टिक जथाभावी फाल्ने र अन्य फोहोरको समेत उचित व्यवस्थापन हुन नसकेका कारण थप समस्या देखिएको छ । निकुञ्जमा प्लाष्टिक निषेधको कार्यक्रम सुरु भए पनि अन्य फोहोरको व्यवस्थापन प्रभावकारी रुपमा गर्न नसक्दा समस्या देखिएको छ । 

 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया