कालंगा गाड जलविद्युत आयोजनाको काम स्थानीयकाे विराेधका कारण बन्द

 माघ ६, २०७५ आइतबार १४:३७:३५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – निजी क्षेत्रको लगानीमा निर्माणाधीन सुदूरपश्चिम प्रदेशको बझाङको बुंगल नगरपालिकाको कालंगा गाड जलविद्युत आयोजनाको काम अनिश्चित कालका लागि बन्द भएको छ ।

बुंगल नगरपालिका वडा नम्बर–२ गिरौका स्थानीय बासिन्दाहरुले जलविद्युत आयोजनाको काममा अवरोध गरेपछि कालंगा गाड जलविद्युत आयोजनाको काम रोकिएको हो । 

जलविद्युत आयोजनाको टनेल निर्माणका क्रममा गाउँका सबै खानेपानीका मुहानहरु र सिँचाई गर्ने मुहानहरु सुकेपछि यहाँका स्थानीय बासिन्दाहरुले जलविद्युत आयोजनाको काममा अवरोध गरेकोे  स्थानीय बासिन्दा हिक्मत धामीले बताउनुभयो । 

गाउँमा रहेका खानेपानीका मुहानहरु र पानीका कुवा सुक्नुका साथै खेतीयोग्य जमिनमा लाग्ने पानीका सबै मुहानहरु सुकेपछि आफूहरुले खानेपानीको र सिँचाई कुलोको व्यवस्था गरिदिनुपर्ने मागसहित आन्दोलन गर्नुपरेको धामीले बताउनुभयो ।

झण्डै ६० परिवारको खेतीयोग्य जमिनमा सिँचाई गर्ने पानीको मुहान नै सुकेपछि हाल ती जमिन बाँझै रहेको धामीले बताउनु भयो । 

आयोजनाले सिँचाई र खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीयलाई पूर्वशर्तअनुसार शेयर सुविधा दिनुपर्ने, वातावरणीय प्रदूषण कम गर्ने उपाय अवलम्बन गनुपर्ने, प्रभावित जग्गा धनीलाई मागअनुसार मुआब्जा दिनु पर्ने लगायतका विभिन्न माग राख्दै आफूहरुले आन्दोलन गर्दै आएको संयोजक धामीले बताउनु भयो । 

आयोजनाका सञ्चालक खगेश्वर बोहराले भने प्रभावित जग्गा धनीलाई सरकारी मूल्य अनुसार मात्र मुआब्जा दिने अधिकार आफूहरुलाई भएको बताउनुभएको । 

मन्त्रीपरिषद्बाट निर्णय गराएर मात्रै मुआब्जा व्यवस्था गर्न सकिने उहाँको भनाइ छ  । सिँचाईँ, खानेपानी र शेयर दिने कुरामा आफूहरु सकारात्मक रहेको उहाँले बताउनु भयो  । 

खानेपानीको व्यवस्था एक वर्ष अघि नै ७० लाख खर्च गरेर ७ किमि टाढा बाट खानेपानीको ब्यावस्था गरिसकेको र सिँचाईको पनि व्यवस्था गर्ने कुरामा आफूहरु तयार रहेको कालंगा हाइड्रो प्रालिका संस्थापक विरेन्द्र मल्लले बताउनु भयो । 

यहाँका स्थानीयहरुले एक रोपनी जग्गाको १५ लाख बराबरको माग गरेका कारण समस्या भएको उहाँको भनाइ छ ।  स्थानीयहरुले अनेक बहाना बनाएर काममा अवरोध गर्दै आएका उहाँको दावी छ ।’ 

हाल आयोजनाको झण्डै ४५ प्रतिशत काम सकिएको सञ्चालक खगेश्वर बोहरा बताउनुभयो । कालंगा हाइड्रोपावरमा माछापुच्छ्रे बैंक, एनएमबी विकास बैंक, सिभिल बैंक र व्यक्तिगत गरी एक हजार तीन सय करोड रुपैयाँ लगानी रहेको छ । काम पूरा भएपछि यहाँबाट उत्पादित बिजुली दार्चुलाको चमेलिया विद्युत प्रसारण लाइनमा जोडिने छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया